घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर पर्वत पौडेललाई सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदालिँदै अख्तियारको टोलीले समातेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकालबाट खटिएको टोलीले इन्जिनियर पौडेललाई घुससहित पक्राउ गरेको आयोगले जानकारी दिएको छ ।
उनले होटल व्यवसाय गर्दै आएका नारायण प्रसाद भट्टराईमार्फत घुसरकम लिन लगाएको अवस्थामा भट्टराई र पौडेल दुवैलाई नियन्त्रणमा लिइएको हो ।
अख्तियारका अनुसार पौडेल बेलकोटगढी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर हुन् ।
खानेपानी आयोजनाको अन्तिम बजेट निकाशा गरिदिएवापत र निर्माण सम्पन्न गरेको घरको निर्माण इजाजतपत्र दिएवापत घुस मागेको अख्तियारले जनाएको छ । उनीविरुद्ध बुधबार नै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
लोकान्तर संवाददाता