टिपर र कार ठोक्किँदा दुईको मृत्यु, मोटरसाइकल दुर्घटनामा पनि एकको मृत्यु

सन्दर्भ तस्बिर

लुम्बिनी प्रदेशमा बिहीबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्दियाको मधुवन नगरपालिका–४ मा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार आज एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गुलरिया नगरपालिका–४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी १८ वर्षीय निधी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।


Advertisement

दुर्घटनामा गुलरिया–४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीय कृतिका सुनार तथा कञ्चनपुरकी २५ वर्षीया कमला सुनार गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–१ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement

कार्कीको क्रिमसन अस्पताल मणिग्राममा आज मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदह–१० चरङ्गे चोकमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  दाङबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३ – ०३– ००१ ख ००५९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्