
हेटौंडा–नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलवार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
मंगलवार राति १०ः३० बजेको समयमा सडकमै रोकिराखेको ना८ख ५३३७ नम्बर ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०–३०–१ प ५१३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक हुन् ।
मंगलवार राति नै मकवानपुरको भीमफेदीमा टिपर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका–१५ का २३ वर्षीय मिलन मोक्तान, भीमफेदी गाउँपालिका–५ का २१ वर्षीय रमेश भोलन र सोही ठाउँ बस्ने २३ वर्षीय अनुभव मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते तीनै जना मजदुर हुन् ।
मंगलवार राति भीमफेदी गाउँपलिका–६ स्थित रिद्धिसिद्धिको खानीबाट चुनढुङ्गा लोड गरी हेटौंडातर्फ आउँदै गरेको बा३ख ६९२७ नम्बरको टिप्पर सडकबाट करीब ३० मिटर तल खसेर दुर्घटना हुँदा उनीहरू घाइते भएको प्रवक्ता रानाले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा परी घाइते भएकामध्ये हेटौंडाका मोक्तान गम्भीर घाइते भएका छन् । उनीहरू सबै जनाको भीमफेदी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर प्रहरीले दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार टुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला बस्ने ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी रहेका छन् ।
घाइते हुनेमा बैतडी पाटन नगरपालिका बस्ने २७ वर्षीय योगेश कठायत तथा परशुराम नगरपालिका आलीताल बस्ने ३० वर्षीय डम्मर साउँद छन् । घाइतेलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
गैरीटाँडबाट विनायकतर्फ गरिरहेको से१क ७५४ नम्बरको टिप्पर मंगलवार राति दुर्घटनामा परेको हो । टिप्पर सडकबाट कम्तीमा पनि ५०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।