२६ जेठ २०८३, मंगलबार

लेवान्डोस्की उत्कृष्ट खेलाडी

पुस ४, २०७७
लेवान्डोस्की उत्कृष्ट खेलाडी

बायर्न म्युनिकका फरवार्ड रोबर्ट लेवान्डोस्की बिहीबार फिफाको उत्कृष्ट पुरुष खेलाडी २०२० घोषित भएका छन् । यसको होडमा उनले गत वर्षका विजेता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई उछिनेका हुन् । बायर्नका लागि उनले जर्मन लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेका थिए । यी तीनै प्रतियोगितामा उनी सर्वाधिक गोलकर्ता पनि रहे ।

पोल्यान्डका कप्तान लेवान्डोस्कीले यो अवार्ड जितेको पहिलोपल्ट हो । आफ्नो सफलतामा खुसी उनले भनेका छन्, ‘म निकै खुसी र गर्व महसुस गरिरहेको छु । मेसी र रोनाल्डोलाई उछिनेर वर्षको उत्कृष्ट खेलाडी हुनुको खास अर्थ छ । यो दिन मेरा लागि विशेष रहनेछ ।’

लेवान्डोस्कीले ५२ भोटिङ मत पाउँदा रोनाल्डो र मेसीले ३५ अंक पाएका थिए । गत अक्टोबरमा उनी २०१९–२० को यूईएफए प्लेयर अफ द इयर भएका थिए ।
जतिबेला सन् २०२० को बालोन डे’अर अवार्ड रद्द गरियो, त्यतिबेला लेवान्डोस्कीले आफ्नो निराशा लुकाउन सकेका थिएनन् । यो अवार्डको आयोजना गरिएको भए, उनी नै विजेताका लागि निर्विवाद विकल्प हुन्थे । सन् २०१९/२०२०

को सुरुआतदेखि लेवान्डोस्कीले लय समात्न सुरु गरेका थिए । यसक्रममा क्लबका लागि ६४ खेलमा ७३ गोल गरे ।

यो युरोपका प्रमुख पाँच लिगका कोही पनि खेलाडीको भन्दा २२ गोल बढी हो । उनलाई सफलताको शिखरसम्म पुर्‍याउनमा बायर्नको पनि उत्तिकै योगदान रह्यो ।

त्यसैले लेवान्डोस्कीले भने, ‘यो अवार्डको श्रेय खासमा मेरा साथीहरू र प्रशिक्षकलाई जान्छ, अझभन्दा समग्रमा बायर्न म्युनिकलाई जान्छ । अवार्ड पाएपछि मैले कस्तो अनुभव गरें, त्यसको शब्दमा बयान गर्न सक्दिनँ, म निकै भावनात्मक भएको छु ।’

विश्व फुटबलका सबैभन्दा ठूला स्टार मेसी र रोनाल्डोले जस्तै चुनौती पेस गरे पनि वर्षको उत्कृष्ट खेलाडीका लागि लेवान्डोस्की नै प्रमुख रोजाइ हुने निश्चित थियो । उनी राम्रा अब्बल दर्जाका खेलाडी हुन्, यसमा कसैले कहिले पनि शंका गरेनन् । तर यी ३२ वर्षीय पोलिस खेलाडीले सफलताको शिखरसम्म पुग्न भने धेरै समय कुर्नुपर्‍यो । त्यसैले अहिलेको अवार्ड उनका लागि मीठो साबित भएको छ । 

महिलातर्फ म्यानचेस्टर सिटीका फुलब्याक लुसी ब्रोन्ज उत्कृष्ट खेलाडी बनिन् । पहिलो पटक महिला इंग्लिस खेलाडीले यो अवार्ड जितेको हो ।

यस्तै लिभरपुलका योर्गन क्लोप वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । उनले लगातार दोस्रो वर्ष यो अवार्ड जितेका हुन् । उनको नेतृत्वमा लिभरपुलले ३० वर्षयता पहिलोपल्ट प्रिमियर लिग उपाधि जितेको थियो । क्लोपले यो होडमा बायर्नमा प्रशिक्षक हान्सी फ्लिकलाई उछिने । तर बायर्नमा लेवान्डोस्कीका साथी म्यानुयल नोया भने वर्षका उत्कृष्ट गोलरक्षक भएका छन् । 

क्लोपले उत्कृष्ट प्रशिक्षक चुनिएपछि आफू स्तब्ध रहेको बताए । उनले भने, ‘मलाई यो उपाधिका लागि धेरैलाई धन्यवाद दिनुपर्छ, यसमा सबैभन्दा अगाडि त मेरो सबै समकक्षी प्रशिक्षक नै पर्छन् । गत वर्ष हामी सबैका लागि उत्कृष्ट रह्यो ।’

नोयाले उत्कृष्ट गोलरक्षकको होडमा एट्लेटिको म्याड्रिडका जान ओब्लक र लिभरपुलका एलिसनलाई पछाडि छाडेका थिए । बुन्डेसलिगामा उनले बायर्नका लागि ३३ खेल खेलेकामा त्यसमा ३१ गोलमात्र खाए । यस्तै बार्यनले तय गरेको च्याम्पियन्स लिग फाइनलका क्रममा नोयाले नकआउट चरणमा केही निर्णायक साबित उत्कृष्ट बचाउ पनि गरेका थिए ।

टोटेनहमका दक्षिण कोरियाली खेलाडी सन ह्युङ–मिनले इंग्लिस प्रिमियर लिगमा बर्नलीविरुद्ध गरेको व्यक्तिगत गोल उत्कृष्ट रह्यो । यस गोलका लागि उनले पुस्कास अवार्ड पाए । ह्युङ–मिनले आफ्नो ‘बक्स’ बाट एक्लै अगाडि बढाएको बल विपक्षी टिमको बक्ससम्म पुर्‍याएर आकर्षक गोल गरेका थिए । यसक्रममा उनले बर्नलीको रक्षापंक्तिलाई एकपछि अर्को गरेर तोडेका थिए । अवार्ड जितेपछि उनले भने, ‘यो अवार्ड विशेष रहेनछ । त्यस गोलअगाडि मैले पास दिन खोजेको थिएँ, तर कुनै विकल्प देखिनँ । त्यसैले एक्लै बल अगाडि बढाएँ ।’कान्तिपुर दैनिकमा जुरिचले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्