
अभिनेत्री वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको कार्यकारी निर्देशक नियुक्त भएकी छिन् ।
छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीमा आबद्ध भएसँगै वर्षाले सम्पूर्ण शुभेच्छुककाे साथ, सहयोग र सुझावको अपेक्षा गरेको बताइन् ।
स्किन सिटीलाई नयाँ उचाइमा लैजाने मेरो पहिलो प्रतिबद्धता हुनेछ, उनले भनिन्, ‘मैले पाएको यो जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्नेछु ।’
खबरअनुसार वर्षाले स्किन सिटीमा केही शेयरसमेत राखेकी छिन् । उनले चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि आफु अघि बढेको बताइन् ।
‘लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनुभएको छ,’ वर्षाले भनिन्, ‘अब व्यापारिक रुपमा पनि आफूलाई आबद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुनेछु ।’
हाल भैंसेपाटीमा मात्रै रहेको स्किन सिटी विस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने अभिनेत्री तथा सिइओ सिवाकोटीको भनाई छ ।
‘हरेक मानिसको सौन्दर्यले मात्रै उनीहरुको आत्मविश्वास बढ्छ,’ उनी थप्छिन्, ‘अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङसँग सम्वन्धित कुनै पनि समस्याको खोज, समाधान र उपचारमा हामीले अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्नेछौं ।’