
कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ ।
गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी (लकडाउन)को अवधिमा समेत निगमले नाफा आर्जन गरेको छ ।
निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले १ वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो ।
प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।
ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार समग्रमा निगमले ५ प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ ।
लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो । निगमले गत आव २०७२/७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ, आव २०७३/७४ मा ९ अर्ब ४५ करोड रुपैयाँ, २०७४/७५ मा ३ अर्ब ५८ करोड, २०७५/७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ ।
निगमले आव २०७५/७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई १० अर्ब पूँजी वृद्धि गरेर ११ अर्ब पुर्याएको थियो । आव ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।
१० महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा १ अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैक ब्याजबाट मात्र १ अर्ब ७७ करोड आम्दानी भएको निगमको जनाएको छ । आव २०७०/७१ मा प्रतिलिटर १३४ रहेको पेट्रोलको मूल्य आव ०७६/७७ को असार मासान्तसम्म घटेर १०२ मा झरेको थियो । सोही अवधिमा १०५ रहेको डिजेलको मूल्य घटेर ८८ रुपैयाँमा झरेको थियो ।
निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ । निगमले इण्डियन आयल कर्पाेरेसन (आइओसी)ले पठाएको मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।