२६ जेठ २०८३, मंगलबार

फुटिसकेको नेकपा जुटाउन चिनियाँ टोलीको दौडधूप

पुस १४, २०७७
फुटिसकेको नेकपा जुटाउन चिनियाँ टोलीको दौडधूप

नेपालमा प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटेका बेला चीनले पहिलो पटक नेपालको राजनीतिक मामिलाको विषयमा बोलेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक टोलीले काठमाडौंमा राजनीतिक भेटघाट गरिरहेको बेला बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपाल भ्रमण राजनीतिक स्थिरता र विश्वासको वातावरण बनाउन भएको प्रस्ट पारेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको भ्रमण रणनीतिक सहकार्य र साझेदारीमा केन्द्रित रहेको प्रवक्ता च्येनलको भनाइ छ । कुनै पनि मुलुकको आन्तरिक मामिलामा दक्खल गर्ने चीनको नीति नभए पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भने चीनको भ्रमण अस्वाभाविक मानिएको छ । नेपालमा संसद् विघटन र नेकपा विभाजनले ल्याउने अस्थिरताका कारण चीनले चिन्ता समेत व्यक्त गरेको छ ।

आइतवार चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका गुओ येझाउ नेतृत्वको ४ राजनीतिज्ञ र २ उच्चस्तरीय कर्मचारीसहित ६ सदस्यीय टोलीसँग राजदूत होउ यान्छी यतिखेर नेकपाका नेताहरूसँग भेटघाटमा व्यस्त छन् ।

चिनियाँ टोलीले यस पटकको भ्रमणमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै भेट्नुलाई पनि अर्थपूर्ण रूपमा लिइएको छ । सोमवार सो टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

चीनले आफ्नो सीमा सुरक्षाका लागि विशेष ध्यान दिँदै नेपालको भूमि उपयोग हुन नदिने नीतिका साथ नेपालको कम्युनिस्ट पार्टीलाई एकढिक्का राखेर आफ्नो रणनीतिक योजनामा हिँडाउन खोजेको देखिन्छ

नेकपाका अध्यक्ष प्रचण्डसँगको भेटमा चिनियाँ टोलीले नेकपा एकताको विषयमा छलफल गरेको बुझिएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्नसमेत सुझाव दिएको छ । संसद् विघटन फिर्ता लिएर भए पनि नेकपाको एकता कायम राख्न चिनियाँ राजनीतिक टोलीले सुझाव दिएको छ ।

संसद् विघटन फिर्ता भएमा नेकपा एकता कायम हुन सक्ने नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ टोलीलाई बताएको जनाइएको छ । यद्यपि भेटघाटमा भएको छलफलको विषय बाहिर नआए पनि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनलले नेपालमा राजनीतिक विश्वासको वातावरण बनाउन चीन तल्लीन रहेको संकेत गर्नुले पनि नेकपा एकतामा चीनले जोड दिइरहेको बुझिन्छ ।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता च्येनलले घुमाउरो हिसाबमा नेपाललाई लक्षित गर्दै भने, ‘आपसी राजनीतिक विश्वास बढाउन, सरकार सरकारबीचको मित्रतालाई गहन पार्न र सरकारहरूबीच व्यावहारिक सहयोग प्रवद्र्धन गर्न यस्ता भ्रमण हुने गर्छन् ।’ बेइजिङमा रहेका भारतीय पत्रकारले चिनियाँ मण्डलको नेपाल भ्रमणबारे राखेको जिज्ञासामा प्रवक्ता च्येनलले दुई देशबीचको परम्परागत मित्रता कायम राख्न नेपाल भ्रमण गरेको बताएका थिए ।

नेपाल एक असल छिमेकी मुलुक, सच्चा साथी र राम्रो साझेदार भएका कारण नेपालका राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले मजबुद सम्बन्ध राख्दै आएको पनि बताएको छ । चीनले मित्रता र सहकार्यका लागि राजनीतिक कार्यदल पठाएको बताएको छ ।

चीनले नेपालमा राजनीतिक अस्थिरता बढ्दा आफ्नो मुलुकमा त्यसले पार्ने प्रभावको मूल्यांकन गरेर नेकपा विभाजनलाई रोक्न आफ्नो राजनीतिक कार्यदल पठाएको हो । खासगरी भारत र अमेरिकाबीचको साझदारीपछि चीनले नेपालको आन्तरिक राजनीतिमा चासो देखाएको छ । सीमा विवादका कारण सम्बन्धमा चिसोपन आएको भारत र चीनले नेपालको भू–राजनीतिक अवस्थाबारे नजिकबाट नियालिरहेका छन् ।

चीनले आफ्नो सीमा सुरक्षाका लागि विशेष ध्यान दिँदै नेपालको भूमि उपयोग हुन नदिने नीतिका साथ नेपालको कम्युनिस्ट पार्टीलाई एक ढिक्का राखेर आफ्नो रणनीतिक योजनामा हिँडाउन खोजेको देखिन्छ । यता भारतले भने छिमेकी देश नेपालसँगको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई कायम राख्न पनि भरपुर प्रयास गरिरहेको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्