
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा मंगलवार बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न हिजो सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको महतले जानकारी दिए । ‘ठूलो आगोको ज्वालामा हेलिकोप्टरबाट झारेको पानी त पेट्रोल पो बन्दोरहेछ । आगो नियन्त्रण हुनुपर्नेमा झन् ठूलो फैलिँदोरहेछ,’ उनले भने । पाथीभरा मन्दिरको संरचनामा डढेलोले असर नगरेको महतले जानकारी दिए ।
सोमवार सिम्रिक एयरको हेलिकोप्टरमार्फत ५ पटक जोरपोखरीबाट पानी ल्यएर आगो नियन्त्रण प्रयास गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । मन्दिर परिसर क्षेत्रका संरचना बचाउन सफल भएको निर्देशक काफ्लेले बताए ।
मंगलवार बिहान कञ्चनजंघा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बिहानी उपभोत्ता समिति पदाधिकारी र संरक्षण वासिन्दा सोमवारदेखि नै संरक्षण क्षेत्रमा आगो प्रवेश गर्न नदिनका लागि लुकुम्पा सामुदायिक वनमा पुगेर बसेको कञ्चनजंघा संरक्षण क्षेत्र संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।
शनिवार साँझदेखि आगलागी आंशिक रूपमा नियन्त्रणमा आए पनि सोमवार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जंगलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।
बिहीवारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जंगल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौं गोठ समेत जोखिममा परेका छन् । जंगलमा अझै आगो सल्किरहेकाले सिरिजंघा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरू जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ ।
आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइप समेत जलेर नष्ट भएपछि त्यहाँका वासिन्दालाई समस्या भएको छ ।