
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले विघटित प्रतिनिधि सभाको बैठक सुचारू नहुँदासम्म आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।
मंगलवार काठमाडौंको भृकुटीमण्डपमा प्रचण्ड नेपाल समूहले आयोजना गरेको कार्यक्रमको अध्यक्षता गर्दै आन्दोलन मूल आयोजक समितिका संयोजक समेत रहेका श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम नसच्चिँदासम्म आन्दोलन जारी रहने बताएका हुन् ।
‘हाम्रो शान्तिपूर्ण र मर्यादित संघर्ष भाँड्न विभिन्न षड्यन्त्र हुनेछ, हाम्रो आन्दोलन तबसम्म जारी रहनेछ, जबसम्म प्रतिनिधि सभाको बैठक सुचारु हुने छैन,’ प्रवक्ता श्रेष्ठले भने ।
विरोध सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।