उर्जा जलस्रोत तथा सिंचाईं मन्त्रालयले लोडशेडिङ भन्ने विषय इतिहासमा अध्ययनको विषयमा रुपान्तरण भइसकेको दावी गरेको छ ।
विद्युत प्राधिकरणले पछिल्लो समय धेरै बत्ती काट्ने क्रम बढेसँगै उपभोक्ता लोडशेडिङ भएको हो कि भन्ने शंकामा रहँदै गर्दा मन्त्रालयले भने यस्तो दावी गरेको हो ।
मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सञ्चार माध्यमहरूबाट योजनाबद्ध रुपमा लोडशेडिङ, विद्युत प्रशारण लाइन तथा भूमिगत विद्युतीय वितरण प्रणाली जडानका सन्दर्भमा मन्त्री तथा मन्त्रालयको भावनाविपरित समाचार सम्पे्रषण गरेको आरोप समेत लगाएको छ ।
मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको पुष १७ गतेको विज्ञप्तिबाट नै अब लोडशेडिङ हुँदैन भन्ने स्पष्ट भएको बताउँदै अब निकटका भविष्यमा उत्पादित विद्युत वितरण, उपयोग र निर्यातको लागि प्रशारण लाइनको अपर्याप्तताका कारण उत्पादित उर्जा उपभोग नभई खेर जाने अवस्था हुन सक्ने जनाएको छ ।
मन्त्रालयले कुनै पनि समयमा लोडशेडिङ नहुने गरी आवश्यक व्यवस्थापन गर्न पनि निकायहरूलाई निर्देशन दिइसकेको जानकारी दिएको छ ।
लोकान्तर संवाददाता