भविष्य पुराणको नेपाली अनुवाद : सनातन संस्कृतिको ज्ञान प्रबर्द्धनले विश्व शान्तिमै योगदान

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

भविष्य पुराणको नेपाली अनुवाद हालै प्रकाशित भएको छ । जयतु संस्कृतमका अध्यक्ष डा. बद्री पोखरेलद्वारा अनुदित यो ग्रन्थ १८ पुराणको गणनाक्रममा नवौं स्थानमा पर्छ ।

पौराणिक ग्रन्थहरू अनुदित गरी क्रमशः प्रकाशित गराउँदै आएका पोखरेलजीको यो कति औं अनुदित कृति हो सोध्न बाँकी छ ।


Advertisement

एकाध अनुवाद सँगसँगैजसो प्रकाशित अवस्थामा रहेको अनुवादकबाट थाहा भएको छ । भविष्य पुराण सौर–सम्प्रदाय अन्तर्गत पर्ने सात्विक प्रकृतिको पुराण हो । यसमा खासगरी सूर्यको उत्पत्ति, शक्ति, विशेषता वर्णनमा बढी ध्यान दिइएको छ । 

पुराण पुरुषोत्तम भगवान् विष्णुको शरीर बिग्रहमा दाहिने घुँडा मानिएको यस पुराणलाई धर्म, संस्कृति, संस्कार, व्रत, पर्व, उपसना आदि वैदिक सनातन धर्मको उद्देश्य उद्घाटनका विशिष्टतम साधन मानिन्छ । 


Advertisement

पुराणकथा बाल्यकालदेखि नै सुनिँदै र पढिँदै आएका विषय हुन् । पिताजी गाउँघरमा पुराण भन्न जाँदा उहाँलाई भात पकाउनकै लागि पनि साथमा जानुपर्थ्यो । त्यसै मेसोमा आवश्यकता अनुसार गणेश, द्वारपाल आदि पदको टीका र दक्षिणा हात पार्ने अवसर पनि जुर्थ्यो यदकदा । 

सबैभन्दा बढी पुराणका रसिला कथाहरू सुन्ने अवसर जुरेको थियो भन्नुपर्छ । त्यतिबेला बाल मस्तिष्कमा परेको पौराणिक कथाको छाप हालसम्म पनि मेटिएको छैन । करीब १ दशकअघि पौराणिक पात्र र मिथकहरू प्रकाशित गराउँदा पुराण कथालाई जति नजिकबाट हेर्ने अवसर मिलेको थियो, केही वर्षअघिसम्म गोरखापत्रमा अध्यात्म दर्शन सम्बन्धी नियमित स्तम्भ लेखनको क्रममा थप केलाउने र मनन् गर्ने अवसर पाएको थिएँ ।

हाल डा. पोखरेलको प्रस्तुत नेपाली अनुवादको पाण्डुलिपि यात्रामा मिठासको छुट्टै रसानुभूति भइरहेको छ । 

पुराणहरूका प्रायः ५ विषय हुन्छन्, जसमा सर्ग (सृष्टि), प्रतिसर्ग (पुनःसृष्टि), मन्वन्तर (मनुहरूको नाम, काम र विशेषता वर्णन), वंश र वंशानुचरित (सूर्यवंशी र चन्द्रव्रशी राजाहरूको वंश र तिनका वंशका चरित्र विवेचन पर्छन् । 

यद्यपि भागवत र ब्रह्मवैवर्त पुराणमा व्यासजीले १० वटा विषय उल्लेख गरेका छन्, जसमा सर्ग, विसर्ग, स्थान, पोषण, ऊति, मन्वन्तर, ईशानुकथा, निरोध, मुक्ति र आश्रय रहेका छन् । तर भागवतकै द्वादशस्कन्धमा आएको प्रसङ्गमा भने केही शब्दान्तर देखिन्छ । 

यसैगरी ब्रह्मवैवर्त पुराणमा आएको प्रसङ्गमा पनि केही भिन्नता देखिन्छ तर जहाँ जे जस्तो उल्लेख भएका भए पनि ती सबै शाब्दिक भेद हुन्, तत्वतः पुराणका विषय ५ वटै हुन्छन् भन्ने विद्वान्हरूले निष्कर्ष निकालेका छन् । भविष्य पुराणमा पनि यिनै ५ विषय उल्लेख भएका छन् ।  

ब्राह्म, मध्यम, प्रतिसर्ग र उत्तर गरी ४ पर्व रहेका छन् भविष्य पुराणका । यीमध्ये मध्यमपर्वको प्रथम, द्वितीय, तृतीय गरी ३ भाग र प्रतिसर्ग पर्वको प्रथम, द्वितीय र तृतीय गरी ३ खण्ड छन् । ब्राह्म पर्वको २१५ अध्याय, मध्यम पर्वको ६२ अध्याय, प्रतिसर्ग पर्वको १०० अध्याय र उत्तर पर्वको २०८ अध्याय गरी कूल ५८५ अध्याय रहेको यस पुराणको श्लोक संख्यामा भने मतभेद देखिन्छ । 

कल्याण भविष्य पुराणाङ्कमा उल्लेख भए अनुसार यसको श्लोक संख्या ५० हजारको हाराहारीमा हुनुपर्ने देखिन्छ । तर विद्यमान भविष्य पुराणमा २८ हजार श्लोक रहेको बताइएको छ । भागवतमा व्यासजीले भने यसको श्लोक संख्या १४ हजार ५०० उल्लेख गरेका छन् । 

ब्राह्मपर्व अन्तर्गत व्रतोपवास, शान्तिक तथा पौष्टिक कार्य, देवी–देवताका आराधना, पूजा, उपासना, नित्यकर्म, वर्णाश्रमधर्म, संस्कार, सामुद्रिकशास्त्र, सृष्टि प्रक्रिया, नागवंश वर्णन र नागपूजा महत्त्व, सूर्यको परिवार र विशेषता विवेचन, साम्बचरित्र तथा देवालय, शिवालय निर्माण एवं तिनका प्राणप्रतिष्ठा आदि विषयवस्तुमाथि प्रकाश पारिएको छ । मध्यम पर्वमा वेद, वेदाङ्ग, इतिहास, पुराण, साहित्य, कला, सङ्गीत, ईष्टापूर्त कर्म, यज्ञ, अनुष्ठान, मण्डप निर्माण, गोत्रप्रवर, श्राद्ध तथा वृक्षारोपण र तिनका विशेषतालाई केलाउने प्रयास भएका छन् ।

प्रतिसर्ग पर्व अन्तर्गत काल विवेचन तथा युग निर्माण प्रक्रिया र तिनका इतिहास, ब्राह्मण, क्षत्री, वैश्य, शूद्र, दशनामी सन्यासी आदिका वंश तथा शाखा विस्तार, विभिन्न जातिको इतिहास, धर्म सम्प्रदायको विवेचन, विभिन्न युगपुरुष तथा आचार्यहरूको जीवनी आदि विषय समेटिएका छन् । उत्तर पर्वमा व्रत विधान, होली, दिपावली जस्ता सांस्कृतिक पर्वोत्सव, देवपूजा, विविध प्रकारको शान्तिविधि तथा दानधर्म आदि विषयवस्तुमाथि प्रकाश पार्ने काम भएका छन् । 

अनुवादक पोखरेलजी अवकाश प्राप्त एक उच्च सरकारी अधिकृत हुन् । उनले लामो समय सरकारी सेवामा रहेर जुन सेवागत भावना र ज्ञान हासिल गरेका थिए, त्यसलाई  हाल पौराणिक ग्रन्थहरू अनुवाद गरी प्रकाशनमा ल्याउने काममा लागेर थप सम्मान गरिरहेका छन् । उनको यो प्रयास अवकाश प्राप्त जीवन सदुपयोगको यात्रा मात्र होइन, समाज सेवाको विशिष्टतम नमूना पनि हो जस्तो लाग्छ । आज संसारमा जुन रूपमा शान्ति र सद्भावको अभाव देखापर्दैछ, त्यसले भविष्यमा कस्तो रूप लिने हो कल्पनासम्म पनि गर्न सकिन्न । 

समाजमा अशान्ति छ, अत्याचार छ, हत्या छ, हिंसा छ, भ्रष्टाचार छ, अशान्ति छ, द्वन्द्व छ, तानातान छ, मारामार छ, हानाहान छ । यस्तै–यस्तै गतिविधिका कारण प्रकृति रिसाएको छ, जसले गर्दा नानाभाँतीका रोग, भोक, शोकजन्य समस्या निम्तिँदै गएको मात्र छैन, कतिको उपचार छैन । कतिको उपचार फेला पर्ने नै कहिले हो भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा हामीले नचाहेर पनि अतीतको रत्नगर्भमा पुनर्भ्रमण गर्र्नैैपर्ने भएको छ, जहाँ यस्ता पौराणिक ग्रन्थहरूका अनुवाद राम्रै छहारी बन्न सक्छ ।

पुराणहरू प्रायः संस्कृत भाषामा लेखिएका कारण संस्कृतेतर जनसमुदायमा चाहेर पनि सुगम बन्न सकिरहेका छैनन् । संस्कृत भाषामा पहुँच नभएकाहरूका लागि कि पुराण वर्णित अनमोल ज्ञानबाट वञ्चित हुनुपर्ने अवस्था छ कि पण्डितबाहरूले कनिकुथि भट्याउने गर्नुभएको अर्धज्ञानको भरमा चित्त बुझाउनुपर्ने अवस्था छ । पछिल्लो अवस्थामा आएर त त्यो पनि हराइसकेको छ । 

कथा ज्ञानको स्थान गीत, संगीत र टुक्का भट्याइले लिन थालेको छ । यस्तो अवस्थामा यस्ता अनुवादको भूमिका कति बढी होला स्वतः अनुमान लगाउन सकिन्छ । यस अर्थमा अनुवादक थप बधाई तथा धन्यवादका पात्र हुन पुगेका देखिन्छन्, जुन काममा उनी स्वतस्फूर्त लाग्दै आएका छन् । जबकी यसका लागि राज्य सत्ताले नै ध्यान दिनुपर्ने थियो । 

पौराणिक ग्रन्थहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरी प्रचारप्रसारमा ध्यान दिने हो भने सनातन संस्कृतिको ज्ञान प्रबद्र्धन मात्र हुँदैन, विश्व शान्तिमै योगदान पुग्न सक्ने देखिन्छ । 

अन्त्यमा यति भनौं अनुवाद पुराणको अर्थ बोध गराउन सक्षम छ । शब्दानुवाद, छायाँनुवाद, भावानुवाद आदि धेरै किसिमका अनुवाद हुन्छन् । यिनमा यो अनुवाद शब्दानुवाद हो भन्ने मेरो ठम्याइ छ । यति बढी श्रम गरिसकेपछि भावानुवादतर्फ ध्यान दिन सकिएको भए सुनमा सुगन्ध हुन्थ्यो लाग्छ ।

यसबाहेक अरु जे भएका छन्, धेरै भएका छन् । यसका लागि अनुवादकलाई साधुवाद दिँदै माता सरस्वतीले अन्य पुराण अनुवादको शक्ति प्रदान गरून् भन्ने कामनाका साथ कलमलाई यतै विराम दिन चाहन्छु ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्