बेलायतमा मुसलमान परिवारकी एक बालिकालाई लामो स्कर्ट लगाएर आएको भन्दै विद्यालय प्रशासनले कानूनी कारवाहीको धम्की दिएको छ ।
सिहम हमुद नामक १२ वर्षीया ती बालिकालाई पश्चिमी लन्डनको हिलिंगडनस्थित अक्सब्रिज हाईस्कूलले गत डिसेम्बर महिनामा प्रत्येक दिन विद्यालयबाट बीचैमा निकालेर घर पठाइदिने गरेको थियो । आफूलाई धार्मिक आस्थाका कारण सताइएको हमुदको भनाइ छ ।
उनले वर्षौंदेखि घुँडासम्म आउने स्कर्ट लगाउने गरेकी थिइन् । तर अघिल्लो महिना उनको युनिफर्म गलत रहेको भनी शिक्षिकाहरूले बताएपछि उनी स्तब्ध भएकी थिइन् ।
विद्यालयले बालिकाहरूलाई कालो ट्राउजर वा कालो रंगको छोटो स्कर्ट लगाउन आदेश दिएको छ । यो नियम दुई वर्षअघि लागू गरिएको हो ।
तर सिहमका पिता इद्रिस हमुदले आफ्नो परिवारको धार्मिक आस्थाले छोटो स्कर्ट लगाउन अनुमति नदिने बताए । त्यसैले गर्दा छोरीले विद्यालय जान नमानेको उनी बताउँछन् ।
सिहम कोभिडको लकडाउनका कारण घरैमा बसेर पढिरहेकी छन् । आफूलाई आस्थाकै कारण भेदभाव गरिएको उनी बताउँछिन् ।
दुई वर्षअघि नियम ल्याइएको भए पनि आफूहरूले यसको बारेमा अहिले मात्र थाहा पाएको परिवारको दाबी छ । नियम तोडेको बारेमा आफूलाई जानकारी नभएको र लामो स्कर्ट लगाएर गइरहेको सिहमले बताइन् । शिक्षकहरूले डिसेम्बर १ मा मात्र यसको बारेमा बताएको उनको भनाइ छ ।
एजेन्सी