चीनमा कोभिड–१९ बाट आठ महिनापछि पहिलोपटक मानिसको ज्यान गएको जानकारी चीनले बिहीवार दिएको छ ।
त्यहाँ कोरोनाका केसहरू फेरि देखिन थालेपछि कठोर लकडाउन लगाइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठनको एक विशेषज्ञ टोली चीनमा कोरोनाको उद्गम पत्ता लगाउन पुगेको छ ।
देशको उत्तरी भागमा दुई करोडभन्दा बढी मानिस लकडाउनमा बसिरहेका छन् र एक प्रान्तले संकटकाल घोषणा गरेको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
चीनले कठोर लकडाउन तथा व्यापक परीक्षणमार्फत महामारीलाई नियन्त्रण गरेको थियो । तर बिहीवार त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले १३८ नयाँ संक्रमणको जानकारी दिएको छ । सन् २०१९ को मार्च महिनापछि एक दिनमा दर्जन भएको सबभन्दा धेरै संक्रमणको केस यही हो ।
स्वास्थ्य अधिकारीहरूले पछिल्लो मृत्युका विषयमा विस्तृत विवरण उपलब्ध गराएका छैनन् । मृत्यु खबे प्रान्तमा भएको बताइएको छ । सरकारले त्यस प्रान्तका अनेकौं शहरमा लकडाउन लगाएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, कम्तीमा ८८५ जना रोगीहरूको उपचार चलिरहेको छ । तीमध्ये २४ जनाको स्थिति गम्भीर छ ।