प्रतिनिधि सभा विघटनविरुद्धका रिटलाई हेर्दाहेर्दैमा राखेर सोमवारको सुनुवाइ पनि सकिएको ५ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सोमवार भएको सुनुवाइमा दुई अधिवक्ताले मात्र बहस गर्न भ्याए ।
शुरूबाटै चिया ब्रेकपछिसम्म पनि अधिवक्ता दीनमणि पोखरेलले बहस गरेका थिए । त्यसपछि अधिवक्ता सरोजकृष्ण घिमिरेले बहस गरेपछि आजको सुनुवाइ सकिएको हो ।
रिट निवेदकमध्येका एक अधिवक्ताका अनुसार एउटै अधिवक्ताले घण्टौं बहस गरेमा प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ हप्तौं जाने सम्भावना छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि १ सय ८८ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् ।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासले नै हेर्ने आदेश गरेपछि आइतवारदेखि अन्तिम सुनुवाइ भइरहेको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन् ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले पौष ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेकी थिइन् ।
लोकान्तर संवाददाता