चर्चित लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ ।
गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ थिए । उनको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गायक बानियाँको ‘लडाईँको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि चर्चामा छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका उनले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आएका थिए ।
बानियाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । आज ११ः३० बजे पशुपति आर्यघाटमा स्वर्गीय अमर स्रष्टा रत्न बानियाँको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी गराए ।
लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको निधनमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली दिइरहेका छन् ।
लोकान्तर संवाददाता