बेलायत र जापानबाट फर्केर नेपालमै माछापालन, वार्षिक ६० लाख कमाइ

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

नातामा साढु दाजुभाइ लक्षिन गुरुङ र अमृत गुरुङ उमेरले भर्खरै ६० नाघे । यी गुरुङ दाजुभाइ प्रदेशकै नमूना मानिएको गण्डकी ट्राउट फार्मका सञ्चालक हुन् ।

१० वर्षअघिसम्म लक्षिन लण्डन बस्थे । अमृत जापान । त्यसबेला ७ समुद्र्रपार बुनिएको योजना अहिले जताततै हाइहाइ र सबैका लागि उदाहरणीय बन्दै गएको छ ।


Advertisement

दुवै दाजुभाइले खोला किनारको बगरमा ‘सुन’ फलाए र पानीमा ‘पैसा’ भेटे । विदेशीभूमि र नेपालमा गरी ६ दशकसम्म अनवरत क्रियाशील यिनै दाजुभाइले ओठ निचोर्दै दुध आउने कलिला युवा जमात (जो विदेशको मोह देख्छन्) लाई स्वदेशमै अपार सम्भावनाको खानी देखाएका छन् । गुरुङ दाजुभाइ आफूले जानेको सिकाउँछन्, स्वदेशमै इलम गर्न हौस्याउँछन् ।

गण्डकी प्रदेश राजधानी पोखराबाट उत्तरतर्फ करीब १७ किलोमिटर यात्रा गरेपछि पुगिन्छ, गण्डकी टेन्बो ट्राउट फार्म । माछापुच्छ्रे गाउँपालिका–२ स्थित सङ्लो र कञ्चन पानीमा माछाको एक प्रकार ट्राउट हुर्किरहेको देख्न सकिन्छ ।


Advertisement

थोरै हो र ? माछाको संख्या अहिले डेढ लाख जति छ । नजिकै रिसोर्ट छ । आएका पाहुनालाई आफैंले फिसिङ गर्ने व्यवस्था पनि मिलाइएको छ । चारैतिर हरियाली र मनमोहक वातावरण छ । पोखरा घुम्न आउनेहरू हत्तपत्ति यहाँ आउन छुटाउँदैनन् ।

बिदाको दिनमा १ हजार जना जति घुम्न आउँछन् । ट्राउट बेच्न बजार खोज्दै जानु पर्दैन । यही नै खपत हुन्छ । वार्षिक २०–२५ टन ट्राउट बिक्री हुन्छ । २७ जनाले रोजगारी पाएका छन् ।

सञ्चालकद्वय लक्षिन र अमृतका अनुसार हालसम्मको लगानी करीब ७ करोड नाघिसकेको छ । भन्छन्, ‘हामीहरूलाई यही लण्डन र जापान छ । त्यहाँको कमाई आफ्नै भूमिमा आर्जित भइरहेको छ ।’ आफ्नो फर्ममा वार्षिक ४–५ करोड रुपैयाँ बराबर माछाको कारोबार हुने गरेकोमा नाफा ५०–६० लाख बच्ने गरेको उनीहरू सगौरव सुनाउँछन् । 

२०६८ सालको कुरा हो । पहिलो पटक गोदाबरीस्थित मत्स्य अनुसन्धान केन्द्रबाट मगाइएको माछाका भुरा ल्याउने बेला नेपाल बन्द भयो । ३ हजार ५०० भुरा खरिद गरिएकोमा पोखरासम्म ल्याइपुर्‍याउँदा २ हजार २०० जति बाटोमै मरे । बाँचेकामध्ये सबै हुर्किएनन् । दुःख गरी हुर्काइएका पनि बिक्रीका लागि समस्या देखियो । किनकि बजारमा डेढ–दुई सय प्रतिकिलो अन्य प्रजातिका माछा पाइन्थ्यो । ट्राउट जातको माछा महंगो पर्ने र आफूहरूले लगानी जोड्दा ७–८ सय रुपैयाँमा पनि बेच्न मुस्किल भयो । गुरुङ दाजुभाइले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका होटल गुहारे । केहीले त दैलोबाटै पाखा लगाइदिन्थे ।

अमृत सम्झिन्छन्, ‘हामीहरूले बिक्रीका लागि लगेका माछा नचिनेर केहीले भित्र नपस्दै गेटबाटै फर्काउँथे । अन्यको तुलनामा महंगो पर्ने भएकाले समस्या भयो । पछि बिस्तारै सबैले चिन्ने र जान्ने मौका पाए । अहिले बल्ल बजार पायो । बिक्रीका लागि पोखरासम्म लैजानु पर्दैन । यहीँ फार्मबाटै सकिन्छ ।’ 

गुरुङ दाजुभाइले फार्म नजिकै रिसोर्ट खोले । रिसोर्टमा बिस्तारै मानिसहरूको आवातजावत बढ्यो । मानिसहरू बिदाको दिन पारेर टाढाटाढाबाट पनि यहाँ आउन थाले । फिसिङ गर्न रमाइलो मान्थे । आफैंले मारेको माछा तत्कालै पकाएर खान पाइने, त्यो पनि स्वास्थ्यवद्र्धक । २ फार्ममा उत्पादित माछाको एकपछि अर्को गरी बजारीकरण भयो । अहिले वार्षिक २५ टनसम्म माछा बिक्री हुने भए पनि मागअनुसार उत्पादन नहुँदा अर्को फार्म खोल्ने तयारीमा रहेको उनले बताए । त्यसका लागि ८२ रोपनी जति जग्गा खोजी भइरहेको छ । 

माछापुच्छ्रे गाउँपालिका–२ मुलखेलमा रहेको गण्डकी ट्राउट फार्म गुरुङ दाजुभाइको ससुरालीको जग्गा हो । १० वर्षअघिसम्म खासै मूल्य नपर्ने भए पनि सो जग्गा बिक्री नगर्न उनीहरूले ससुरालाई बरोबर सुझाउँथे । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जन्मेका लक्षिनले माछापुच्छ्रे घर भई हङकङ आईडी भएकी विष्णुमाया गुरुङसँग बिहे गरे । विष्णुमायाका बुवा पसबहादुर गुरुङ ब्रिटिस गोर्खा क्याप्टेन थिए ।

हङकङमै जन्मेकी विष्णुमायासँग बिहेपछि लक्षिन पनि त्यसै बसे । विदेशी भूमि हङकङमा १६ वर्ष र लण्डनमा २ वर्ष बसे । कमाइ राम्रै हुन्थ्यो । त्यसबेला उनका साढु भाइ अमृत जापान बस्थे । अमृतले १७ वर्षसम्म भारतीय आर्मीमा सेवा गरे । उमेर ४० हाराहारी मात्र हुँदो हो, पछि कमाइका लागि जापान हानिए । त्यहाँ पत्नी कृष्णकुमारी र आफ्नो गरेर ५ लाख जति कमाउँथे । 

१० वर्षअघि एक दिनको कुरो हो, उनले लण्डन रहेका साढु दाइलाई फोन गरे र योजना सुनाए – जापानमै एउटा रेस्टुरेन्ट खोल्ने । लक्षिनले रेस्टुरेन्ट खोल्न जाती मानेनन् । सुझाउँदै भने, ‘जापानमा खोल्दा चलेन भने अहिलेसम्म कमाएको पनि सबै पैसा सकिन्छ । तसर्थ अब स्वदेश फर्केर ट्राउट पालौं ।’ 

उनीहरू दुवै जना ठूलो सपना साँचेर लण्डन र जापान छोडेर आए । लक्षिनले यहाँ फर्केपछि नेपालको परिवेश र हावापानीमा माछाबारे थप अनुसन्धान थाले । उनले पहिले नै नुवाकोट घुम्दा ट्राउटको सम्भावना देखेका रहेछन् । कृषि अनुसन्धान परिषद् (नार्क) देखि काठमाडौं वरिपरिका थप रेन्बो ट्राउट फार्म अवलोकन गरे । अनि आफ्नै गाउँठाउँमा अमृतसँग मिलेर फार्म शुरूआत गरे ।  

सन् १९६० को दशकतिर बेलायतबाट रेन्बो ट्राउट ल्याए पनि सफल नभएपछि परीक्षणको क्रममै थियो । नार्कले पछि त्रिशूली र गोदावरी केन्द्रमा परीक्षण गर्‍यो । सन् १९९० मा पहिलो पटक नेपालमै यसको प्रजनन् गरियो । गण्डकी रेन्बो ट्राउट सञ्चालनमा आएसँगै देशभर यसले व्यापक प्रचारप्रसार पायो । माछाका भुरा सिजनमा कास्कीकै फार्ममा उत्पादन हुन्छ । अन्य बेला अमेरिका, डेनमार्कबाट पनि मगाउनुपर्छ । गुरुङ दाजुभाइले फार्म खोल्न चाहनेलाई सिकाएर पठाउने गरेका छन् ।

निःशुल्क रूपमा तालिम पनि दिन्छन् । छिमेकी जिल्लाहरू पर्वत, बागलुङ, पाल्पा, गोरखा, लमजुङ, मनाङ, म्याग्दीमा पनि यसको सिको गर्न थालिएको छ । साविक गण्डकी र धौलागिरि क्षेत्रमै डेढ दर्जन रेन्बो ट्राउटका फार्म सञ्चालनमा रहेको बताइन्छ । 

रेन्बो ट्राउटको विशेषता फरक छ । सफा बग्ने पानीमा दाना खुवाएर पालिने भएकाले यसको स्वाद अन्यको तुलनामा भिन्न हुन्छ । एक डिग्री सेल्सियस तापक्रममा पनि जीवित रहने यो माछाको शारीरिक वृद्धिका लागि १६–२० डिग्री तापक्रम उपयुक्त मानिन्छ । माछाको मूल्य प्रतिकेजी १ हजार १०० रुपैयाँ छ । तयारी माछा (टेवल सर्भ) १ हजार ४०० रुपैयाँ प्रतिकिलोग्रामसम्म पर्छ । यसको काँडा अन्यको भन्दा कम हुन्छ । स्वास्थ्यका लागि राम्रो मानिने ओमेगा–३ फ्याटी एसिड हुने भएकाले विश्वभर रोजाइको माछा पर्छ । खाँदा कोमल हुन्छ । 

लकडाउनको बेलामा निकै समस्या देखियो । ‘उत्पादित माछाको बिक्रीमा समस्या भयो । अर्डर अनुसार टोलटोलमा लगेर पनि बिक्री वितरण गरियो । त्यसबेला २७ जना कर्मचारीले काम गर्थे,’ उनले भने । अहिले १० जना जति बिदामा रहेकाले क्रमशः बोलाइने सञ्चालक अमृत गुरुङले बताए । शुरूआतमा मूलखेत (२० रोपनी) मा खोलिएको फार्म पछि गुप्चे (२५ रोपनी) मा शुरू गरी २ फार्म सञ्चालन गरिएको छ । माछा हुर्काउन दानामा धेरै खर्च लाग्ने उनीहरूको भनाइ छ ।

हालै मात्र भारतबाट ५२ लाख ८० हजार रुपैयाँ खर्चेर माछाको खाना फिस मेल खरिद गरिएको छ । यो मात्र नभई वर्षभरि सोयाबिन, तोरीको पिना, धानको ढुटो, गहुँको ढुँटो पनि किन्नुपर्छ । 

कास्कीकै रिभानमा जन्मेका अमृतका अनुसार आफ्नो दाजुभाइ खलकले माछापुच्छ्रे–९ मा पनि रेन्बो ट्राउट पाल्ने तयारी गरेका छन् । लुम्ब्रेमा रिसोर्ट खोलिँदैछ । त्यहाँ उनको पनि लगानी जोडिएको छ । विदेशमा भएका आफ्ना दाजुभाइलाई नेपालकै केही गरेर आयआर्जन गर्न सुझाव दिएको उनले बताए । सो योजनामुताविक ६० रोपनी जति जग्गा खरिद गरिएको छ । ४ किलोमिटर बाटो ३५ लाख खर्चेर निर्माण सम्पन्न भइसकेको छ । मुआब्आमै १० लाख गयो ।

आगामी वर्षसम्म २० टन उत्पादन गर्ने योजना रहेको उनले सुनाए । अमृत भन्छन्, ‘नेपालमा सबै चिज छ । मेहनत गर्नुपर्छ । पैसा कमाउन खाडी मुलुक जानु पर्दैन ।’  

लक्षिन गुरुङले नेपालमा आन्तरिक पर्यटक मात्रै ५० लाख रहेको भन्दै सो संख्या लक्षित गरेर गण्डकी रेन्बो ट्राउटले थप फार्म खोज्ने तयारी गरेको जानकारी दिए । फार्मसँगै वाटर फन, चिल्डे«न पार्क सहितको रिसोर्ट खोज्न ८२ रोपनी जति जग्गा आवश्यक रहेकाले प्रदेश सरकारसँग माग गरिएको उनले बताए । ‘फर्म टु टेबल’ मात्र सीमित रहेकोमा वार्षिक थप २५ टन उत्पादन गरी बिक्रीका लागि बाहिर पठाउने योजना रहेको उनले सुनाए । 

उनी भन्छन्, ‘नेपालीले खाडी मुलुकमा गएर २ वर्षसम्म काम गरे पनि कमाउने भनेको बढीमा १० लाख नै होला । त्यो पैसाले अहिले केही आउँदैन । मात्र घरायसी सामान टीभी, मोवाइल किन्दै सक्छन् । रमाइलोमै खर्चिन्छन् । त्यसैले स्वदेशमै प्रशस्त सम्भावना क्याच गरौं । नेपाल लहरामा सुन र पहरामा हिरा फल्ने देश हो ।’ 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्