एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनबाट संघको संशोधित विधान  र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।

विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेमराज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव  विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रूपमा प्रस्तुत गरे ।
    
महाधिवेशनले एनआरएनएका कोषाध्यक्ष महेशकुमार  श्रेष्ठले प्रस्तुत गरेको संघको आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।


Advertisement

संघमा आर्थिक व्यवस्थापन र पारदर्शीता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनका लागि गोवा कटुवालका संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरिएको छ ।
 
महाधिवेशनमा प्रस्तुत विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरियो । विधानमा रहेका संशोधित प्रावधानअनुरूप काम कारवाही अगाडि बढाउने प्रतिबद्धता जाहेर गरियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एनआरएनएका अध्यक्ष कुमार पन्त, प्रमुख संरक्षक डा. शेष घले, पूर्व अध्यक्ष एवं अन्य संरक्षक देवमान हीराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा, संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं प्रतिनिधि तथा नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई लगायतको सहभागिता थियो ।


Advertisement

कमेन्ट गर्नुहोस्