अलैंचीमा लगानी गर्दा पछुतो

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैंची बगानमा ८ लाखमा ८ वर्षका लागि बन्दकी लगाए । अहिले त्यही अलैंची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ ।

लिम्बूको घरपरिवारको आर्थिक अवस्था कमजोर  थियो । उनले ५ कक्षा उत्तीर्ण गर्न पनि सकेनन् ।


Advertisement

बिहान–बेलुका हात मुख जोर्नका लागि बुवाआमासहित उनी अरूको घरमा खेताला जान पथ्र्यो । खेताला गरी ल्याएको अन्नले साँझबिहान छाक टार्नुपथ्र्यो ।

२०६४ सालमा लिम्बू घरको आर्थिक अवस्था सुधार्ने  सोचका साथ गाउँघर छोडे । उनले गाउँघर मात्र छोडेनन्, नेपाल नै छोडेर मलेसिया पुगे ।


Advertisement

आफ्नै गाउँमा दुःख गर्ने लिम्बूलाई अरूको देशमा त्यति काम गर्न समस्या परेन । उनी भन्छन्, ‘परिश्रम गर्ने मान्छेले जता गए नि परिश्रम गनुमै आनन्द आउँछ ।’

मलेसिया पुगेको २ वर्ष पूरा भयो । दुःख गरेर कमाएको पैसा केमा लगानी गर्ने भन्ने मेसो पाएनन् । तराईको झापा, इटहरीतिर जग्गा किन्ने योजना बुन्न थाले । त्यही समयमा नेपालमा अलैंचीको मूल्य ४० केजीको १ लाख २० हजार रुपैयाँ पुग्यो ।

अलैंचीको मूल्य सोचेकोभन्दा उच्च मूल्य आउँदा उनी निकै पछुताए । अब उनको एक मात्र सोच आयो – अरूको देशको माटोमा अमूल्य पसिना झार्नुभन्दा आफ्नै देशको माटोमा अलैंची खेती गर्ने ।

उनले भने, ‘मैलै मलेसियामा कमाएको र साथीहरूसँग सापटी मागेर ८ लाखमा गाउँको अलैंची बगानमा बन्दकी लगाए ।’

विदेशमा गरेको मिहिनेतले आफ्नै गाउँमा सुन फलाउने सोचका साथ मलेसिया छोडेर घर फर्के । घर आएर अलैंची बगान विस्तार गर्नतिर लागे । 

गत वर्ष अलैंचीको याममा लिम्बूले ५ मन सुक्का अलैंची निकाले । दिनदिनै खेताला पाउन मुस्किल हुँदै गएको छ । खेतालाको ज्यालादर दिनप्रतिदिन बढ्दो छ । १ दिनको खेतालाको ज्याला दर ५०० देखि ८०० सम्म दिनुपर्ने लिम्बू बताउँछन् । ५ मन अलैंचीले १ लाख हाराहारी मात्र बिक्री गरेको उनको भनाइ छ । 

अलैंचीयाम शुरूदेखि अन्तिमसम्म १ लाख ५० हजारभन्दा बढी पर्न आएको उनले बताए ।

विगत ५ वर्षअगाडि मलेसिया हुँदै ८ लाख लगानी गरेको पैसाले अरू व्यवसायमा लगानी गरेको भए हुन्थ्यो भन्ने बताउँदै अलैंची बगानमा लागानी गरेकामा अहिले पछुताएको उनी बताउँछन् । – दिलकुमार लिम्बू/रासस

कमेन्ट गर्नुहोस्