चीनले कोरोना भाइरस परीक्षण गर्न नयाँ तरिकाले परीक्षण थालेको छ । सम्भावित संक्रमितको मलद्वारबाट स्वाब निकालेर परीक्षण गर्न चीनले शुरू गरेको हो ।
चीनमा नयाँ तरिकाले कोरोना परीक्षण गर्न राष्ट्रव्यापी नीति छैन । चीनका उत्तरी क्षेत्रका करीब १ हजार ७ सय सम्भावित संक्रमितमा मलद्वारबाट स्वाब लिएर परीक्षण गर्न शुरू गरिएको हो ।
यस विधिमा भिजाइएको कपासलाई दुई देखि तीन सेन्टिमिटरसम्म सम्भावित संक्रमितको मलद्वारमा राखिन्छ । त्यसपछि परीक्षणका लागि प्रयोगशाला लगिन्छ ।
चीनको बेइजिङमा एक साता अघि स्कूलका करीब १ हजार विद्यार्थी र शिक्षकहरूको यही विधिबाट परीक्षण गरिएको थियो ।
यो विधिका बारेमा चीनमा बहस चलिरहेको अवस्थामा अन्य क्षेत्रमा पनि परीक्षण गर्न शुरू गरिएको ब्लूमवर्गले जनाएको छ ।
सोमबार, जिलिन प्रान्तको राजधानी चांग्चुनबाट बेइजिङ जाँदै गरेको यात्रुहरूलाई विमानबाट बाहिर निस्कन भनिएको थियो ।
उच्च जोखिम भएको कुनै व्यक्ति त्यहाँ रहेको अधिकारीहरूले पत्ता लगाएपछि उनीहरूलाई एउटा होटलमा ल्याइएको थियो । जहाँ स्वास्थ्यकर्मीहरूले नाक र मलद्वारबाट स्वाब लिएका थिए ।
लोकान्तर संवाददाता