समुद्रमा करोडौं वर्षदेखि रहेका शार्क माछाहरू विलुप्त हुने संघारमा पुगेका छन् ।
नयाँ अनुसन्धानमा उल्लेख भएअनुसार, अत्यधिक माछा मारिएका कारण शार्क माछाहरू सदाका लागि हराउने स्थितिमा पुगेका छन् । विगत ५० वर्षमा ७० प्रतिशत शार्क माछाहरू सकिएको आँकडा छ ।
क्यानडाको सिमोन फ्रेजर विश्वविद्यालय र बेलायतको इक्सेटर विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा सन् १९७० देखि अहिलेसम्म माछा मार्ने गतिविधि पहिलेको भन्दा १८ गुणा बढेको पाइएको छ ।
यसले समुद्रको इकोसिस्टममा प्रभाव पारेको छ र अनेकौं प्राणी ठूलो मात्रामा विलुप्त भएका छन् ।
सन् १९७० पछि शार्क र रे माछाहरूको संख्यामा ७१ प्रतिशत गिरावट आएको छ । शार्क र रे माछाहरूको ३१ मध्ये २४ प्रजातिहरू संकटापन्न प्रजातिमा परेका छन् ।
ओसेनिक ह्वाइटटिप र ग्रेट ह्याम्मरहेड शार्क पनि संकटमा परेका छन् ।
हिन्द महासागर लगायत उष्णकटिबन्धीय क्षेत्रमा यी जीवहरू तीव्र गतिमा सकिरहेका छन् ।
हिन्द महासागरमा सन् १९७० पछि ८४.७ प्रतिशत माछाहरूको संख्या घटेको छ । शार्क र रे माछाहरूलाई बचाउनका लागि तत्काल कदम उठाउने आवश्यकता रहेको वैज्ञानिकहरूको कथन छ ।
समुद्रवैज्ञानिक डा रिचर्ड शर्लेले तत्काल कदम नउठाइएमा धेरै ढिला हुने बताएका छन् । माछा मार्ने काममा वैज्ञानिक तरिकाले प्रतिबन्ध लगाएमा शार्कलाई बचाउन सकिने उनको कथन छ । समुद्री पर्यावरण जोगाउन यो आवश्यक रहेको उनी बताउँछन् ।
एजेन्सी