भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्परेन्सी इन्टरनेसनल (टीआई) ले ताजा करप्सन पर्सेप्सन इन्डेक्स बिहीवार सार्वजनिक गरेको छ । यसले सन् २०२० को आँकडा समेटेको छ ।
उक्त सूचीमा नेपाल सन् २०१९ को तुलनामा चार स्थान तल झरेको छ । सन् २०१९ मा ११३औं स्थानमा रहेको नेपाल सन् २०२० मा ११७औं स्थानमा छ ।
नेपालले सीपीआई इन्डेक्समा ३३ अंक पाएको छ । सन् २०१९ मा नेपालको ३४ अंक थियो ।
निरन्तर भइरहेको भ्रष्टाचारले स्वास्थ्य सेवा प्रणालीहरूलाई हानि गरिरहेको र कोभिड महामारीका बीचमा लोकतन्त्रमा आघात पुर्याउन योगदान गरिरहेको टीआईको प्रतिवेदनले औंल्याएको छ ।
इन्डेक्समा राम्रो स्थानमा रहेका मुलुकले स्वास्थ्य सेवामा बढी लगानी गरेको, सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराएको र लोकतान्त्रिक मूल्यमान्यता तथा संस्था वा विधिको शासनलाई कमै मात्र उल्लंघन गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सन् २०२० को सीपीआईमा १८१ वटा मुलुकमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचारका विषयमा मानिसको धारणालाई मानक बनाइएको हो ।
कुल १०० अंकमा ८८ पाएर डेनमार्क र न्युजील्यान्ड पहिलो स्थानमा रहेका छन् । सबभन्दा कम १२ अंक पाएर दक्षिण सुडान र सोमालिया १८०औं स्थानमा छन् ।
एजेन्सी