फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सार्वजनिक स्थानमा सबैले देख्नेगरी कोरोनाविरुद्धको खोप नलगाउने भएका छन् ।
उनले नितम्बमा खोप लगाउने भएकाले सार्वजनिक स्थानलाई परहेज गरेका हुन् ।
एक पत्रकार सम्मेलनमा डुर्टेटेका प्रवक्ता ह्यारी रोकले अन्य विश्व नेता जस्तो गरी पाखुरामा खोप नलगाई डुटेर्टेले नितम्बमा खोप लगाउने भएका हुन् ।
‘उहाँले नितम्बमा खोप लगाउन चाहेको बताउनुभएको छ, त्यो सार्वजनिक रूपमा देखाउने कुरो भएन,’ रोकले पत्रकारहरूलाई बताए ।
देशको कोभिड कार्यदलले राष्ट्रपतिलाई सार्वजनिक स्थानमा बसेर खोप लगाउन आग्रह गरेको थियो । उनले सार्वजनिक रूपमा खोप लगाउँदा खोपको सुरक्षाका विषयमा फिलिपिनोहरू ढुक्क हुने र खोप लगाउन आउने उनीहरूको विश्वास छ ।
गत अगस्ट महिनामा डुटेर्टेले रुसको स्पुतनिक भी खोप सार्वजनिक रूपमा लगाउने घोषणा गरेका थिए ।
तर फिलिपिन्सले चीनको सिनोभ्याक बायोटेकले बनाएको खोप लगाउने निर्णय गरेको छ ।
एजेन्सी