विदेशी फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण

प्रतिकात्मक तस्वीर

पछिल्लो समयमा जुम्लाका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् ।

जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण भएको जुम्ला एग्रो फर्मका सञ्चालक रेश्मा श्रेष्ठले जानकारी दिए ।


Advertisement

जिल्लामा फुजी स्याउखेती सफल भएसँगै जुम्ली एग्रो फर्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफल जग्गा भाडामा लिएर स्याउ खेती शुरू गरेको थियो ।

शुरूआतमा ‘फुजी, गोल्डेन डेलिसियस, रेड चिप, गाला र जोर्डन गरी ५ प्रकारका स्याउ लगाइएको उनले जानकारी दिए ।


Advertisement

जिल्लामा इटालियन फुजी जातको स्याउखेती शुरू भएको ४–५ वर्ष भयो । फुजी खेती जुम्लामा सफल भएपछि स्थानीय किसान फुजी जातको स्याउ खेतीमै आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपर जोन कार्यालयका कार्यालय प्रमुख नवराज भण्डारीले बताए ।

यस वर्ष जिल्लाको गुठीचौर गाउँपालिकाको गुठीचौर एग्रो फर्मले १ लाख ५० हजार वर्गमिटरमा ३०–४० हजार फुजी स्याउको बिरुवा रोप्ने तयारी गरेको उनले जानकारी दिए । ‘तातोपानी गाउँपालिकाको हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा ४ हजार फुजी जातको स्याउका बिरुवा रोप्ने तयारी रहेको छ,’ उनले भने ।

स्याउ खेतीमा कृषि कार्यालय र स्याउ सुपर जोनले बिरुवा र साना सिँचाइ घेरबारमा कार्यालयबाट किसानलाई अनुदान दिने स्याउ सुजरजोन कार्यालयले जनाएको छ । फुजी स्याउ प्रतिबिरुवा १ हजार, स्थानीय जातको स्याउको प्रतिबिरुवा ७० रुपैयाँ र ओखर प्रतिबिरुवा ७०० रुपैयाँ जिल्ला दररेट कायम गरेको छ ।

जिल्ला दररेट अनुसार किसानले प्रति बिरुवामा ५० प्रतिशत अनुदान प्राप्त गरेको परियोजनाले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्