गोल्यान ग्रुपले राजधानी काठमाडौंको नयाँ बानेश्वरमा ‘माटो फ्रेस स्टोर’ सञ्चालनमा ल्याएको छ ।
‘आत्मनिर्भरताको उपाय खोजौं, नेपाली माटोको उत्पादन रोजौं,’ भन्ने मूल नाराका स्थापित यो ब्राण्डले बानेश्वरमा स्टोर सञ्चालनमा ल्याएको हो ।
साना किसानद्वारा नेपालमै उत्पादित अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित ब्राण्ड सार्वजनिक गरिएको उद्यमी पवन गोल्यानले बताएका छन् । यो ब्राण्ड पूर्ण अग्र्यानिक भएको उनको दाबी छ ।
माटो फ्रेस स्टोरमा अग्र्यानिक फलफूल, तरकारी, चामल, पीठो, गेडागुडी, पानी, स्यानिटाइजर, जुस आदि बिक्री वितरणका लागि राखिएको छ ।
बजारका अन्य पसलहरूमा जस्तो यस पसलमा बिचौलियाले प्रवेश पाउने छैनन् । अर्थात्, किसानले उत्पादन गरेका सामान सिधै पसलमा आउने छन् ।
बिचौलियाले प्रवेश नपाउने भएकाले अग्र्यानिक खाद्य वस्तु सस्तो र सुलभ मूल्यमा नै पाइने स्टोरका सञ्चालक आशिष यादवले बताए ।
स्टोरको ५०० मिटर आसपाससम्म होम डेलिभरीको पनि सुविधा रहेको उनले जानकारी दिए ।
स्टोर सञ्चालनमा आएसँगै नेपाली कृषक र ग्राहकहरू बीचको खाडल पुर्न मद्दत मिल्ने गोल्यान ग्रुपले विश्वास लिएको छ ।
ग्रुपका अध्यक्ष पवन गोल्यानले साना किसानको अग्र्यानिक उत्पादनलाई उपभोक्ताको भान्सासम्म पुर्याउन भूमिका खेल्ने बताए । साथै कृषकहरूलाई प्रोत्साहन पनि गरिने उनको भनाइ छ ।
कृषि क्षेत्रमा केही गरेर देखाउने सोचका साथ अन्य उद्योग व्यवसायबाट समय निकालेर देशका कृषकहरूलाई आत्मनिर्भर बनाउँदै स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन अभियानमा लागेको उनी बताउँछन् ।
कृषिमा उद्यमशीलताको विकास गराउन सके मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्नेमा गोल्यान आशावादी छन् ।
अग्र्यानिक उत्पादनका नाममा महंगो दाममा बजारमा विभन्नि उत्पादनहरू बिक्री वितरण हुने गरेका छन् ।
‘माटो फ्रेस स्टोर’ मा भने गुणस्तरीय अग्र्यानिक उत्पादन उचित मूल्यमा पाइने ब्राण्डको दाबी छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट -
विश्वास खनाल
खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।