
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला–पहिला राजा महाराजाहरूले जे गर्थे, त्यही गर्नुभएको टिप्पणी गरेका छन् ।
चितवनमा सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव हुनका लागि घोषणा नगरिएको बताए ।
‘हामी संविधान मिचिएको कुरा, लोकतन्त्रमाथि प्रहारको कुरा र त्यसका विरुद्ध हामी आन्दोलनमा छौं,’ प्रचण्डले भने, ‘उहाँले पञ्च र्यालीहरू जम्मा गर्ने जमिन बाँड्छौ भनेर मान्छे उतार्ने, पहिला–पहिला राजा महाराजाहरूले जे गर्थे, त्यही गर्नु भा’छ । त्यसको केही अर्थ छैन, केही महत्त्व छैन ।’
अध्यक्ष प्रचण्डले ओलीले प्रतिगमनको बाटो पक्डिएकाले हारिसकेका बताए । ‘मैले त शुरूदेखि भनेको छु – उहाँले जतिबेला प्रतिगमनको बाटो पक्डिनुभयो, जतिबेला प्रतिक्रान्तिको बाटो पक्डिनुभयो, उहाँ हारिसक्नुभयो, उहाँले मतमा पनि हार्नुहुन्छ, उहाँले व्यवहारमा पनि हार्नुहुन्छ,’ उनले भने ।
प्रचण्डले आगामी वैशाखमा चुनाव नहुने दाबी गरे । ‘चुनाव हुँदैन प्रस्ट भए हुन्छ । चुनाव हुनका लागि गरिएको प्रतिगमनै होइन,’ उनले भने, ‘मुख्यकुरा के हो भने नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि अहिले धरापमा पार्नुभएको छ उहाँले । आमनेपाली जनता र राम्रो दिमाग भएका मान्छे जति उहाँको यो कदमका विरुद्ध छन् । तपाईं हामी सबै मिलेर यसलाई परास्त गर्नुपर्छ, राष्ट्रको हितमा जनताको हितमा ।’