
तनहुँको देवघाट गाउँपालिकाका–१ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वडा नं ५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो । त्यस क्षेत्रमा अहिले लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति भइरहेको थियो ।
राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय रहेको तनहुँ विद्युतीकरण आयोजनाका साइट इञ्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिए । जिल्लामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् बिस्तार गरिएको हो । नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन भइरहेको कार्यक्रमबाट जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको उनले बताए ।