अदालतले सही फैसला गर्छ भन्ने विश्वास छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । 

मंगलवार काठमाडौंमा जनयुद्धको हस्ताक्षर नामक पुस्तकको विमोचन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सही फैसला आउनेमा विश्वास रहेको बताएका हुन् । 


Advertisement

‘लडाइँ त विभिन्न ढंगले चलि नै रहेको छ, मैले यसो भन्नुको तात्पर्य हाम्रो अदालतमाथि विश्वास छैन भनेको होइन, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास छ,’ प्रचण्डले भने । 

उनले प्रतिनिधिसभा विघटन पछि आफूहरू शान्तिपूर्ण युद्धमा रहेको बताए । ‘जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्ने अपहरणकारीका विरुद्ध युद्धमा छौं, पुस ५ देखि फागुन ११ सम्म नयाँ प्रकारको युद्ध लडिरहेका छौं, जुन देशव्यापी चलिरहेको छ । रक्तपातहीन शान्तिपूर्ण युद्धमा छौं,’ प्रचण्डले भने ।


Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई फूट र लोकतन्त्रलाई बिसर्जनको बाटोमा लगेपछि त्यसको रक्षाको लागि आफूहरूले संघर्ष गर्नुपरेको प्रचण्डले दाबी गरे । 

‘मैले भनेको छु, मुद्दा त उहाँले हारिसक्नुभएको छ । फेरि पनि यो व्यावहारिक रूपले परास्त गर्नको लागि नयाँ प्रकारको युद्ध जित्नुपर्छ । प्रतिगमनविरोधी अभियान जसलाई मैले शान्तिपूर्ण युद्ध भनेको छु । त्यो हामीले जित्नुपर्छ,’ प्रचण्डले भने ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्