अप्रेसन नै गर्नुपर्छ भनिएको ११.७ मिलिमिटरको पत्थरी जब आफैं झरेर गयो ...

  • नारदप्रसाद भट्टराई

२०६७/०६८ सालदेखि २०७७ सालको माघ महिनासम्म मेरो जीवनमा करीब २-३ / २-३  वर्षको अन्तरालमा मिर्गौलामा ६ मिलिमिटरको पत्थर दुईपटक र ११.७ मिलिमिटरको पत्थर एकपटक देखापर्‍यो । सो पत्थर मिर्गौलामा देखा परेको अवस्थामा मेरो प्रेसर बढ्ने, पेट, कम्मर र ढाड दुख्‍ने लगायतका समस्या समेत देखा परे ।


Advertisement

अघिल्लो दुई पटकका ६ मिलिमिटरका पत्थरहरू मेडिकल डाक्टरको सल्लाहअनुसार औषधि प्रयोग गरी मिर्गौलाबाट मुत्रथैलीमा पिसाब जाने  ट्युब हुँदै झरेका थिए। ती पत्थरहरू झर्दा मलाई त्यति गाह्रो परेको थिएन। अर्थात् पत्थरहरू झरेको थाहा नै भएको थिएन।

सो दुवै पटक दैनिक ४ देखि ५ लिटर पानी पिउने, गहतको दाल दैनिक रूपमा खाने, दैनिक करीब ५०० पटक र बेलुका करीब ५०० पटक पिटी र डोरी खेल्ने कार्य नियमित रूपमा गर्ने एवं मेडिकल डाक्टरको सल्लाहअनुसार औषधि खाने गरेको थिएँ। सो कार्य गर्न थालेको करीब २०/२५ दिन पश्चात भिडियो एक्सरे गर्दा पत्थर गैसकेको जानकारी प्राप्त भएको थियो।


Advertisement

पछिल्लो पटक २०७७ सालको असोज महिनाको १५/१६ गतेतिर राति करीब १० बजे एक्कासि पेट दुखेको महशुस भयो। तत्पश्चात मैले फेरि महशुस गरें मिर्गौलामा पत्थरी भएछ। त्यो रातभरि सहेर नै बसें तर बिहानीपखसम्ममा दुख्‍न केही कम भएको थियो।

सोको भोलिपल्ट बिहान डाक्टरकोमा सल्लाह लिन जाने कि के गर्ने भन्ने विषयमा परिवारका सदस्यहरूसँग सल्लाह गरें। अस्पतालमा डाक्टरको सल्लाह लिन र भिडियो एक्सरे गर्न जाऊँ भने सबै अस्पताललाई कोभिड अस्पताल बनाइएको थियो। कोरोनाका महामारी एकदमै फैलिएको थियो। त्यसपछि म आफैंले निर्णय गरें- अब अस्पताल नजाने।

तत्पश्चात मेरो घरनजिकै रहनु भएका मेरा अनन्य मित्र मेडिकलका स्वास्थ्यकर्मीसँग गई सल्लाह गरी नीरि नामक सामान्य औषधि प्रयोग गरें । पहिलाको जस्तै गरी दैनिक ४ देखि ५ लिटर पानी पिउने र दैनिक बिहान करीब ५००/६०० पटक र बेलुका करीब ५००/६०० पटक पिटी र डोरी खेल्ने कार्य नियमित रूपमा गर्ने गरिरहें। यस पटक भने मैले गहतको दाल खान पाइनँ, किनकी मेरो आमाको २०७६ सालको मंसिर महिनामा स्वर्गारोहण भएकाले मैले वर्ष दिनका लागि बारेको थिएँ। हाम्रो धार्मिक परम्पराअनुसार गहत लगायतका वस्तुहरू यस्तो बेला खान पाइन्न ।

यस वर्ष मलमास परेकाले धार्मिक परम्परा अनुसार मैले आमाको वार्षिक श्राद्ध गर्न काठमाडौंबाट झापाको चन्द्रगढीमा गई २०७७ साल पुस महिनाको १५ गते श्राद्ध गरी १६ गतेदेखि १८ गतेसम्म अखण्ड पुराण लगाई कार्य सम्पन्न भयो।

सो पश्चात् मैले आफैले महशुस गरेको पत्थर कत्रो छ ? कहाँ छ ? भनी हेर्नका लागि म झापाको भद्रपुरमा रहेको एउटा भिडियो एक्सरे सेन्टरमा गई २०७७ साल पुस १९ गते भिडियो एक्सरे गराएँ। सो भिडियो एक्सरेबाट सावित भयो की मेरो शंका ठीक रहेछ।   

यसपटक भने मेरो मिर्गौलामा ११.७ मिलिमिटरको पत्थर रहेछ। सो पत्थर मिर्गौलाबाट मुत्रथैलीमा पिसाब जाने  ट्युब हुँदै झरेर ट्युबमा बसेको रहेछ र अलिअलि ट्युब फूलेको समेत रहेछ। तत्पश्चात म झापाको भद्रपुरमा रहेको पाथिभरा अस्पतालमा गएँ। त्याहाँ युरोलोजीको विशेषज्ञ डाक्‍टरसँग सो विषयमा सल्लाह लिएँ । डाक्टरले ७ मिलिमिटरभन्दा माथिको पत्थर आफैँ झर्दैन।

यो ११.७ मिलिमिटरको  पत्थर रहेछ। यसलाई अप्रेशन गरेर फाल्नु पर्छ भनी सल्लाह दिनुभयो। डाक्‍टरको सल्लाहअनुसार म अप्रेशन गर्न तयार भई मैले त्यहाँ अन्य मेडिकल चेकजाँच गराएँ। तर सो समयमा मेरो प्रेसर २००/१०० रहेछ र मुटुमासमेत समस्या रहेको जानकारी पाएँ। सो विषयमा मलाई थाहा थिएन किनकी मलाई शारीरिक रुपमा कुनै अप्ठ्यारो महशुस भएको थिएन।

तत्पश्चात डाक्टरले मलाई प्रेसरको औषधि प्रयोग गर्न, मुटुको राम्रो चेकजाँच गराउन र प्रेसर ब्यालेन्समा आएपछि मात्र पत्थरीको अप्रेसन गर्न सुझाउनु भयो। डाक्टरको सल्लाहअनुसार मैले प्रेसर र पत्थरीको औषधि खान शुरु गरे ।

म तुरुन्तै काठमाडौं फर्किएर मुटुको चेकजाँच गराउन ह्याम्स अस्पताल पुगें । त्याहाँ सिनियर मुटुरोग विशेषज्ञ डाक्टरले मुटुको चेकजाँच गरी प्रेसर, भिटामिन बी १२, भिटामिन डी र मुटुको औषधिसमेत खान र दैनिक १ घण्टासम्म हिँड्न सल्लाह दिई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सिफारिससमेत गरिदिनुभयो।

मिर्गौलाबाट मुत्रथैलीमा पिसाब जाने ट्युबमा आएर बसेको ११.७ मिलिमिटरको पत्थरले मलाई असह्य पीडा दिएकाले म संघर्ष गरिरहेको थिएँ । तर सो ११.७ मिलिमिटरको पत्थरको अप्रेशन नगरी औषधि र व्यायामले नै फाल्न सकिन्छ कि भनी म एकजना आयुर्वेदिक डाक्टरकोमा पुगें। आयुर्वेदिक डाक्टरले मलाई एक/डेड महिना आयुर्वेदिक औषधि सेवन गरेपछि फुटेर झर्छ भनी सल्लाह दिनुभयो।

उहाँको सल्लाहअनुसार मैले ११ दिनदेखि आयुर्वेदिक औषधिसमेत खाइरहेको थिए। सो भन्दा पहिला मेडिकल डाक्टरले दिएको पत्थरीको औषधि १५ दिन जति खाइसकेको थिएँ। केही घरेलु प्रकृतिक औषधिसमेत खाइरहेको थिए। त्यसको साथ साथै नियमित रुपमा दैनिक ४ देखि ५ लिटर पानी पिउने, गहतको दाल दैनिक रूपमा बिहान र बेलुका खाने, दैनिक बिहान करीब ५००/६०० पटक र बेलुका करीब ५००/६०० पटक पिटी र डोरी खेल्ने कार्य लगायतका मेरो नियमित अन्य कार्यहरू समेत गरिनैरहेको थिए।

यसैबीच मिति २०७७ साल माघ ९ गतेको दिन सो ११.७ मिलिमिटरको पत्थर कहाँ पुगेछ ? कस्तो अवस्थामा रहेछ ? भनी हेर्न म आफैँले मीनभवन स्थित एउटा भिडियो एक्सरे सेन्टरमा गई भिडियो एक्सरे गराएँ। सो भिडियो एक्सरे गर्ने डाक्टरले भने- १० मिलिमिटरको पत्थर मिर्गौलाबाट मुत्रथैलीमा पिसाब जाने  ट्युबको मुत्रथैलीको मुखनिर आएर बसेको छ। युरोलोजीको डाक्टरसँग नियमित रुपमा सल्लाह लिनु, पानी खानु, व्यायाम गर्नु र बिहान बेलुका हिँड्ने गर्नु।  मिर्गौला पनि राम्रो रहेछ। आत्तिनु पर्दैन । सो पत्थर आफैँ झर्छ तर झर्ने बेलामा एकपटक धेरै कठिन हुन्छ भनी सुझाउनु भयो।

मैले सोचेँ, मैले प्रयोग गरिरहेका औषधिले र मैले गरेको नियमित व्यायाम लगायतका अन्य कार्य समेतले राम्रो काम गरिरहेको रहेछ। ११.७ मिलिमिटरको भनिएको पत्थर घटेर १० मिलिमिटरको भएछ जस्तो महशुस भयो। तत्पश्चात मैले पत्थर भएपछि गरेका नियमित सबै कार्यहरू गर्दै गरी मिति २०७७ साल माघ १० गते साँझमा आधा, एक घण्टा हिँड्नु पर्‍यो भनी घर बाहिर निस्केर हिँडी मेरो दाजुको घरमा पुगेको थिएँ।

पिसाब फेर्नु पर्‍यो भनी दाजुको घरमा रहेको बाथरुम प्रयोग गरी पिसाब फेर्दा मिर्गौलाबाट मुत्रथैलीमा पिसाब जाने ट्युबको मुत्रथैलीको मुखनिर आएको पत्थर मुत्रथैली भन्दापनि तले झरेर बीचमा आएर अड्किएको महशुस भई अत्यन्तै पीडा भएको थियो। तत्पश्चात मैले दाजुसँग दुई गिलास पानी मागेर पिएँ र अब अस्पतालसमेत जानुपर्ने हुन सक्छ भनी सोची म दाजुको घरबाट निस्किएर आफ्नो घर आई परिवारका सदस्यहरूलाई जानकारी गराएँ। मलाई पीडा अत्यन्तै भई रहेको थियो। तरपनि घरमा पुनः दुई गिलास पानी पिएँ र मैले १०० पटक जति पिटी खेलें।

तत्पश्चात पिसाब लागेजस्तो महशुस भएर पिसाब फेर्नका लागि म बाथरुममा गएँ। पिसाब फेर्दै गर्दा बीचमा पिसाब रोकियो। मैले महशुस गरेँ पत्थर झर्न लाग्यो। त्यसपछि मैले ट्वाइलेटको पेनभन्दा बाहिरपट्टि पिसाब फेर्ने कोशिश गरें। त्यसै समयमा पिसाब भयो र उक्त पहिला भिडियो एक्सरे गर्दा ११.७ मिलिमिटरको भनिएको र पछि भिडियो एक्सरे गर्दा १० मिलिमिटरको भनिएको पत्थर भुइँमा झर्‍यो । सो देखेर मलाई अत्यन्तै खुशी महशुस भयो । सोको विषयमा मेरो परिवारका सदस्य र आफन्तजनलाई जानकारी गराएँ। तत्पश्चात मलाई आनन्द महशुस भएको छ।

तसर्थ, उल्लेखित अनुभवको आधारमा ६ देखि ११.७ मिलिमिटरसम्मको पत्थर पनि अप्रेशन नगरी आफैँ झर्ने रहेछ। मेरो स्वास्थ्यको कामना गर्ने मेरो परिवार जन, आफन्तहरू प्रति र मेडिकल जाँच गर्ने डाक्टरहरू प्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु।

(भट्टराई विशेष अदालत काठमाडौंका उपरजिस्ट्रार एवं सूचना अधिकारी हुन् ।)

कमेन्ट गर्नुहोस्