निरन्तर उकालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य, आजदेखि उपभोक्ताले पेट्रोल किन्दा थप रु २ तिर्नुपर्ने

पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाउँदै गएको छ । विद्यार्थी संगठनहरुसहित विभिन्न पक्षको विरोध र ध्यानाकर्षणका बीच निगमले मूल्य बढाएको हो ।

यही क्रममा निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको हो ।


Advertisement

नयाँ मूल्यअनुसार काठमाडौंका उपभोक्ताले आजदेखि पेट्रोल किन्न प्रतिलिटर रु ११६ रुपैयाँ खर्चिनुपर्नेछ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।


Advertisement

 मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको बताइएको छ ।
मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा रु ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्