भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सरकारबीच वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलवार साँझसम्म या बुधवार सम्ममा विद्रोही नेकपाले वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ ।
प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टोली गठनको तयारी भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारले पनि मन्त्रीस्तरको वार्ताटोली बनाउने समझदारी भएको स्रोतको दाबी छ ।
सरकार पक्षले पनि प्रतिबन्धित नेकपासँग छिट्टै वार्ताको तयारी भइरहेको बताउँदै आएको छ । आइतवार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै वार्ता हुने बताएका थिए ।
सोमवार पोखरामा आयोजित कार्यक्रममा पनि ओलीले विस्लवसँग वार्ताको तयारी भएको दोहोर्याएका थिए । फागुन ८ गते विप्लवले विज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।
लोकान्तर संवाददाता