दोभान बजारका आगलागी पीडित परिवारबाट क्षतिको विवरण संकलन शुरू

ताप्लेजुङको मेरिङन गाउँपालिकास्थित दोभान बजारका आगलागी पीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 


Advertisement

आगलागीबाट पीडित ५ जना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार र ५ जनाभन्दा बढी परिवार भएकालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ । 
 
राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाइने निर्णय भएको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा संघसंस्थाले मेरिङदेन गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय भएको छ ।

बुधवार नै १ नम्बर प्रदेशका मुख्यमन्त्री सहितको टोली राहत लिएर आगलागी क्षेत्रमा आउने बताइएको छ । अहिले दिउँसो केही राहतका प्याकेज लिएर मुख्यमन्त्री शेरधन राई सहितको टोली आउने प्रजिअ पाण्डेले जानकारी दिए ।

पीडित परिवारको दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा समेत योजना बनाएर अघि बढ्ने तयारी भएको छ । मंगलवार बिहान ९ बजेदेखि भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए ।

आगलागी भएका घरमा डेरा बस्नेसमेत गरी ५५ परिवार विस्थापित बनेको प्रारम्भिक तथ्यांक बाहिर आएको छ । क्षतिको थप विस्तृत विवरण संकलन भइरहेको मेरिङदेन गाउँपालिकाले जनाएको छ । पीडित परिवारलाई तत्कालका लागि आवास र खाद्यान्नको व्यवस्थापन मेरिङदेन गाउँपालिका, उद्योग वाणिज्य संघ र रेडक्रसले मिलाएका छन् । 

आगलागीको क्षति विवरण संकलन शुरू भएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्नका लागि गाउँपालिकाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेको गाउँपालिका—३ का वडाध्यक्ष गरेणशप्रसाद भण्डारीले बताए । उनले भने, ‘गाउँपालिकाले विवरण संकलन गर्न समितिलाई जिम्मा दिएका छौं । कहिलेसम्ममा क्षतिको विवरण सार्वजनिक गर्नहुन्छ ।’

विवरण सार्वजनिक नभएसम्म आगलागी भएको बजारमा अनावश्यक प्रवेश निषेध गरिएको भण्डारीले जानकारी दिए ।

बिहान ११ बजेबाट विवरण संकलन कार्य भइरहेको विवरण संकलन समिति संयोजक तथा मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । उनले भने, ‘हामी क्षति विवरण संकलन समिति संकलनमा लागिपरेका छौं । बेलुकीको ५ बजेसम्ममा सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्छौं ।’

आगलागी विस्थापित परिवारलाई मेरिङदेन गाउँपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद राहत मंगलवार बेलुका नै वितरण गरेका वडाध्यक्ष गणेशप्रसाद भण्डारीले बताए ।

नेपाल रेडक्रस ताप्लेजुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङले खाद्यान तथा कपडा वितरण गरेको  भण्डारीले जानकारी दिए । विस्थापित परिवार नजिकको छिमेकीमा बस्ने व्यवस्था मिलाएर बसेको भण्डारीले जानकारी दिए । अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको ताप्लेजुङ प्रहरी कार्यालय प्रमुख बालरनसिंह राणाले जानकारी दिए ।

आगलागीबाट ५० घर जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्