औद्योगिक क्षेत्र शिलान्यास गर्ने स्थानमा स्थानीयको नाराबाजी

रूपन्देहीको मोतीपुरमा शुक्रवार शिलान्यास गर्ने तयारी रहेको मोतीपुर औद्योगिक क्षेत्रमा तनाव भएको छ ।

स्थानीयले आफू व्यवस्थान नगरी औद्योगिक क्षेत्र बनाउन थालिएको भन्दै शिलान्यास स्थल नजिकै नाराबाजी गरेका छन् । 


Advertisement

औद्योगिक क्षेत्रको आज अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम छ । 

 बिहीबार शिलान्यासको लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएका थिए । उक्त स्थानमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । स्थानीयको वैकल्पिक वैकल्पिक व्यवस्था नभएसम्म र मुआब्जा नदिएसम्म शिलान्यास गर्न नदिने भन्दै स्थानीयले नाराबाजी गरिरहेका छन् ।


Advertisement

संघर्ष समितिका रामप्रसाद पाण्डेले राज्यबाट गाँसबास कपासको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन नदिने बताए । २०२२ देखि किसानले जोगभोग गरेको जग्गाको लालपुर्जा सरकारको नाममा गराएर लुट्ने काम भएको आरोप लगाए ।

अवरोध भए पनि शिलान्यास गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।  ८१३ बिगाहा क्षेत्रफलमा ५ वर्षभित्र अनुमानित ८ अर्बको लागतमा निर्माण हुन लागिरहेको मोतिपुर औद्योगिक क्षेत्रमा ५ सय ४४ औद्योगिक प्लट हुनेछन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई ३ सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिको क्षेत्रफललाई समेट्ने गरी बन्न लागेको औद्योगिक क्षेत्र २०४१ साल यताको पहिलो हुनेछ । 

तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्साटिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर ती प्लटको निर्माण गरिने छ । ‘ए’ सेक्टरमा १ सय ३० प्लट निर्माण हुनेछन् । सबैभन्दा ठूलो ‘बी’ सेक्टरमा २ सय ६२ प्लट र ‘सी’ सेक्टरमा १ सय ५२ प्लट बन्नेछन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्