
आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा रु ८० करोड ३७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि तोकिएको लक्ष्यको १८९.७ प्रतिशत हो । उक्त कार्यालयले माघ मसान्तसम्ममा रु २५ करोड ४३ लाख ४० हजार राजश्व उठाउने लक्ष्य लिए पनि रु ४८ करोड २३ लाख ५७ हजार सङ्कलन गर्न सफल भएको हो ।
चालू आवमा कूल रु ८६ करोड २० लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा सात महिनामै प्रगति वार्षिक लक्ष्यको नजिक पुगेको कार्यालयका प्रमुख कर अधिकृत जनक शर्माले बताए। बहाल करतर्फ रु एक करोड ११ लाख ५५ हजार सङ्कलन गर्ने लक्ष्य तोकिएकामा रु एक करोड सात लाख १९ हजार सङ्कलन भएको जनाइएको छ । यस्तै ब्याजकरतर्फ रु पाँच करोड ७६ लाख ८० हजार लक्ष्य तोकिएकामा रु सात करोड १९ लाख ४४ हजार, मूल्य अभिवृद्धि करतर्फ माघसम्ममा रु १० करोड ६९ लाख ८९ लाख सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु २२ करोड सात लाख ३९ हजार सङ्कलन भएको छ ।
मूल्य अभिवृद्धि करतर्फ २०६.३ प्रतिशत प्रगति भएको हो । अन्तःशुल्क करतर्फ रु एक करोड आठ लाख ७७ हजार राजश्व सङ्कलनको लक्ष्य तोकिएकामा रु एक करोड ६८ लाख ५८ हजार सङ्कलन भएको छ । लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएकाले आउँदो वर्ष लक्ष्य थपिने प्रमुख कर अधिकृत शर्माको भनाइ छ ।