'प्रचण्डको राजनीति सकियो भनेको सुन्दा हाँसो लाग्छ'

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

केही खुंखार ज्योतिषीहरू भन्छन्- 'अब प्रचण्डको राजनीति सकिन लाग्यो।' मलाई भने प्रचण्डको राजनीति भर्खरै शुरू भएको जस्तो लाग्छ। शायद प्रचण्डको टाउको कसैले झोलामा हालेर शेरबहादुर देउवासमक्ष पहिले नै बुझाउन सकेको भए प्रचण्डको राजनीति मात्र हैन प्रचण्डको भौतिक अवस्थिति नै सकिने थियो । तर हेर्नुहोस् त राजनीति, आज प्रचण्डको टाउको लेऊ र झोलाभरी पैसा लिएर जाऊ भन्ने तिनै देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्ड दौडधूप गरिरहेका छन्।

प्रचण्डले खप्परमा नै लेखेर आएका कारण उनी पनि एकदिन भौतिक रूपमा गिरिजाबाबुजस्तै सकिएलान्। एकबारको मानव जुनी त कसको पो अमर छ र ? अमर लामा नाम गरेका मान्छे पनि जेलबाट निस्किनासाथ अमर रहिरहन सकेनन्, खै किन हो ! तर राजनीतिक रूपमा प्रचण्ड सकिन यो पृथ्वी ध्वस्त हुनुपर्छ। यसो भन्दै गर्दा के भनेको होला पागलले जस्तो अन्टसन्ट कुरा गर्ने भन्नु होला। प्रचण्डको त यो नाफाको जिन्दगी हो। धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक समावेशी नेपाल आदि नेपाली जनताको आधारभूत जिन्दगी हो।


Advertisement

अब यस्तो कुरा थाहा पाउन २१ औँ शताब्दीको नेपाली चेतनाले नभ्याउन सक्छ, तर प्रचण्डको दिमागमा यो कुरा ३० वर्षअगाडि नै पैदा भयो, तब न उनी छविलालबाट प्रचण्ड भए । खड्गप्रसादबाट केपी ओली हुनु केही ठूलो कुरा हैन, तर छविलालबाट प्रचण्ड हुनु सारै ठूलो चमत्कार हो। चाकडी गरेको भने पनि भन्नुहोस्, हनुमान भने पनि भन्नुहोस्, पहिला गाली गर्थिस् अहिले कुन नाकले यस्तो कुरा लेखेको होला भने पनि भन्नुहोस्, तर सत्य कुरा यही हो। सत्य कुरा गर्दा गाली खानुपर्ने प्रचलन छ।

प्रचण्डको राजनीति सकिएको छैन। यस्तो त प्रचण्डको जीवनमा कति भयो कति। प्रचण्डका लागि जोखिम भनेको त तपाईं हामीले बिहान-बेलुका दालभात खाए जस्तै हो। नेपाल एकीकरण गरें भनेर जसरी हामीले पृथ्वीनारायण शाहलाई सम्झिने गर्छौं त्यसरी नै देशमा राजसंस्था अन्त्य गराएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने अनि जनताको संविधान बनाउने भनेर इतिहासले मूलत: प्रचण्डलाई नै सम्झिनेछ।

बरु राजनीति सकिने, तिनको इतिहासमा सम्झिनलायक कुनै घटनाक्रमहरू, योगदानहरू नहुने तिनै पात्रहरू हुन्, जसले बारम्बार राजनीतिक उपलब्धिमाथि निर्मम प्रहार गरिरहेका छन्। मलाई लाग्छ संविधान र लोकतन्त्रको घाँटी निमोठ्नेहरूलाई संसारमा कतै स्मरण गरिएको पाइन्न । हाम्रो राणाजीहरूको चर्चा त्यति हुँदैन जति बीपी कोइरालाको हुन्छ। के कांग्रेसमा बीपी कोइराला मात्र थिए त ? थिएनन् नि ! तर जनताको प्रजातान्त्रिक अधिकारको पक्षमा उभिँदा उनको उचाई नेपाली इतिहासमा अर्कै ढंगको लेखिएको छ।

अपमान जालझेल, तिकडम सबै सहेर पनि पार्टी एकता र कम्युनिस्ट आन्दोलनका लागि अहोरात्र खट्ने प्रचण्डको राजनीति सकिएको हुने, यस्तो कुरा कसरी मिल्छ?

एमाले नेता मदन भण्डारी छोटो आयु बाँचे। धेरै राजनीति गर्न पनि पाएनन्। तर छोटो समयमा नै उनले शासकहरूको होस हवास खाइदिए । दरबारलाई सडकमा आउन चुनौती दिए र गणतन्त्रको माहोल खडा गरिदिए। यसरी उनी भौतिक रूपमा कम तर राजनीतिक रूपमा धेरै बाँचे। राजनीतिक रूपमा धेरै बाँच्नेहरूको नै इतिहास लेखिने हो । भावी पुस्ताले सम्झिने हो। काम न काज सय वर्ष बाँच्नुको खासै अर्थ पनि छैन। आज मदन भण्डारीको विचार जबज भजाएर जनताको आँखामा छारो हालेर राज्यमाथि ब्रह्मलुट गर्नेहरूले प्रचण्डको राजनीति सकियो भन्छन्। मैले मदन भण्डारीको तुलना प्रचण्डसँग गर्न खोजेको हैन। तिनीहरूले कान ठाडो बनाएर, आँखा चम्काएर बुझ्नुपर्छ, मदन भण्डारीलाई सुनियोजित रूपमा मारेर सकेपनि उनको राजनीति सकिएको छैन। इतिहास मेटिएको छैन ।

जनताको राजनीतिक उपलब्धिहरू धर्मनिरपेक्षता, संविधान, लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी, पहिचान तथा जबजको विधि पद्दतिमाथि सुनियोजित प्रहार गर्नेहरूले इतिहास निर्माण गर्न सक्दैनन्, बरु तिनले इतिहासको विघटन गर्ने प्रयास भने गर्छन् । तिनको त्यो घिन लाग्दो प्रयास सतीप्रथा जस्तो इतिहासको कालो समयको रूपमा मात्रै भूलवश स्मरण हुने गर्छ । अहिले दक्षिणपन्थी कित्ताबाट भइरहेको निम्छरो हर्कत इतिहास विघटनकै प्रयास हो। मुलुकलाई फेरि मुलुकी ऐनतिर फर्काउने र जनताको अधिकार चिट्ठीको खामभित्र बन्धक बनाउने प्रयास शिवाय अरू केही हैन। फेरि पनि गम्भीरताका साथ भन्नैपर्छ सामन्त गोयललाई ज्वाइँ समानकै सत्कार गर्ने फोहोरी अतिथि देवोभवहरूको कुनै इतिहास निर्माण हुनै सक्दैन। यस्ता पात्रहरू इतिहासको घटनाक्रममा कहीँ कतै थोरै जोडिएर आउनका लागि पनि लायक हुँदैनन् ।

हो, राजनीतिक घटनाक्रमहरू सोचेको भन्दा अलिक बांगो बग्न थालेपछि हिजोआज सामाजिक सञ्जालमा धेरै देखिने शब्द हो प्रचण्ड सकियो। मिडियाहरूमा व्यापक रूपमा प्रचण्ड सकिएको विश्लेषणात्मक लेखहरू आउन थालेका छन्। राजनीतिक दलका केही नेताले समेत प्रचण्डको राजनीति सकिएको खासखुस गर्न थालेका छन्। तर मलाई त्यस्तो पटक्कै लाग्दैन। अरूलाई लागेको कुरा मलाई नलाग्न पनि त सक्छ नि हैन र ? पृथ्वीले सूर्यलाई घुम्छ भन्ने कुरा पृथ्वीका सारा मनुष्यलाई लागेकै थिएन। तर एकजना खगोलशास्त्री कोपर्निकसलाई चाहिँ पृथ्वी घुम्छ नै भन्ने लागेको थियो। हो न त्यही कोपर्निकस जस्तै हुँ।

कुनैपनि घटनाको कारण हुन्छ। निश्चित गति हुन्छ, त्यसका आयाम हुन्छन् । प्रचण्डको जन्म, उनले सञ्चालन गरेको जनयुद्ध र हालसम्मको प्रगतिशील गतिविधि कुनै वैज्ञानिकले पत्ता लगाएर भएको हैन। हाड र छाला भएकै मानिसले यो सबै गरेको हो। कम्प्युटरको गल्ती हुन्छ तर बुझ्नुपर्ने कुरा कुरा के हो भने गल्ती गर्ने त्यो कम्प्युटर पनि मान्छेले नै बनाएको हो, मान्छेकै कारण कम्प्युटरले गल्ती गरेको हो। प्रचण्ड भगवान त हैनन्, मन्त्र उच्चारण गरेर सबै एकछिनमै चोखो भइहाल्ने, ग्रहदशा काटिने, पुण्य प्राप्त हुने।

गल्ती कमजोरीसहितका दालभात खाने आममानिस जस्तै एउटा मानिस ढिकुरपोखरीमा जन्मिएर नेपाली जनतालाई यतिधेरै स्वतन्त्रताको आभाष दिलाउन सफल भयो । एकाएक एउटा निम्छरो घटनाक्रमले उसको राजनीति कसरी समाप्त भयो। किनकी मानिसहरूको सुख त चिल्लो सडक भएर मात्र त हुँदैन नि ! सबैभन्दा पहिले त अधिकार र न्यायको दृष्टिले, समावेशी र पहिचानको दृष्टिले दिमाग स्वतन्त्र हुनुपर्‍यो, राजनीतिक चेतको उच्च विकास हुनुपर्‍यो र प्रश्नहरूको जन्म गर्न सक्ने समाजको विकास गर्न सक्नुपर्‍यो । यो सबै गरेको प्रचण्डले नै हो। एक हो, दुई हो, तीन हो।

शायद विगतमा प्रचण्डलाई धेरै नेताहरू खासगरी बाबुराम, मोहन वैद्य किरण, सीपी गजुरेल हुँदै, विप्लव, प्रकाण्ड र हाससालै रामबहादुर थापा बादल, टोपबहादुर, मणि लगायतले छाडेका कारण धेरैलाई प्रचण्डको राजनीति सकिएको जस्तो लागेको हुनुपर्छ।

एकता भइसकेको एमाले र माओवादीलाई अदालतले पुरानै घर फर्किएका जाऊ भन्ने राजनीतिक फैसला सुनाएपछि प्रचण्ड सकिएको कुरा झन् पेचिलो बन्दै आएको छ। मानिसहरू राजनीतिक तर्क वितर्कभन्दा पनि व्यक्तिगत रूपमा प्रचण्डतर्फ नै लक्षित गरेर ऊ सकियो अब भन्ने तर्क पेश गरिरहेका छन्। त्यो कुरा बुझेका प्रचण्डले हालसालै भनेका छन्- म छाड्नेवाला छैन, लड्नेवाला छु।

यसकारण प्रचण्डको राजनीति सकिएको कुरा पराजित मानसिकताको उपज हो। बहुमतको के कुरा? जनयुद्ध सञ्चालन गर्दा प्रचण्डसँग कति मान्छे थिए? जनयुद्धको कुरा छाडौँ संविधान र गणतन्त्रको घोषणा गर्दा पनि प्रचण्डको साथमा कति मानिसहरू थिए? ल छातीमा हात राखेर भनौं त, के साँच्चै केपी ओली संविधान र गणतन्त्रको साथमा थिए त ? अहिले ठूला कुरा गर्ने? प्रचण्डले फकाइफकाइ प्रधानमन्त्रीको आशा देखाएर, कहिले लतारेर आजको अवस्थामा पुर्‍याएको हैन? प्रचण्डले नचाहेको भए ओली प्रधानमन्त्री बन्ने स्थिति थियो त?

ल ठीक छ, प्रचण्डको कार्यशैली यो पनि भएन, त्यो पनि भएन, सबै बिगारे। अब नेतृत्वका तर्फबाट प्रचण्डले गर्नुपर्थ्यो चाहिँ के त ? यदि सीपी गजुरेल र मोहन वैद्यले भनेजस्तै गरेको भए जन संविधानका लागि अझै संघर्ष गर्नुपर्थ्यो। यही संविधान त आफूले भने जस्तो बनाउन नसकेर आफ्ना केही 'फरक मत' दर्ता गरेर संविधान जारी गर्नुपर्‍यो । नेतृत्वले चलाखीपूर्ण तरिकाले रणनीति नबनाएको भए यही संविधान पनि बन्ने थिएन । गणतन्त्र नेपाल पनि घोषणा हुने थिएन। थाहा भएकै कुरा हो, कुन दु:खका साथ दुईपटक निर्वाचन गराएर संविधान धोषणा गर्नुपरेको थियो।

मोहन वैद्य किरण र सीपी गजुरेल त जेलमा थिए। जनयुद्ध टिकाउन धेरै गाह्रो भैसकेको थियो। आफूहरूले पूरै जित्न नसकेको अवस्थामा १२ बुँदे सम्झौता गरेर अन्य दलहरूसँग सहकार्य गरेर आन्दोलनको रक्षा गर्नुपर्‍यो यसकारण त्यो न हार र न जीतको अवस्था थियो। संविधान नै घोषणा गर्न मुस्किल भएको अवस्थामा न जनवादको सम्भावना थियो न थप विद्रहोको । जनताहरू शान्तिको पर्खाइमा थिए। दुवै पक्षमा क्षति भइरहेको थियो। घरेलु तथा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा बदलाव थियो । यदि विद्रोहको सम्भावना थियो र, आजको मितिमा पनि छ भने अझैपनि वैद्य सीपीहरूले गरे हुन्छ नि त । के हेरेर कोठामा हिटर तापेर बसेको नि ?

अब विप्लवले भने जस्तै क्रान्ति वा शहरी विद्रोह सम्भव थियो कि थिएन त्यो त अहिले नै देखिएको छ। मलाई पनि मन पर्ने नेता भएका कारण विप्लवको धेरै आलोचना गर्न चाहन्न तर संविधान विघटन गरेको तथा सारा नागरिक समाज, बुद्धिजीवीहरूले प्रतिगामी करार गरेका केपी ओलीसँग हतारहतारमा वार्ता गरेर अझै पनि क्रान्ति र अग्रगमनको कुरा गर्नु केवल नाटकशिवाय केही हैन। प्रचण्डले भनिरहेकै छन्, 'इतिहासमा एकैपटक दुईवटा प्रचण्ड हुन सक्दैनन्। हुन सके देखाए भैहाल्यो नि !' टेलिभिजनमा डकुमेन्ट्री हेरेजस्तो क्रान्ति सजिलैसँग हुने भए एक वर्षको बीचमा विप्लवका प्रायः सबै मुख्य नेताहरू पक्राउ पर्ने थिएनन् होला। तिनीहरू रक्षात्मक बनेर हतार-हतारमा वार्ता गर्न ओराली लागेको मृग जस्तै हाम्फालेका हुन्।

अनि प्रचण्डले केही पनि गर्न सकेन, सबै बिगार्‍यो, यति अर्ब पैसा यता लगेर राख्यो, यति महल बनायो, आत्मसमर्पण गर्‍यो के भनेको त्यो ? के गर्नुपर्ने थियो त? के शान्ति सम्झौताविपरीत फेरि उही मर्ने र मार्ने खेल खेलिनुपर्थ्यो? के फेरि पनि शसस्त्र संघर्ष नै गर्नुपर्थ्यो ? प्रचण्डले चाह्यो भने अहिले पनि हजारौं मानिसहरू बलिदान दिन तयार छन्। युवा पुस्ताले आफ्नो अधिकारबारे झन् धेरै कुरा बुझेको छ । जुझारू छ। तर के लोकतान्त्रिक पद्दति मानेर आइसकेपछि यो सम्भव छ त ? त्यो हुँदैन। त्यो हुँदैन भनेर थाहा पाएरै बाबुराम एकाएक शान्तिप्रिय बन्न पुगेका हुन्, किनकी उनलाई थप तनाव भोग्नु, थप नहुने काम गर्नु नै थिएन ।

विप्लव समूहका प्रकाण्डले एकीकृत जनक्रान्तिको नाममा को-को व्यापारी, ठेकेदारबाट कति पैसा उठाए त्यो पैसा कता के गरे यहाँ लेखेर खासै फाइदा छैन, तर गणतन्त्रका लागि उनीहरूको पनि योगदान निकै महत्त्वपूर्ण छ। आफूले नै जन्माएको बच्चा बीचैमा छाडेर धेरै यसो घुमफिर गर्न गए। तर प्रचण्डले अरूकै स्तन चुसाएर भएपनि हुर्काएर राखे। मर्न दिनु त भएन नि ! अहिले केपी ओलीले दूध चुसाउने नामको मात्र हो।

आफूहरू सकिएको नदेख्ने, बरु आन्दोलनलाई जोगाउँदै रक्षात्मक बन्दै फेरि तंग्रिदै फेरि टाउको उठाउँदै क्रमभंग गर्दै हिँडेका प्रचण्डलाई अब त यसको राजनीति सकियो भन्ने? बरु आफूलाई नै मार्न हिँडेकाहरूलाई राजनीतिको मूलधारमा ल्याउने प्रचण्ड हैनन् ? यिनीहरूले बहिस्कार गरेको निर्वाचनमा प्रचण्ड चढेको गाडीलक्षित बम प्रहार कसको योजनामा भएको थियो ?

विभिन्न राजनीतिक दलहरूसँगै सहकार्य गरेर राजतन्त्रको अन्त्य भएको हो। युद्ध सहायक हो तर प्रधान जनआन्दोलन नै थियो। यसकारण बरु प्रचण्डले लोकतान्त्रिक पद्दतिमार्फत देशलाई निकास दिने, प्राप्त उपलब्धिहरू जोगाउने प्रयास गर्दा आफूले धेरै कुरा गुमाएका छन्। ज- जसले बीचमा पार्टी छाडेर गए उनीहरूले प्रचण्डले भन्दा धेरै फरक गर्छु भनेर गएकै हुन्। हालका गृहमन्त्री रामबहादुर थापा बादलले समेत क्रान्ति गर्ने भनेर केही समय अगाडिसम्म भूमिगत जस्तै भएर मतपेटिकामा बञ्चरो हानेको हैन?

बरु भूमिगत जस्तै हुन गएका बादललाई बोलाएर फेरि राजनीतिको मूलधारमा ल्याएर आज एमालेको दोस्रो तहको नेता हुने आधार पाइसके। विप्लवहरू पनि मिल्छन् कि जस्तो छ। घाम र जुनको भेट भयो भन्दै बडो साहित्य छाँटेका थिए विप्लवले। यसरी आफूहरू सकिएको नदेख्ने, बरु आन्दोलनलाई जोगाउँदै रक्षात्मक बन्दै फेरि तंग्रिदै फेरि टाउको उठाउँदै क्रमभंग गर्दै हिँडेका प्रचण्डलाई अब त यसको राजनीति सकियो भन्ने? बरु आफूलाई नै मार्न हिँडेकाहरूलाई राजनीतिको मूलधारमा ल्याउने प्रचण्ड हैनन् ? यिनीहरूले बहिस्कार गरेको निर्वाचनमा प्रचण्ड चढेको गाडीलक्षित बम प्रहार कसको योजनामा भएको थियो ?

ल पुरानो कुरा धेरै विश्लेषण नगरौं, पछिल्ला घटनाक्रमकै उदाहरण दिऊँ । कम्युनिस्ट एकताका निम्ति प्रचण्डले जुन प्रकारको पहलकदमी लिए त्यो सकिएको हो र ? सकिएको भएरै केपी ओलीलाई दुई-दुईपटक प्रधानमन्त्री त्यो पनि स्पष्ट बहुमतका साथ बनाए । के प्रचण्डको राजनीति सकिएर यस्तो भएको हो ? आलोपालोको सरकारको सहमति पनि छाडेर ओलीलाई सम्मानपूर्वक पहिलो र दोस्रोपटक नै प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको प्रचण्डले नै हैन र? अनि माधव नेपाल दुई-दुईपटक चुनाव हार्दा पनि प्रधानमन्त्री बनाउन भूमिका खेल्ने, झलनाथलाई प्रधानमन्त्री लगायत राष्ट्रपति सबैलाई प्रस्ताव गर्ने प्रचण्डलाई अब राजनीति सकिएको भन्ने कि 'गेम चेञ्जर' खेलाडीका रूपमा ग्रहण गर्ने?

अब केपी ओलीले नै प्रधानमन्त्री भएपश्चात अर्को खेल खेल्न थाले त त्यो कसरी प्रचण्डको राजनीति समाप्त भएको भयो ? इतिहासले को के-कस्तो भनेर समीक्षा गर्ला नि त! संसद् विघटन गर्ने, पार्टी विघटनको योजना बनाउने केपी ओली पूरै राजनीतिक भविष्यको ठेक्का नै पाएको ठेकेदार हुने तर अपमान जालझेल, तिकडम सबै सहेर पनि पार्टी एकता र कम्युनिस्ट आन्दोलनका लागि अहोरात्र खट्ने प्रचण्डको राजनीति सकिएको हुने, यस्तो कुरा कसरी मिल्छ?

शायद सयौं वर्ष लामो कम्युनिस्ट रामराज्यको सपना देखेर निर्माण गरिएको नेकपा नामको जिनिस विघटन भएपछि मानिसहरूलाई प्रचण्डको राजनीति सकिएको जस्तो लागेको हुन सक्छ। तर हेर्नुहोस्, एउटा कुरा के हो भने प्रचण्डको राजनीति सकिनका लागि पृथ्वी ध्वस्त हुनुपर्छ। पृथ्वी ध्वस्त नभएसम्म प्रचण्डको राजनीति सकिन गाह्रो छ। प्रचण्ड बन्छु भनेर गएकाहरू आखिरीमा केपी ओली बनेर निस्किए, तर प्रचण्ड सदाबहार प्रचण्ड नै छन्।

संविधान मास्न खोस्ने, आफू प्रधानमन्त्री बन्न र आफ्ना प्रिय पात्रलाई राष्ट्रपति बनाउन पार्टी विघटन गरेर नक्कली एकता गर्ने, संसद्माथि प्रहार गर्ने, यस्ता अराजनैतिक को-इन्सिडेन्टमा पैदा भएका मानिसहरूले प्रचण्डको राजनीति सकियो भनेको सुन्दा हाँसो लाग्छ। अब त झन् प्रचण्डको राजनीति सशक्त बन्नुपर्ने बेला आएको छ। जनताको बलिदानी र संघर्षबाट आएको उपलब्धिमाथि गिद्दे नजर लागेको छ। कम्युनिस्ट शक्तिहरू जसलाई जनताले स्पष्ट बहुमत दिएर पठाएका थिए, ती छिन्नभिन्न भएका छन्। जनतामा चरम निराशा छ । प्रतिगमन हावी भएको छ । बाह्य हस्तक्षेप नांगो छ। यी सबै चिजहरूको व्यवस्थापन प्रचण्डबाट मात्रै सम्भव छ । ढाँटेको हैन, प्रचण्डको राजनीति सकियो भनेको सुन्दा मलाई साँच्चै बेस्सरी हाँसो लाग्छ ।

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्