पुरस्कृत हुन काम गरेका होइनौं, हाम्रा काम उत्कृष्ट ठहरिएका हुन्– नगर प्रमुख घिमिरे [अन्तर्वार्ता]

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

– पुरस्कार प्राप्तिको सफलताको श्रेय नगरवासीमा जान्छ । 
– परिवर्तनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नेतृत्वको इच्छाशक्ति नै हो ।
– फरक शैली र व्यवहारले काम गर्नु अहिलेको अपरिहार्यता हो ।
– कुनै कुराको जोखिम लिन नचाहने हो भने हामी पुरानै अवस्थामा रहन्छौं ।
– सामाजिक विकास सबैभन्दा ठूलो विषय हो भन्ने मलाई लाग्छ ।
– असल नियतले बहुसंख्यकलाई हित गर्नेगरी काम गर्दा जनसमर्थन प्राप्त हुँदो रहेछ । 
– नगरवासीलाई शासनको सुखद् अनुभुति दिलाउने हामीहरूको पहिलो प्रयत्न रहँदै आएको छ ।
– अभिभावकीय सरकारको अनुभूति दिनेगरी कार्यसम्पादन गर्दै आएका छौं ।  
– सधैँ पुरस्कृत होउँला वा नहोउँला तर हामीहरूको उत्कृष्टता सधैं बाँचिरहन्छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका नेपालकै चर्चित नगरपालिकामा परेको छ । स्थानीय सरकार बनेदेखि रचनात्मक र जनमुखी कार्यक्रम ल्याएर तिलोत्तमा चर्चामा आएको हो । बुटवल र भैरहवाको मध्य भागमा अवस्थित यस नगरपालिकाले विकास निर्माणमा मात्रै होइन, सामाजिक र वातावरणीय क्षेत्रमा पनि उत्तिकै सकारात्मक काम गरेको छ । 


Advertisement

देशभरका महानगर, उप–महानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत समेत गरेको छ । काठमाडौंमा हालै आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए  ।

उत्कृष्ट नगरपालिका घोषित हुनका लागि तिलोत्तमाले त्यस्तो विशेष के–के काम गर्‍यो ? तिलोत्तमामा कसरी काम हुन्छ ? यिनै विषयमा नगर प्रमुख वासुदेव घिमिरेसँग लोकान्तरकर्मी प्रकाश आचार्यले कुराकानी गरेका छन् ।


Advertisement

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तिलोत्तमा नगरपालिका उत्कृष्ट नगरपालिकाको रूपमा पुरस्कृत भएको छ । खासमा तपाईंहरू नै उत्कृष्ट किन हुनुभयो होला ? कारण के छ ?

हो, तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्राप्त गरेको छ । पुरस्कार प्राप्त गर्दा खुशी लागेको छ र अझै रचनात्मक काम गर्नुपर्छ भन्ने प्रेरणा समेत मिलेको छ ।

देशभरका महानगर, उप–महानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०७६/७७ मा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेकाले त्यसको उच्च मूल्यांकन गर्दै हामीलाई उत्कृष्ट नगरपालिका पुरस्कार– २०७७ प्रदान गरेको हो । संघले विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा पुरस्कार प्रदान गर्दै आएको छ ।

सरोकारवाला, विज्ञको मूल्यांकन समूहले हाम्रो नगरपालिकाले सम्पादन गर्दै आएका कामहरूको मूल्यांकन गर्दा अन्य नगरपालिकाको तुलनामा राम्रो रहेकाले पुरस्कारका लागि सिफारिश गरेअनुसार हामीले यो पुरस्कार प्राप्त गरेका हौं । खासमा हामीले यो कारणले पुरस्कार पाएका हौं भन्दा पनि हामीले गरेका काम पुरस्कारका लागि योग्य भएछन् भन्ने मलाई लाग्छ, किनकी पुरस्कारका लागि अन्य नगरपालिकाहरू पनि हुनुहुन्थ्यो तर त्यसमा हामी छनौटमा पर्‍यौं ।

यसर्थ तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिहरूको नेतृत्वमा यहाँका सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विकास साझेदार, सञ्चारकर्मी, टोल विकास संस्था, सामाजिक संघ—संस्था, क्लब, आमा समूहलगायत सम्पूर्ण नगरवासीले गरेका काम, हामीले राखेका सोच, दृष्टिकोणका आधारमा तिलोत्तमा नगरपालिका उत्कृष्ट नगरपालिका हुन सफल भएको हो । म यो सफलता सबै नगरवासीमा साट्दै आगामी दिनमा नगरको समृद्धि र नगरवासीको खुशीका लागि यहाँहरूसँगकै सहकार्यमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । 

स्थानीय तहमा सुशासनको प्रश्न व्यापक रूपमा उठ्ने गरेको छ । तिलोत्तमामा शहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा कस्ता काम भएका छन् ? 

सर्वप्रथम त हामीले नगरका हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्दै आएका छौं । सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई नागरवासीलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो–छरितो, सरल एवं न्यायिक रूपमा उपलब्ध गराउँदै आएका छौं । आमनगरवासीलाई शासनको सुखद् अनुभुति दिलाउने हामीहरूको पहिलो प्रयत्न रहँदै आएको छ ।

जनमुखी एवं पारदर्शी कार्यसम्पादन सुशासनको पहिलो आधार स्तम्भ हो भन्ने मलाई लाग्छ । हामीले नगरका निर्णय, बजेट कार्यान्वयन सबैलाई पारदर्शी बनाउने गरेका छौं ।

यसका लागि हरेक कार्यपालिका बैठकका निर्णयहरू सार्वजनिक गर्ने, समय–समयमा सार्वजनिक सुनुवाई गर्ने, नगरवासीका गुनासाहरू सुन्ने र सम्बोधन गर्ने, विभिन्न मोबाइल एपहरू प्रयोगमा ल्याउने लगायतका कामहरू हामीले सुशासन प्रबर्द्धनको लागि गर्दै आएका छौं भने अब छिट्टै घरनक्सा र राजस्वलाई अनलाइन सिस्टममा लैजाँदै छौं ।

यस्तै कार्यालय परिसरमै बैंकको काउन्टर राखेर नगरपालिकालाई क्यासलेस नगरपालिका बनाएका छौं ।

मुखपत्रको नियमित प्रकाशन गरी हाम्रा गतिविधि, निर्णय, सार्वजनिक महत्त्वको विषयलाई नगरवासी समक्ष पुर्‍याउँदै आएका छौं । 

बुटवल र भैरहवा ठूला शहरका बीचमा तिलोत्तमा नगरपालिका छ । ती दुवैलाई ओझेलमा पारेर तिलोत्तमाको नाम आइरह्यो । खासमा तपाईंहरूले काम कसरी गर्नुहुन्छ ? 

स्थानीय तहको समृद्धि र प्रगतिका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नेतृत्वको इच्छाशक्ति नै हो । परिवर्तनका लागि सबैमा इच्छाशक्ति हुनुपर्छ । सबैभन्दा पहिला नेतृत्वकर्तामा इच्छाशक्ति चाहिन्छ । म गर्छु, गरेमा सम्भव छ, अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने भावना हुनुपर्छ । हिजो जे गरियो त्यही तरिकाले आज काम गर्दा परिवर्तन आउन सक्दैन । फरकशैली र व्यवहारले काम गर्नु अहिलेको अपरिहार्यता हो भन्ने मलाई लाग्छ ।

पुरानै तरिकाले काम गर्ने, कुनै कुराको जोखिम लिन नचाहने प्रवृत्तिले हामी पुरानै अवस्थामा रहन्छौं । अरूको कुरा सुन्ने, अरूका सुझाव लिने गरियो भने पनि फरक तरिकाले काम गर्न सकिन्छ । तिलोत्तमा नगरपालिकामा हामीहरूले सधैँ नगरवासीलाई माथि राखेर काम गर्ने गरेका छौं । हामीहरूको यही कार्यशैली र नगरवासीको सहयोग, सुझाव, सहकार्यले नै हामीले केही फरक काम र अभ्यास गर्न सकेका हौं ।

हाम्रो मुलुकमा विकास भनेको केवल सडक कालोपत्रेलाई मात्र मान्ने आमप्रवृत्ति छ । सामाजिक विकास सबैभन्दा ठूलो विषय हो भन्ने मलाई लाग्छ । भौतिक पूर्वाधारलाई टिकाइराख्न पनि मानिसमा सामाजिक विकास अपरिहार्य छ । यसलाई नेतृत्वले बुझ्न सकेमा परिवर्तनलाई अलि छिटो नजिक ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ ।  

तिलोत्तमा नयाँ नगरपालिका भएकाले जे काम गरे पनि देखिने र चर्चा हुने गरेको हो पनि भन्छन् नि ?

मलाई त्यस्तो लाग्दैन । नयाँ नगरपालिकामा अझ काम गर्न कठिन हुनुपर्ने होइन र ? पुराना त संस्थागत भैसकेका हुन्छन् । आधारभूत कुराको व्यवस्था भैसकेको हुन्छ । उनीहरूलाई नयाँ काम गर्न सजिलो हुनुपर्ने होइन र ? नयाँ नगरपालिकामा त भौतिक संरचना, पूर्वाधार, जनशक्ति सबै व्यवस्थापन गर्नुपर्ने हुन्छ । आधारभूत कुराको व्यवस्थापन गर्दागर्दै नयाँ कुरा गर्न नसक्नु पर्ने हो ।

यहाँलाई थाहै छ नि–साविकका सातवटा गाविस मिलेर २०७१ सालमा बनेको तिलोत्तमाको एक महिनाअघि मात्र प्रमुख प्रशासनिक भवन निर्माण सम्पन्न भएर उद्घाटन भयो ।

जनप्रतिनिधि आएको झण्डै चार वर्षपछि हामी आफ्नो भवनमा सर्‍यौं । यो बीचमा आफ्नो सुविधासम्पन्न कार्यालय नहुँदा हामीलाई कति कठिनाइ भए होला ? हामीले कसरी काम गर्‍यौं होला ? तर, हामीले नयाँ–नयाँ कामको शुरुआत त स्थानीय चुनावबाट निर्वाचित भएदेखि नै गरेका हौं । कार्यालय भवन त एउटा उदाहरण मात्र हो ।

नयाँ नगरपालिका भएकाले हामीलाई काम गर्न तमाम समस्या नआएका होइनन् । तर, हामीहरू ती समस्यासँग जुध्दै यहाँसम्म आएका हौं । हामीले समस्यालाई समस्याको रूपमा, ढिलासुस्ती वा काम नगर्ने बहानाको रूपमा लिएनौं । हामीले समस्यालाई अवसरको रूपमा लियौं । यही कारण हामीले फरक काम गर्न सक्यौं । 

स्थानीय सरकारले कसरी काम गर्दा जनसमर्थन हुँदोरहेछ ? तीन वर्षको अनुभवले के सिकायो ?

वास्तवमा स्थानीय सरकार भनेको जनताको सुख, दुःखको साथी हो । नागरिकलाई सरकारको अनूभूति दिलाउने भनेको स्थानीय सरकारले नै हो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ ।

ऐनमा भएको व्यवस्थाअनुसार काम गर्ने हो भने हामीले नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन सक्छौं । मैले यसअघि नै भनिसकेको छु कि स्थानीय बासिन्दाको साथ, सहयोग र सहकार्यअनुसार काम गर्दा जनसमर्थन प्राप्त हुन्छ । बहुसंख्यकको हितलाई ख्याल गरेर काम गर्दा जनसमर्थन प्राप्त हुँदोरहेछ भन्ने मलाई अनुभूति हुन्छ ।

कतिपय काम गर्दा सीमित व्यक्ति असन्तुष्ट हुन सक्छन् तर त्यो कामले बहुसंख्यकलाई हित गर्छ, त्यसले सामाजिक न्याय स्थापित गर्छ भने हामीले त्यो काम गर्नुपर्छ । यसरी असल नियतले बहुसंख्यकलाई हित गर्नेगरी असल काम, नयाँ काम, सर्वोपरी हितको काम गर्दा जनसमर्थन प्राप्त हुँदो रहेछ भन्ने मलाई अनुभव मिलेको छ । 

तिलोत्तमा र अन्य नगरपालिका वा स्थानीय तहबीच भिन्नता के हो ?

तिलोत्तमा र अन्य नगरपालिका वा स्थानीय तहबीच ठ्याक्कै यो भिन्नता छ भन्ने कुरा त हामीले भन्दा पनि अरूले भन्ने/बुझ्ने/देख्ने/महशुस गर्ने विषय हो जस्तो मलाई लाग्छ ।

सबैलाई आफू अब्बल छु भन्ने लाग्नु अन्यथा होइन । तर, त्यसको मूल्याङ्कन अरूले गर्ने हो । स्थानीय सरकारको रूपमा हामीले स्थानीय कानून निर्माणदेखि पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाउने, काठमाडौंबाहिर पहिलो लगानी सम्मेलन गर्ने, सुशासन, प्रवर्द्धनात्मक अभियानलगायत सबै प्रकारका कामहरू एकसाथ अघि बढाएका छौं ।

नगरपालिकामै बैंक काउण्टर स्थापना गरी क्यासलेस नगरपालिका बनाइएको छ भने पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढिएको छ । नगरवासीलाई सबैभन्दा नजिकको अभिभावकीय सरकारको अनुभूति दिनेगरी हामीले कार्यसम्पादन गर्दै आएका छौं ।  छोटकरीमा भन्दा हामीले शुरूबाटै केही फरक अभ्यास, काम गर्दै आएका छौं । यो नै अरू स्थानीय तह र हामीबीचको खास भिन्नता हो भन्ने मलाई लाग्छ ।   

फरक प्रसंग– चुनावका बेलाका प्रतिबद्धता के कति पूरा गर्नुभयो ? लगानी सम्मेलन पनि गर्नुभयो, के उपलब्धि भयो ?

हामीले चुनावका बेला जे–जस्ता प्रतिबद्धता जनाएका थियौं, त्यसैको आधारमा आफ्ना नीति तथा कार्यक्रम र बजेटलाई केन्द्रित गरेका छौं । चुनावी प्रतिबद्धता अनुसारका काम हामीहरूको प्राथमिकतामा परेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छौं । चुनावका बेला गरिएका धेरैजसो प्रतिबद्धता पूरा भएका छन् । केही प्रतिबद्धताहरू बाँकी कार्यकालमा पूरा हुनेछन् । 

आर्थिक समृद्धिका लागि हामीले तिलोत्तमा लगानी सम्मेलन सम्पन्न गरेका हौं । लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धताअनुसार लगानी आउने क्रम जारी छ । कोरोना महामारीका कारण केही काम प्रभावित भए पनि त्यसले पुनः गति लिँदैछ । लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धताअनुसार दुग्ध प्रशोधन परियोजना, कोल्डस्टोर परियोजना, तिलोत्तमा चक्रपथमा रेल सञ्चालनलगायतका परियोजनाहरू अघि बढेका छन् ।

यी परियोजनाहरू कार्यान्वयनमा आउँदा यहाँको आर्थिक गतिविधि स्वाभाविक रूपमा बढ्नेछ । 

तिलोत्तमा नगरमा बाटो, स्वास्थ्य, खानेपानी, सिँचाइको अवस्था कस्तो छ ?

भौतिक क्षेत्रको रूपमा कुरा गर्नुपर्दा हामीले सडक कालोपत्रे, ग्राभेलदेखि आफ्नै सुविधासम्पन्न प्रमुख प्रशासकीय भवन निर्माण, वडा कार्यालय, स्वास्थ्य संस्थाका भवन निर्माणसम्मका काम गरेका छौं ।

१७ वडाका आफ्नै वडा कार्यालय भवन यही वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको छ । नगरपालिकाको आफ्नै सुविधासम्पन्न सभाहल तथा अतिथि गृह निर्माण गरिएको छ । पर्यापर्यटनको प्रवर्द्धननसँगै नगरपालिकाको आन्तरिक आय बढाउन शंकरनगर वनबाटिकामा बहुउद्देश्यीय भ्यूटावर निर्माण गरिएको छ । 

मोटरेबल पुल निर्माण, कल्भर्ट निर्माण, ह्युमपाइप व्यवस्थापन, सिँचाइकुलो, ढल तथा नाली निर्माण, तटबन्धनलगायतका काम गरिएको छ । नगरको स्रोतबाट नयाँ विद्युतीकरण तथा पुराना पोल विस्थापन, ट्रान्समिटर जडानका काम पनि भएका छन् । 

तिलोत्तमाले शिक्षामा अलि फरक काम गर्दै आएको पाइन्छ । शिक्षामा कस्ता अभ्यास गर्नुभएको छ ? 

शिक्षाको सन्दर्भमा कुरा गर्दा हामीले सामुदायिक विद्यालयका बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन २५ रूपैयाँ बराबरको दिवा खाजाको व्यवस्था गरेका थियौं, अहिले यो विषयलाई संघीय सरकारले समेटेको छ । बालबालिकाहरूलाई टिफिनक्यारी प्रदान गरिनुका साथै सबै सामुदायिक विद्यालयहरूमा एकै प्रकारको रंगरोगन गरिएको छ ।

मावि तह सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी, दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरी सहयोग, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूलाई नगरपालिकाबाट मासिक तीन हजार रूपैयाँ प्रोत्साहन भत्ता थप गरिएको छ । 

नगर प्रमुख छात्रवृत्ति कोषबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १/१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै आइएको छ भने सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । यातायात सञ्चालनका लागि ६ वटा विद्यालयहरूलाई १०/१० लाख अनुदान प्रदान गरिएको छ ।

सबै विद्यालयमा आकर्षक बाल विकास कक्षा व्यवस्थापन गरिएको छ भने स्थानीय पाठ्यक्रम  कार्यान्वयन गरिनुको साथै तिलोत्तमा सिटी कलेज, प्राविधिक शिक्षालय स्थापना पहल गरिएको छ । समग्रमा भन्नुपर्दा सबै सामुदायिक विद्यालयलाई निजी विद्यालय सरहको हैसियतामा पुर्‍याउँदै सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको थप आकर्षण बढाउने गरी काम गरिएको छ । 

बाँकी कार्यकालका लक्ष्य के–कस्ता छन् ? 

हामीले नगरपालिकाको विकास र समृद्धिका लागि हालसम्म शुरू गरेका कामलाई गन्तव्यमा पुर्‍याउँदै संस्थागत गराउने र चुनावका बेलामा गरिएका प्रतिबद्धताहरूलाई कार्यान्वयन गराउने काम बाँकी कार्यकालमा हुनेछन् । नगरपालिकाको सीमित साधन र स्रोतले मात्र विकासका पूर्वाधार बनाउन नसकिने भएकाले यसमा सहयोग गर्न संघीय, प्रदेश सरकार र विकास साझेदार संस्थालाई अनुरोध गरिने छ । 

अरूलाई उदाहरण दिने नमूना काम के छन् ?

हामीले गरेका कतिपय कामहरूलाई नमूनाको रूपमा लिने गरिन्छ । जुन कामलाई अरू पालिकाहरूले पनि अभ्यास गर्नुभएको छ । वास्तवमा एउटा पालिकाले शुरु गरेको असल अभ्यास अर्कोले गर्दै जाने हो भने त्यसले परिवर्तन ल्याउँछ भन्ने मेरो मान्यता छ । जुन काम हामीले पनि गर्ने गरेका छौं ।

मुलुकमै पहिलोपटक स्थानीय कानून निर्माण, पूर्ण सरसफाइउन्मुख नगरपालिका घोषणा, काठमाडौं बाहिर पहिलोपटक लगानी सम्मेलन आयोजना, सामुदायिक विद्यालयमा दिवा खाजा, कलरकोड, छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड, बिरामीलाई चाहिने रगतको सेवा शुल्क भुक्तानी, पशु बीमामा अनुदान, दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रूपैयाँ अनुदान, नगरको स्वीकृतिविना जग्गा प्लटिङमा रोक, नगरको आफ्नै नगर गीत, लोगो निर्माण लगायतका कामहरू नियमित हुँदै आएका भन्दा फरक कामहरू हुन् ।   

स्वास्थ्य र आर्थिक समृद्धिका लागि के–कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?

हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने योजनाका साथ हालसम्म १६ वटामा सरकारी स्वास्थ्य संस्था सञ्चालन गरिएको छ । आनन्दवन स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकास गर्न अस्पताल भवन शिलान्यास भएको छ । नगरमा स्थायी बसोबास भएका व्यक्तिहरूले रक्तसञ्चार सेवा केन्द्रबाट रगत सेवा लिएमा बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाइएको छ ।

नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई एक हजार प्रोत्साहन भत्ता दिने गरिएको छ । गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्याल्सियम चक्की वितरण गरिँदै आइएको छ ।  हरेक पटक गर्भ परीक्षण गराउँदा गर्भवतीलाई उपहार दिनेगरी गर्भवतीसँग उपमेयर कार्यक्रम कार्यान्वयन गरिएको छ । विद्यालयबाटै विद्यार्थीहरूलाई स्वास्थ्य सेवा दिनेगरी १२ विद्यालयमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गरिएको छ । 

आर्थिक समृद्धिको कुरा गर्दा नगरपालिकाले साना उद्योगहरू स्थापना गर्ने उद्देश्यले औद्योगिक ग्राम बनाउने काम पनि अघि बढाएको छ । यी सबै विषयहरू यहाँको आर्थिक विकास र समृद्धिका लागि केन्द्रित छन् ।

हामीले कृषि क्षेत्रको उत्थानका लागि अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउने, दूधमा अनुदान दिने, पशु बीमामा अनुदान दिने, कृषि उपकरणमा अनुदान दिने, बिउबिजनमा अनुदान दिने तमाम कार्यहरू गर्दै आएका छन् । यी कार्यक्रमले यहाँको कृषि क्षेत्रको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको हामीहरूको विश्वास छ । 

अन्त्यमा, उत्कृष्टतालाई बचाउन चुनौती छ नि, त्यसका लागि के गर्नुहुन्छ ?

अवश्य पनि । यो हाम्रो चुनौती मात्र होइन, अवसर पनि हो । तिलोत्तमा उत्कृष्ट नगरपालिका भएपछि नगरवासी तथा अन्य पालिकाका तथा विदेशमा रहेका शुभेच्छुकहरूले पनि फोन, म्यासेन्जरमार्फत बधाई दिँदै अरू थप रचनात्मक कामका लागि सुझाव दिने गर्नुभएको छ । बजेटको सीमितता, प्रचलित ऐन–कानून, जनशक्ति लगायतका कारणले हामीले चाहेका तथा प्राप्त सुझाव अनुसारका कतिपय कामहरू गर्न सकेका छैनौं ।

अबको बाँकी कार्यकालमा हामीले यसअघि चालेका प्रवर्द्धनात्मक अभियान, थालेका विकास निर्माणका कामलाई एउटा गन्तव्यमा पुर्‍याउनु नै हाम्रो पहिलो उद्देश्य रहन्छ । यसो गर्न सकेमा हामी पुरस्कृत होउँला वा नहोउँला त्यो तपशीलको विषय हो, तर हामीहरूको उत्कृष्टता सधैँ बाँचिरहन्छ भन्ने मलाई लाग्छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्