२७ जेठ २०८३, बुधबार

सांसदको प्रश्न : के सरकारले बिजनेश दिने हैसियतै गुमायो ?

सांसदको प्रश्न : के सरकारले बिजनेश दिने हैसियतै गुमायो ?

सांसदहरूले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसद लालकाजी गुरुङले प्रतिनिधि सभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजाभन्दा महान् ठान्ने गरेको आरोप लगाए ।

सांसद लालबहादुर थापाले गत साउन ४, २५ र भदौ २ गतेको बाढी र पहिरोले बाजुरा जिल्लाका विभिन्न नगरपालिकाका वडामा खेतीयोग्य भूमि बगाएको र कयौं विस्थापित भएको भन्दै विस्थापित परिवारलाई पुनःस्थापना गरी उचित राहतको व्यवस्था गर्न माग गरे ।

सांसद बिमला विश्वकर्माले ३ वर्षीय अवधिमा सरकारले गरेका कामको स्वागत गरिन् । सांसद शान्ता चौधरीले विकासप्रेमीहरू खुशीले गद्गद् भएको भन्दै सरकारका कामको प्रशंसा गरिन् ।

सांसद सत्यनारायण शर्मा खनालले बास र गाँस नभएको जात चेपाङ बस्तीहरू चलाउने र भत्काउने काम गरेको बताए । 

सांसद सत्य पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेतलाई धुलोमा मिलाउने कोसिस गरेको आरोप लगाइन् । उनले भनिन्, ‘यतिबेला सिंगै अधिवेशनलाई सरकारले बिजनेशविहीन बनाएको छ । के सरकारले बिजनेश दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुनःस्थापित भइसकेको छैन ।’

सांसद सरलाकुमारी यादवले नेपालबाट दैनिक बालबालिका हराउने क्रम बढ्दै गएको भन्दै आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सरिताकुमारी गिरीले बाल विकास केन्द्रहरूमा कार्यरत शिक्षकले श्रम ऐन अनुसार पारिश्रमिक नपाएको भन्दै आगामी बजेटमा ती शिक्षकका लागि उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सीतादेवी यादवले शान्ति सम्झौताको १४ वर्ष भइसक्दा पनि द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका व्यक्ति र द्वन्द्व पीडितले न्याय नपाएको भन्दै उनीहरूलाई न्याय गरी आत्मसम्मानका साथ बाँच्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुरेशचन्द्र दासले सर्वोच्च न्यायालय र जनताबाट पुरस्कृत ओली सरकारको विकल्प नहुनु दूर्भाग्यपूर्ण र रहस्यमय रहेको बताए । सांसद महन्थ ठाकुरले दिएको एक अन्तर्वार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी स्पष्ट नभएको भनेर अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘म ठाकुरजीसँग सोध्न चाहन्छु कि आज मधेशका जनताहरू संघीयता विरोधी सरकारमा जान चाहँदैन । संघीयता र गणतन्त्रविरोधी सरकारमा जान चाहँदैनन् ।’

सांसद स्मृति नारायण चौधरीले दिल्लीबाट चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाए ।

सांसद सञ्जयकुमार गौतमले बाघ, हात्ती र गैंडाको आंतकले बर्दिया राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ति क्षेत्रमा रहेका बर्दियालीहरू प्रताडित भएको भन्दै मध्यवर्ति क्षेत्रमा काम गर्ने, पर्यटन व्यवसायी तथा स्थानीयको जीवनरक्षाको प्रत्याभूति गर्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्