
देशभर पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १०५ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । चार हजार ३७८ जनाको पिसिआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
तीमध्ये सबैभन्दा बढी काठमाडौँमा १५९, ललितपुरमा ४४ र बाँकेमा ४१ जना रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३८ रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७४ हजार १६५ पुगेको छ । निको हुने दर भने ९७ दशमलव सात प्रतिशत रहेको छ ।
अहिले देशभर तीन हजार ३०६ सक्रिय सङ्क्रमित छन् ।