
काठमाडौंभित्र र बाहिर गर्ने मुख्य नाका कलंकीको बुधवार साँझको अवस्था हेर्दा सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले काठमाडौंमा बसोबास गर्दै आएका हजारौं नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए ।
आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरू भन्दै थिए, ‘भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौं छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विना काम महिनौं यहीँ थन्किनुपर्छ ।’
धेरैले बसको टिकट लिइसकेका, केहीले समूह–समूह बनाएर बस या माइक्रो ‘रिजर्भ’ गरेका र कतिपय कलंकी पुगेपछि केही न केही साधन पाइहाल्छ, त्यसैमा जाऊँला भनेर पनि आएका थिए । सवारीको जोहो नगरी आएकाहरू कलंकीको बाबा पेट्रोल पम्पको अघिल्तिर उभिएका थिए र जुन बस या सवारी साधन आयो त्यसैतिर झुम्मिन्थे र चढिहाल्थे । कुनैले सकिनसकी भरेर लगेका थिए भने कति सवारीका ‘स्टाफ’ ले टिकट देखाएर मात्र भित्र छिर्न दिइरहेका थिए ।
दाङ घर बताउने मनलाल चौधरीले ३ वटा गाडी चढेर पनि ओर्लिए । ती सवारी ‘रिजर्भ’ रहेछन्, उनलाई टिकट मिलेन । अन्तिममा राति साढे ८ बजेको एउटा गाडी भेटियो बुटवलसम्म जाने । त्यसमा पनि सिट त थिएन, मुडामा बसेर जान उनी राजी भए ।
यस्तो हत्ते गरेर किन घर जान लाग्नुभयो ? मैले सोधें । उनको जवाफ थियो, ‘गत साल मैले धेरै दुःख पाएँ । सरकारले गत वर्षको चैतमा ७ दिनका लागि मात्र भनेर लकडाउन गर्यो । हामी घर जाने समय पनि भएन । हामी सर्वसाधारणले त्यही सात दिनमात्र होला भनेरै बुझ्यौं तर पछि त्यस्तो भएन, लकडान साउनसम्मै पुग्यो । न यहाँ काम गर्न पाइयो, न केही खाने कुरा भयो न त घर फर्किन पाइयो । यसपालि पनि त्यस्तै हुन्छ भनेर आजै घर हिँडेको ।’
मजदुरी काम गर्ने धेरैको बुझाइ त्यस्तै छ । सरकारले १ हप्ता मात्र भने पनि यो निषेधाज्ञा कति हप्ता जान्छ थाहा छैन भन्छन् धेरैले । उनीहरूको अनुमान छ – यो हप्तौं, महिनौंसम्म पनि जानसक्छ । त्यसैले आफ्नो गाउँघरमै गयो भने केही काम पाइन सक्छ, नपाइए पनि घरतिरै खेतीको काम गरेर पनि बाँच्न सकिन्छ भन्ने लागेको छ उनीहरूलाई । गाउँ फर्किंदै गरेका धेरैले यही संशय बोकेका छन् ।
यातायात व्यवसायी महासंघका पदाधिकारीका अनुसार सरकारले निषेधाज्ञा गर्ने घोषणा गरेपछिका ३ दिनमा कम्तीमा ५ लाख नागरिकले काठमाडौं छोडेका छन् । यसको यकिन तथ्यांक नरहे पनि त्यतिका संख्यामा राजधानीबासी बाहिरिएको अनुमान छ ।
मंगलवार र बुधवार कलंकी, बल्खु र कोटेश्वरको अवस्था हेर्दा दशैंभन्दा बढी भीडभाड देखिन्थ्यो । अनुमानित ५० लाखको काठमाडौंमध्ये आधाआधी बाहिरिन दशैंमा जस्तो भीड लाग्थ्यो, यो ३ दिन पनि त्यस्तै देखियो ।
बिहीवारदेखि काठमाडौं उपत्यका र विभिन्न शहरमा लागू हुने २ हप्ताको निषेधाज्ञाले कोरोना भाइरस संक्रमण विस्तारको गतिमा कमी आउने अनुमान सरकारको छ । नेपालका जनस्वास्थ्यविद्ले घोषित निषेधाज्ञाको अवधिमा संक्रमण विस्तारको क्रम त घट्छ तर गाडीमा यो भीडभाड गरेर यात्रा गर्ने हो भने यसले शहरी क्षेत्रमा केही सुधार आए पनि गाउँगाउँमा भाइरस भित्रिने बताउँछन् ।
करीब २ हप्तायतादेखि नेपालमा देखिएको कोरोना संक्रमणको दरमात्र होइन यसको असर पनि अत्यधिक संक्रामक रहेको जनस्वास्थ्यविद्हरूको दाबी छ । उनीहरूका अनुसार नेपालमा हाल ‘यूके भेरियन्ट’, ‘डबल म्युटेन्ट भेरिएन्ट’ देखिसकिएको छ । यति मात्र नभएर उनीहरू हाल भारतमा पुष्टि भइसकेको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’ समेत हुनसक्ने आशंका उनीहरूको छ । भारतका स्वास्थ्यविज्ञले डबल म्युटेन्ट मात्र नभई ट्रिपल म्युटेन्ट समेत बढेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिनहुँ भाइरस संक्रमणका तथ्यांक बढेर आउन थालेपछि गरेको एक अध्ययनअनुसार अहिले कोरोना देखिएका एक व्यक्तिले यो संक्रमण २ भन्दा बढी व्यक्तिलाई सारिरहेको देखिएको छ ।
‘संक्रमणको विस्तार ज्यामितीय दरमा भइरहेको र भाइरसको संक्रमणको ‘चेन’ तोड्न अहिले नै अत्यावश्यक काम बाहेकका अरु सबै सेवा बन्द गरेर नागरिकलाई घरघरमै राख्नु बाहेकको अर्काे विकल्प छैन,’ प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने ।
अध्ययनपछि मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउनुपर्ने निर्णयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू करीब २ हप्ता अघि नै पुगिसकेका थिए । प्रा.डा. गौतम भन्छन्, ‘पहिलेको भन्दा यसवर्ष निकै घातक रूपमा महामारी बढिरहेकोले अब यसको चेन ब्रेक गर्न निषेधाज्ञा बाहेकको अर्काे विकल्प नै देखिँदैन ।’
नेपाल सरकार पनि पछिल्लोपटक आएको यो दोस्रो वेभ भनिएको महामारीले प्रभाव फैलाइरहेका देशका १५ जिल्लालाई बढी जोखिमको सूचीमा राखेर निषेधाज्ञाको निर्णयमा पुगेको हो । काठमाडौं उपत्यकामा पनि बिहीवार बिहान ६ बजेदेखि निषेधाज्ञा शुरू भएको छ र सरकारी कार्यालयले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।
सार्वजनिक यातायात बिहानैदेखि बन्द भएका छन् भने विद्यालय, कलेजहरू सरकारले अघिल्लो हप्ता नै बन्द गरिसकेको छ । बिहीवार बिहानको अवस्था हेर्दा सबैतिर बन्दै देखिन्छ । नागरिकको मानसिकता बुझ्दा उनीहरू यहाँको अवस्था अघिल्लो वर्षको लकडाउनको जस्तो हुने त्रासमा छन् ।
विज्ञहरू तत्कालको निषेधाज्ञ महामारी रोक्न प्रभावकारी साधन रहेको बताउँछन् । उनीहरू सबैलाई खोप लगाउनुपर्ने, अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने, कन्ट्याक ट्रेसिङबाट संक्रमितका वरिपरिका मानिसहरूको नजिक पुग्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, बिरामीलाई उपयुक्त स्वास्थ्य उपचारको सुविधा हुनुपर्ने सुझाव दिन्छन् ।
स्थितिमा सुधार आउनका लागि निषेधाज्ञाको प्रभावकारिता अझै बढाउनुपर्ने र १ देखि अर्काे शहरको आवतजावत तथा १ देखि अर्को मानिसको भेटलाई टुटाउनुपर्ने उनीहरूको सुझाव छ । २ हप्तामा यसको प्रभाव देखिन थाल्ने र अहिलेलाई यति समय पर्याप्तजस्तो लागे पनि २ हप्तामा कोभिडका संक्रमितहरू घट्न थालेपछि पनि निषेधाज्ञाको स्वरूपलाई बिस्तारै खुकुलो पार्ने तर ह्वात्तै खोल्न नहुने सुझाव उनीहरूको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले निषेधाज्ञाको अहिलेको अवस्थामा केही दिनका लागि संक्रमितको संख्यामा कमी आएको देखिए पनि पुनः चहलपहल बढे फैलिन सक्ने बताउँछन् । उनले अहिलेको निषेधाज्ञाले तत्कालका लागि देशका स्वास्थ्य संस्थाहरूमा देखिएको उपचारको अत्यधिक दबाब र शय्या अभावको अवस्थामा केही सुधार हुने बताउँछन् ।
अर्काे कुरा निषेधाज्ञाले गर्दा हरेक व्यक्तिबीच घुलमिल र सम्पर्क हुन नपाउँदा संक्रमणको जालो तोडिन सक्नेछ र रोगको विस्तार हुन पाउँदैन । यसकारण पनि निषेधाज्ञाले संक्रमण दर घटाउने विश्वास गरिएको हो । तर यतिखेर राजधानी, शहर र बजार क्षेत्रबाट गाउँ जानेहरूबाट संक्रमण फैलिने जोखिम भने कायमै रहेको देखिन्छ । कतिपय विज्ञले १–२ हप्ताको निषेधाज्ञाले फरक नपार्ने र यसलाई कम्तीमा पनि १ महिना लम्ब्याउन सकिएमा संक्रमणको गति सीमित गर्न सहयोग पुग्ने बताउँछन् ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे यसपटकको नयाँ प्रजातिको महामारी अघिल्लो वर्षकोभन्दा निकै खतरनाक रहेको बताउँछन् । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, कुनै पनि खानाको स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, शरीरमा धेरै नै थकान महसूस हुने, निद्रा लागिरहनेमध्ये केही लक्षणहरू देखिएमा पीसीआर परीक्षण गरिहाल्न उनको सुझाव छ ।
उनले यसपटक परिवारमा १ जना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था रहेकाले संक्रमित व्यक्तिलाई धेरै सावधानी अपनाउन र आइसोलेसनमा बस्न पनि सुझाव दिन्छन् ।
उनीजस्तै यस वर्ष धेरै जनस्वास्थ्यविद्ले पीसीआर पोजेटिभ आएमा गत साल जस्तो जनस्वास्थ्यका मापदण्ड अपनाएर आफैं घरमा बस्नुभन्दा पनि यसपटकको भाइरसले छिटो कोभिड निमोनिया गराउने भएकाले नजिकको कोभिड अस्पतालको ‘फिभर’ क्लिनिकमा जानुपर्ने बताउँछन् ।
यस वर्ष मैले खोप लगाएको छु, मलाई पहिले नै भएकोले गत वर्षकै एन्टिबोडीले काम गर्छ भनेर लापरबाही गर्न पनि नहुने र शरीरमा अप्ठ्यारो भएमा तुरुन्त अस्पताल जानुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ । पहिले बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा बस्ने गरिएकामा यसपटक बालबालिका र युवाको संक्रमणदर झन् बढी र संक्रमितमा गम्भीर समस्या देखिएकोतर्फ पनि सबै सचेत हुनुपर्ने राय उनीहरूको छ ।
प्रतिरोध क्षमता बढाउनको लागि भन्दै विगतमा नेपालमा पनि बेसार पानी, गुर्जाे या अनेकथरि जडिबुटीको सेवन गर्ने मानिस धेरै थिए । उनीहरूले सेवन मात्र गरेनन् सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिस विना नै यो खानु र उ खानु भनेर सञ्चारमाध्यमबाटै प्रचार पनि गरे । अहिले पनि कतै अम्बाको पात उमालेर खाने या कतै के भनेर प्रचार गरिएका छन् । तर कतिपय जडीबुटीले शरीरको ‘स्टामिना’ बढाउने काम गरे पनि कोरोनाकै औषधि भनेर केही पनि सेवन गर्नु हँुदैन ।
नेपालमा हाल कोभिड संक्रमण दिन दुई गुना, रात चौगुनाको दरले बढ्दै गएको छ । वैशाख १ गतेसम्म दैनिक ५०० को हाराहारीमा रहेका संक्रमितको संख्या अहिले आएर दिनमै ४ हजार जना नाघेको छ । बुधवार मात्र अघिल्लो २४ घण्टामा ४ हजार ८९७ जना पुगेको तथ्यांक सार्वजनिक भएको छ ।
हालसम्म नेपालमा ३ लाख १२ हजार ६९९ जना यो भाइरसबाट संक्रमित भएका छन् भने २ लाख ७९ हजार २७९ जना निको भएका छन् । यसरी हेर्दा नेपालमा अझै पनि ३३ हजार जनाभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यो महामारीबाट ३ हजार जनाभन्दा बढीको ज्यान गइसकेको छ । विश्वमा यसले ३० लाखभन्दा बढीको ज्यान लिइसकेको छ भने करोडौं नागरिक संक्रमणमा परेका छन् ।
सन् २०१९ कै डिसेम्बरमा चीनको वुहानबाट निस्किएको भनिएको कोभिड १९ जीवाणुले अहिले विश्व विचरण गरिरहेको छ । यो अदृश्य जीवाणुले ६ महिनाअघि बेलायतमा फेरि अर्कै स्वरूपको प्रजातिका रूपमा प्रकट भएको बताइन्छ । वर्षदिन भन्दा लामो समयसम्म पनि त्यही पुरानै जीवाणुलाई परास्त गर्न नसकिरहेका बेला यसले नयाँ–नयाँ प्रजातिका रूपमा जन्म लिइरहेको छ । अरु विश्वतिर विभिन्न स्वरूप र चरणमा चहारिरहेको भनिएको यो जीवाणु यतिखेर नेपालमा पनि दोस्रो लहरका रूपमा फेरि भित्रिएको छ ।
हामीले वर्ष दिनभन्दा लामो समयदेखि यसका बारेमा धेरै सुनेका र जानेका पनि छौं । अब हरेकले अरु सबै बिर्सिएर सबैभन्दा पहिला आफैंलाई बचाउने प्रणका साथ खानपिन, आनीबानी र व्यवहारमा परिवर्तन गरौं । मानिसको सबैभन्दा प्रिय वस्तु आफ्नै शरीर भएकाले आफूलाई बचाउने प्रणका साथ हामी लग्यौं भने यसबाट अरुको हुँदै सबैको ज्यान बाँच्ने छ । सबैले मिलेर कामना गरौं – दोस्रो लहर भनिएको यो महामारीले हामी कसैको घरआँगनमा दुर्दशा ननिम्त्याओस् । – एकराज पाठक/रासस