संसदमा कोरोना 'भयावह' : सांसद, कर्मचारी र सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण !

संसदको विशेष अधिवेशनको तयारीका लागि गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा २२ र २३ गते भएको परीक्षणमा सहभागीमध्ये १० प्रतिशतमा कोरोना संक्रमण देखिएको सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो । 


Advertisement

बुधवार र बिहीवार परीक्षण गरिएका मध्ये ६१३ जनाको रिर्पोट आउँदा ६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

‘१४ जना माननीय, केही कर्मचारी, मर्यादापालक र संसदीय मामिलाको रिर्पोटिङ गरिरहेका केही पत्रकारलाई कोरोना पुष्टि भएको छ,’ संसद् सचिवालय स्रोतले लोकान्तरसँग भन्यो । 

अहिलेसम्म आएको नतिजामा १० दशमलव ६ प्रतिशतमा कोरोना संक्रमण देखिएको सचिवालयका ती अधिकारीले बताए ।

सभामुख अग्नि सापकोटा लगायत उनको सचिवालयका भने कसैलाई पनि संक्रमण देखिएको छैन ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक वैशाख २७ गते बस्दैछ ।

सोही प्रयोजनका लागि बुधवार, बिहीवार र शुक्रवार सांसद, कर्मचारी र पत्रकारहरूको स्वाब संकलन गरिएको थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्