कोरोना परीक्षणको रिपोर्ट आइसक्दा मृत्यु

प्रतिकात्मक तस्वीर

बिहीवार कोरोना संक्रमण पुष्टि भएका १ पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको बिहीवार बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।


Advertisement

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् ।

श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधवार स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

बिहीवार बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताए । ‘अक्सिजनको मात्रा निकै कम भएपछि उहाँ अस्पताल आउनुभयो,’ अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले भने, ‘पछिल्लो समय अस्पताल आउने बिरामी निकै गलेपछि आउने गर्नुभएको छ ।’

समयमा अक्सिजन दिन सकेको भए बिरामी बच्न सक्ने सम्भावना रहने उनी बताउँछन् । बागलुङमा बिहीवार मृत्यु भएका पुरुषसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्