ओलीविरुद्ध नानाथरी कुरा लगाएर माधव नेपालले यसरी फसाए प्रचण्डलाई

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

माधवकुमार नेपालको ढुलमुले प्रवृत्तिको कारण फेरि एकपटक प्रचण्ड रक्षात्मक बनेका छन् । माओवादीको शक्ति झन्झन् क्षीण हुँदै गएको छ ।

केपी ओलीलाई दम्भी र अहंकारीको आरोप लगाइरहने नेपाललाई ओलीले मात्रै ठेगान लगाउन सक्ने रहेछन् । पद वरिष्ठ नेता तर काम भने कसरी हुन्छ भाँजो हालेर बन्न लागेको काम बिगारिदिने उनको स्वभाव रहेछ ।


Advertisement

महाधिवेशनमार्फत निर्वाचित अध्यक्ष केपी ओली थिए । स्वाभाविक रूपमा प्रधानमन्त्री पनि ओली नै थिए । नेपाल केवल वरिष्ठ नेता थिए तर उनले कस्तो सोच राख्ने रहेछन् भने केपी ओलीले हरेक काम मलाई नै सोधेर गर्नुपर्छ भन्ने जस्तो । उनले भने जस्तो भएन भने नाक फुलाएर गजरधम्म परेर बस्ने अनि गुट परिचालन गर्ने ।

प्रचण्डको प्रयोग गरेर उनले पछिल्लो समय ओलीलाई पार्टीको साधारण सदस्यबाट नै निकाल्ने षड्यन्त्र गरे । आज उनी तिनै ओलीको पाउमा आफ्नो अनुहार लुकाउन पुगेका छन् ।
 
यसरी हेर्दा पदको लोभी पनि माधवकुमार नेपाल नै रहेछन् भन्ने प्रस्ट भएको छ । प्रतिगमन आधा सच्चियो भनेर दरबारतिर कुद्न हतार गर्ने नेपालले यतिखेर आफूलाई केपी ओलीको निगाहामा समर्पण गरेका छन् । केको विधिको कुरा, केको पद्धतिको कुरा, केको प्रतिगमनको कुरा ? अब उनलाई आफ्नो अनुहार लुकाउन पाए पुग्छ ।

जेहोस्, गुटबन्दी गरेर हैरान पार्ने माधव नेपालको विधि र पद्धतिको दर्शन नक्कली हो भन्ने कुराको पटाक्षेप भएको छ । 

माधव नेपालकाे स्वार्थपूर्ण राजनीतिको कारणले भोलिका दिनमा पनि एमालेको यात्रा सहज देखिँदैन । उनले आफ्नै पार्टीको सरकारलाई अल्पमतमा पार्ने काम गरेर अराजनीतिक चरित्र पनि प्रदर्शन गरेका छन् । यदि ओलीको कदम प्रतिगामी नै थियो भने उनी अन्तिम समयसम्म टिकेर संघर्ष गर्न सक्नुपर्थ्यो । विचार र एजेन्डाको राजनीति गर्ने हो भने विद्रोह गर्न समेत तयार हुनुपर्ने थियो । तर उनले अन्ततः ओलीको अगाडि बहादुरीका साथ आत्मसमर्पण गरेका छन् । 

माधव नेपालले सिंगो नेकपा बनाउनेभन्दा पनि नेकपाभित्र प्रचण्डलाई प्रयोग गरेर आफ्नो गुट सुधार गरेर केपी ओलीलाई प्रहार गर्ने सपना शुरूआतदेखि नै बुन्दै आएका रहेछन् । यस्तो प्रवृत्ति माधव नेपालको हकमा सही थियो नै होला तर प्रचण्ड उनको पछाडि लागेर, उनको उक्साहटमा लागेर निकै मेहनतको साथ अगाडि बढाइएको वाम एकतालाई भंग गर्ने दिशातिर लाग्नु हुँदैन्थ्यो । केपी ओलीविरुद्ध केपी ओलीसँगै संघर्ष गर्नुपर्थ्यो । मूल नेतृत्वसँग सहकार्य अपरिहार्य थियो ।

ओलीसँगको सम्बन्ध तोडेर नेपाल जस्तो अडान नभएको नेतासँग सहकार्य गर्नु प्रचण्डको गम्भीर भूल हो । किनकि इतिहास पनि छलकपटकै थियो । झलनाथ खनाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दाको समय तत्कालीन सेनापति प्रकरणमा प्रचण्डलाई नराम्रोसँग झापड हानियो । २–२ ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाललाई पनि प्रचण्डले  प्रधानमन्त्री बनाएर अवसर दिए तर अन्ततः उल्टै डस्न आएका थिए । वाम एकताको सपना देखेर प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारे । यसपालि पनि माधव नेपाल लगायतको समूह मिलेर प्रचण्डलाई नराम्रोसँग फसाइयो । उचाल्नुसम्म उचालेर पछारियो ।

माधव नेपालले केवल प्रचण्डलाई मात्र फसाएनन्, माओवादी पार्टीको भविष्यलाई नै अन्योलमा राखिदिएका छन् । किनकि वाम एकता गरेपश्चात यो एकतालाई भाँड्न वा केपी ओलीको सत्ताबाट पार्टीलाई अलग गर्न उनले धेरै षड्यन्त्र गरे । तत्कालै केपी ओली र प्रचण्ड विनाको नेकपा सम्भव नै थिएन । महाधिवेशन आउँदै थियो । तर माधव नेपालको हतारोको कारण पार्टी पनि दुर्घटनामा पर्‍यो ।

उनले सुदूरपश्चिमका आफ्नै सांसदहरूको राजनीतिक भविष्य जोखिममा पारिदिएका छन् । उनकै कारण रामकुमारी झाँक्री, योगेश भट्टराईहरू समेत एमालेको मूलधारबाट विस्थापित हुनसक्ने सम्भावना छ । 

प्रतिनिधिसभा विघटनको अघिल्लो दिन प्रचण्डसँग वार्ता गरेर शंकर पोखरेलहरूले ओलीमाथिको आरोप पत्र फिर्ता लिन अनुरोध गरिरहेका थिए । प्रचण्ड लचिलो बन्दै गइरहेका पनि थिए । तर ठीक त्यहीँ समयमा माधवकुमार नेपालले भीम रावल लगायतलाई परिचालन गरेर भाँजो हाल्ने काम गरे । तपाई जस्तो गणतन्त्रको लागि लडेको नेता मामुली केपी ओलीसँग डराउने भनेर उक्साइरहे । माधव नेपालकै उक्साहटमा लागेर प्रचण्डले त्यो दिन आरोप पत्र एक्लै फिर्ता गर्ने आँट गर्न सकेनन् । अन्ततः भोलिपल्ट बिहानै संसद विघटन भयो ।

‘मैले हाम्रो समूहको हस्ताक्षर संकलन गरिसकें, अब तपाईं गर्नुहोस्, अविश्वासको प्रस्ताव ठोकिहाल्नुपर्छ’ भन्दै माधवकुमार नेपालले हस्ताक्षर समेत देखाए । पछि रामकुमारी झाँक्रीले त्यो अर्कै प्रयोजनको लागि गरेको हस्ताक्षर हो भनेकी थिइन् । तर ओलीलाई अविश्वासको प्रस्ताव समेत पेश गर्न सकिने भन्दै नेपाल खल्तीमा हस्ताक्षर बोकेर हिँडिरहेका थिए । तर अविश्वासको प्रस्ताव पेश गर्नेतिर उनी लागेनन् । माधव नेपाल कसरी हुन्छ केपी ओली र प्रचण्डलाई मिल्नै नदिने र प्रचण्डलाई प्रयोग गरेर ओलीमाथि हावी हुने तानाबाना बुन्न लागिरहे । 

कसरी हुन्छ केपी ओलीलाई पार्टीबाट हटाएर कारवाही गर्ने योजना र चाहना माधव नेपालको थियो । केपी ओलीलाई साधारण सदस्यबाट पनि हटाउने कुराको योजनाकार उनी नै थिए । त्यो प्रस्ताव सर्वप्रथम उनले नै लिएका थिए । किनकि त्यहाँ पनि उनी आफू अध्यक्ष बन्ने स्वार्थले काम गरेको थियो ।

प्रचण्डले शुरूमा कारवाहीको कुरालाई यत्ति रुचि मानेका थिएनन् । साधारण सदस्यबाटै हटाउने कुरा माधव नेपालकै मुखबाट पहिलो पटक आएको थियो । केपीलाई अलिकति पनि स्पेश दिन नहुने उनको धारणा थियो । मौका यही हो र यही मौकामा चौका हान्नुपर्छ भन्दै उनले प्रचण्डलाई उक्साउने गरेका थिए । 

हिजो बहुमतको सरकार बनाउने दौडधूप चलिरहेको थियो । आवश्यक संख्या जति हो, त्यतिको जसरी पनि राजीनामा दिलाउँछु भनेर क्याप्टेन रामेश्वर थापाको घरमा गएका माधवकुमार नेपाल ४ घण्टा बाहिर निस्किएनन् । राजीनामा बुझाउने सचिवालयमा कर्मचारीहरू कार्यालय बन्द गरेर घर गइसकेपछि मात्र उनी निस्किए ।

इतिहासमा पहिलोपटक नै हुनुपर्छ माधवले ओलीसँग यति लामो वार्तालाप गरे । जबकि बाहिर एक सेकेन्डको पनि महत्त्व थियो । बहुमतको सरकारको दाबी गर्ने तयारी चल्दै थियो । अन्तिममा आएर माधवकुमार नेपालले स्तरहीन, नैतिकहीन राजनीतिक चरित्र प्रदर्शन गरेका छन् । 

माओवादी र एमालेको पार्टी एकतापश्चात नेकपा बन्यो । सबै कुरा राम्रैसँग चलिरहेको थियो । नेकपा एकता आफ्नै गतिमा थियो । प्रचण्ड पनि वाम एकता भएकोमा खुशी नै थिए । केपी ओली दुईतिहाइ बहुमतको प्रधानमन्त्री हुन पाएकोमा मख्ख थिए । ओलीले प्रचण्डसँग सल्लाह सुझाव लिँदै काम गरिरहेका थिए । बालुवाटारमा सँगै खाना खाने, कुराकानी गर्ने नियमित जस्तै भइरहेको थियो । उनीहरू टेलिफोनमा पनि प्रायः कुरा गरिरहन्थे । 

किनकि पार्टी एकता गर्दा माओवादीको तर्फबाट प्रचण्ड र एमालेको तर्फबाट केपी ओली प्रमुख हर्ताकर्ताका रूपमा अगाडि आएका थिए । पार्टी एकताको प्रस्ताव पनि ओलीसँग नै गरिएको थियो । यसकारण पनि उनीहरूको सम्बन्ध प्रगाढ बन्दै थियो । २ पार्टीको एकीकरण भएर महाधिवेशन नहुँदासम्म बहुमत र अल्पमतको आधारमा निर्णय गर्दा महाधिवेशनमा नपुग्दै एकता टुट्नसक्छ, त्यसैले तपाईं र मेरो सहमतिकै आधारमा निर्णय गर्नुपर्छ भन्ने प्रचण्डको प्रस्ताव ओलीले मान्दै पनि आएका थिए ।

तर २ अध्यक्षबीचको यस्तो सहमति माधवकुमार नेपाललाई पटक्कै मन परेको थिएन । केपीसँग प्रचण्ड नजिक भएको देखेर उनी भित्रभित्रै जलिरहेका थिए । किनकि उनी अब आफू ‘माइनस’मा परेको अनुभूति गरिरहेका थिए । ‘म र तपाईं भएपछि पार्टी पनि सरकार पनि राम्रोसँग चल्छ, सबै कुरामा नेपालसँग किन सल्लाह गर्नुपर्‍यो’ भन्दै ओलीले महत्त्वपूर्ण कुराहरू पनि माधव नेपालसँग शेयर गर्न छाडिसकेका थिए ।

माधव नेपालको पद एक सम्मानित नेताको जस्तो थियो । उनको कुनै भूमिका थिएन । भूमिकाविहीन नेताको दिमागमा खुरापाती षड्यन्त्र जन्मियो । त्यो षड्यन्त्रको शिकार प्रचण्ड बन्न पुगे ।
 
ओली सरकार र पार्टीले के गर्दैछ भन्ने कुरा उनले पनि आमजनताले जस्तै समाचार हेरेर थाहा पाउने स्थिति थियो । नेपालले यो कुरा सार्वजनिक कार्यक्रममा पनि भनिसकेका छन्, ‘केपी जीले के–के गर्नुहुन्छ, गर्नुहुन्छ मलाई त थाहा पनि हुँदैन, मलाई सोध्नु पनि हुँदैन, मेरो कुनै मूल्यांकन पनि भएको छैन ।’ उनी यतिमा मात्रै सीमित भएनन्, प्रचण्ड र ओलीले चोचोमोचो गरेर मात्रै पार्टी नचल्ने भनेर आफ्नो तुष पनि पोखिरहेका थिए ।
 
झलनाथको छटपटी पनि आफ्नै किसिमको थियो । उनी माधव नेपाल जस्तो प्रत्यक्ष खुराफातमा ननिस्किए पनि राष्ट्रपति पदमा मुख मिठ्याइरहेका थिए । माधव नेपालकै अदूरदर्शी कदमका कारण वामदेव गौतमको राजनीति समेत यतिखेर संकटमा परेको छ ।

बालुवाटार बैठकमा केपी ओलीको नजिकै हुने गरेका प्रचण्डको कुर्सी संक्रमण हुने डरका कारण स्वास्थ्यकर्मीकै सल्लाहमा एकदिन अलिक पर सारिएको थियो, त्यो कुरा शुरूमा प्रचण्डलाई मतलबै थिएन । तर माधव नेपालले नै ‘कुर्सीसुर्ची थुतेर सँगै लगेर बस’ भनेर प्रचण्डलाई उक्साए । प्रचण्ड भावुक मान्छे उनले रणनीति बुझ्न सकेनन् । प्रचण्डलाई अध्यक्ष मान्न अस्वीकार गरेको, ओलीमा दम्भ र अहंकार पलाएको जस्ता हल्ला माधवकुमार नेपालले फिजाए । प्रचण्डले त्यो विश्वास गर्दै आए । 

हुनुपर्ने के थियो भने माधव नेपालको चर्काे गुटबन्दी प्रवृत्तिलाई रोकेर नयाँ आधारमा पार्टी दोस्रो पुस्ताको लागि तयारी गर्नुपर्ने थियो । क. केपी ओली र प्रचण्डको कार्यशैली लगभग मिल्न थालेको थियो । निर्णय गर्ने ड्याम्म काम गर्ने । ओलीलाई ५ वर्ष प्रधानमन्त्री नै चलाउन दिने, महाधिवेशनमा ओली आफू नउठ्ने प्रचण्डलाई नै अध्यक्ष बनाउने । यस्तो खालको सहमति बनिरहेको थियो । तर यो सहमति थाहा पाएसँगै माधवकुमार नेपाललाई निद्रा लाग्न छोड्यो । पार्टीमा उनको भविष्य समाप्त हुँदै गइरहेको थियो । किनकि लगभग ५–६ वर्षको लागि पार्टी र सरकारको ‘रोड म्याप’ तयार थियो । 

तर माधवकुमार नेपालको ध्यान कसरी हुन्छ प्रचण्ड र ओलीको बीचमा फाटो ल्याउने र आफ्नो गुट बलियो बनाउँदै अगाडि बढ्ने भन्नेतिर गयो । पार्टी अध्यक्ष आफू हुने, प्रधानमन्त्री प्रचण्डलाई दिने र यसका लागि उनले झलनाथ खनाललाई राष्ट्रपतिको कार्ड फ्याँके । उनी पनि मक्ख भए ।

यसरी माधवकुमार नेपालले प्रचण्डलाई मात्र होइन, आफ्नो पक्षका नेताहरूको राजनीतिक भविष्यलाई पनि फोहोरी बनाइदिएका छन् । उनीहरू बाध्यताले मिले जस्तो त गर्लान् तर माधव नेपाल प्रत्यक्ष भूमिकामा रहेसम्म यहाँ धेरै नेताहरू सीपी मैनाली बन्नेछन् । 

प्रचण्डले पालैपालो प्रधानमन्त्री छाड्ने कुरा ओलीलाई जानकारी गराएका थिए । उनले तपाईं नै ५ वर्ष प्रधानमन्त्री हुनुहोस् भनेका थिए । त्यसपश्चात माधव नेपाल झन् सशंकित र आक्रोशित हुन थाले । किनकि ओलीलाई प्रधानमन्त्रीबाट हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सके प्रचण्डले आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने र नेकपामा आफू ५ वर्ष नेतृत्वमा पुग्न सक्ने उनको सपना थियो । यसका लागि उनले ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेर भएपनि हटाउने संकल्प गरेका थिए । 

शुरूशुरूमा उनले प्रचण्डसित प्रधानमन्त्री पद पाउन केपी ओलीले जनताको बहुदलीय जनवाद (जबज) साटेको आरोप लगाउने गरेका थिए । प्रचण्ड र ओली मिलेको देखेर फाटो ल्याउने अनेक प्रपञ्च गरेका थिए । त्यो काम नलाग्ने देखेर ओलीलाई कारवाही गर्ने, अविश्वासको प्रस्ताव पेश गर्ने, साधारण सदस्यबाट निष्कासन गर्नेजस्ता सबै बबन्डर हुने योजना माधव नेपालले बनाउन भ्याए । एकपटक बालुवाटारमा बसेको तत्कालीन नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले बोलेका कुरा हुबहु बाहिर छरपस्ट आएको थियो । त्यो अडियो रेकर्ड गरिएको थियो । यस्तो कुकर्म गर्न लगाउने पनि यिनै माधव नेपाल थिए । 

गुटको स्वार्थमा रमाउने, विधि र पद्धतिको नक्कली कुरा गर्ने यस्ता खुराफाती नेताले एमालेको भविष्य सुन्दर बन्न देलान् भन्ने कुरामा शंका छ ।

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्