मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नेपालमा कोरोना महामारीले दैनिक जनजीवन नै आक्रान्त बनाएको छ । मानिस अचेल अक्सिजन अभावमा अन्तिम श्वास फेरिरहेका छन् ।
मृत्युको ग्राफ चुलिँदो छ । १ अंकको मृत्यु बढेर ३ अंकका दरले उकालो लाग्दो छ । केही सातायता करीब ८/९ हजार हाराहारीमा संक्रमित थपिँदै छन् ।
गण्डकी प्रदेशमा पनि समस्या उही हो । प्रदेशमा १५ दिनयता ९९ जनाले ज्यान गुमाउन पुगे । कोरोनाको पहिलोभन्दा दोस्रो लहर डरलाग्दो बनेको स्वयं चिकित्सक बताउँछन् ।
तैपनि दिनरात नभनी उनीहरु संक्रमितको उपचारमा खटिएका छन् । तीमध्ये पोखरामा कोरोना संक्रमितको उपचारमा दिनरात लागिपर्ने चिकित्सक हुन्– डा. शरदचन्द्र बराल ।
‘डाक्टर सा’ब तपाईंले एकफेर बुवालाई हेरिदिनुपर्यो,’ केही दिनअघि एक अधबैँसे महिला हस्याँङ्फस्याँङ गर्र्दै डा. बरालको नजिक परिन् । उनले अगाडि भनिन्, ‘तपाईंको बोली सुने मात्र बुवालाई रिलिफ हुन्छ भन्नुहुन्छ ।’
ड्युटीमा खट्नुअघि डा. बराल अस्पताल परिसरमा पीपीई लगाउने तयारीमा थिए । उनको बाटो कुरिरहेकी ती महिलाले डा. बराललाई देख्ने बित्तिकै यसरी हतासिएको मुद्रामा प्रस्तुत भएकी रहिछन् । उनको कुरा सुनेर डा. बराल मुस्कुराए मात्र । केही क्षणमै आउने भन्दै बुवालाई नआत्तिन भन्न सुझाउँदै पठाए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालित छ । सोही अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि कोरोनाका बिरामीको उपचार जारी राखेको छ । संक्रमितको उपचारमा सहयोग पुर्याउन सुविधा सम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको छ । जम्मा ५० बेड क्षमताको आइसोलेसन वार्डमा जसोजसो ५५ संक्रमित उपचारमा छन् । अधिकांशलाई अक्सिजन दिएर राखिएको छ । संक्रमितको अहोरात्र उपचारका लागि अस्पतालले मेडिकल अधिकृत डा. बराललाई सम्पर्क व्यक्ति तोकेको छ । संक्रमितको उपचार आफ्ना लागि पहिलो कर्तव्य र जिम्मेवारी रहेको उनी बताउँछन् ।
डा. बराल बिरामीका लागि यत्तिकै खोजीका पात्र होइन रहेछन् । उमेरले भर्खरै ३७ वर्षमा प्रवेश गरेका उनको सरलता, उपचार विधि र विज्ञताले त्यो प्रस्ट्याउँछ । डा. बराल उनै हुन्, जसलाई स्वास्थ्य मन्त्रालयले पहिलोपटक उनलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरेको थियो ।
तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न रुचाउने डा. बरालले करियर विकाससँगै दुःखी गरीबको सेवाका लागि दुर्गम अछाम जिल्ला रोजे । २०७१ पुसमा उनले अछामको जिल्ला जनस्वास्थ्य प्रमुखको जिम्मेवारी सम्हाले । जिल्लावासीलाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुग्ने व्यवस्था मिलाए । त्यहाँ आवश्यक सुधार गरे । सबैको नजरमा आँखाको नानी बने । नभन्दै तत्कालीन ७५ जिल्लामध्ये अछाम देशभरकै सरकारी अस्पतालमा उत्कृष्ट ठहरियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७२ सालमा उत्कृष्ट अस्पताल घोषणा गर्दै पहिलोपटक उनलाई पनि पुरस्कृत गर्यो । अछाममा जिल्ला जनस्वास्थ्य प्रमुख हैसियतले उनले साढे २ वर्ष सेवा गरे । स्वास्थ्यका आवश्यक सूचकांक पूरा गर्न निरन्तर खटिने डा. बरालकै मेहनतमा लगातार ३ वर्ष नै अछाम जिल्ला अस्पतालमा देशभै उत्कृष्ट घोषित हुन पुगेको थियो ।
बिरामीको नजरमा मात्रै हैन, स्वास्थ्यकर्मीहरूका लागि पनि डा. बराल प्रेरणाका स्रोत हुन् । अरूलाई प्रेरित गर्दै आफू दिनरात खटिने बराल २०७७ भदौ अन्त्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा भई आएका हुन् । उनी पोखरा आउनुअघि नेशनल एकाडेमी अफ मेडिकल साइन्सेज (वीर हस्पिटल) मा इन्टरनल मेडिसिनमा एमडी कोर्स गर्दै थिए ।
पोखरा महानगरपालिका वडा –१५, रामबजार निवासी डा. बराल आफ्नै गृहजिल्ला कास्कीमा आएर जोखिमपूर्ण भए पनि पीपीई भरमा कोरोना संक्रमितको सेवा गर्न पाउँदा खुसी छन् । चिकित्सा क्षेत्रमा ८ वर्षदेखि निरन्तर कार्यरत बरालले जहाँ गए त्यही उत्कृष्ट बनाउनुपर्छ भन्ने मान्यता राख्छन् ।
कतैबाट गुनासो आए, सम्बोधन गरिहाल्नुपर्छ भन्ने भावना जाग्ने उनी बताउँछन् । ‘मानवीय संकटका बेला एकअर्कालाई सहयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘परिवारमा एक जना संक्रमित भए अन्य सदस्यलाई पनि सहजै संक्रमण देखिने गरेको पाइन्छ । व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन जरुरी छ । मास्क प्रयोग गर्ने, नियमित हात धुने, सेनिटाइजर प्रयोग गर्ने, संक्रमित भइहाले स्वास्थ्यकर्मीको सल्लाह लिएर उपचार विधि अपनाउनुपर्छ ।’
वैशाखमा अस्पतालबाट करीब १ सय जना कोरोना संक्रमितले सेवा लिएकोमा ४५ भन्दा बढी डिस्चार्ज भइसकेको उनले जानकारी दिए ।
श्वासप्रश्वासमा कठिन हुने, अन्य जटिल रोग लागेका तथा वृद्ध उमेरका केही व्यक्तिलाई भने बचाउन नसकिएको उनी दुःखित छन् ।
पढाइमा सधैँ उत्कृष्ट
माछापुच्छ्रे छायाँ पर्ने फेवाताल किनारमा हुर्की बढेका बराल सानैदेखि तीक्ष्ण बुद्धिका थिए । उनको प्राथमिक शिक्षा आर्जन पोखराकै एसओएस हरमन माइनर स्कूल गण्डकीमा भएको हो । उनले सन् २००१ मा एसएलसी उत्तीर्ण (७९.५ प्रतिशत)पछि प्लस टू (७१ प्रतिशत) त्यही स्कूलबाटै हासिल गरे । उनी सानैमा पनि डाक्टर बन्ने चाहना राख्थे । सोही अनुरूप पोखराकै मणिपाल कलेज अफ मेडिकल साइन्सेसजमा एमबीबीएस कोर्स पढ्न छात्रवृत्ति पाए । प्लस टू सकाएको ७ वर्षभित्र सन् २०१० मा एबीबीएस (डिस्टिङ्सनसहित) कोर्स पूरा गरे । लगत्तै नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पताल र परासी जिल्ला अस्पतालमा २ वर्षसम्म सेवा गरे । त्यसपछि मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गरे । प्रसूति रोग विशेषज्ञको रूपमा धरानमा एमडी गर्दै गर्दा त्यहीबीचमा उनले लोक सेवा आयोग तयारी गरे । नभन्दै २०७२ सालमा लोक सेवामा स्वास्थ्य सेवाअन्तर्गत मेडिकल अधिकृत (आठौं तह) मा नाम निकाले । सरकारी सेवामा प्रवेशपछि रोजाइ अछाम बनेको थियो ।
स्वास्थ्य क्षेत्र सुधारमा प्लानिङ आवश्यक
स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँचका लागि सम्पूर्ण निकायको पहुँच आवश्यक रहेको डा. बराल बताउँछन् । स्वास्थ्य क्षेत्रलाई सधैँ प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ । स्वास्थ्य रह्यो भनेमात्र अरू चिज रहने भन्दै उनले कोभिडको दोस्रो लहरले धेरै चुनौती थपेको हुँदा मनोबल एकदमै उच्च राख्नुपर्ने सुझाव दिन्छन् । लोकान्तरसँगको कुराकानीमा उनी भन्छन्, ‘स्वास्थ्यका हाम्रा संरचना अपर्याप्त रहेछन् भन्ने बल्ल बुझ्ने मौका पाइयो । राम्रोसँग प्लानिङ गरेर गयो भने मात्र स्वास्थ्य क्षेत्र सुधार गर्न सकिन्छ ।’
काठमाडौंको टेकु अस्पताललाई जसरी अहिले उदाहरणका रूपमा लिइएको छ, त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि त्यही ‘रुल फलो’ गरिएको उनले बताए । थोरै जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुपरेको हुँदा उचित जनशक्ति व्यवस्थापन टड्कारो आवश्यकता उनले ठानेका छन् । गुणस्तरका सामान नहुँदा अक्सिजनको पाइप जडानमा घरिघरि समस्या आउने गरेको उनले गुनासो गरे । अक्सिजन अभाव एकातिर छँदैछ, त्यस अलावा स्वास्थ्यकर्मीलाई विभिन्न समस्या भएकोले यसबारे सुधारको प्रयत्न गरिएको उनले बताए । त्यसैले पहिलो प्राथमिकतामा गुणस्तरीय सामान, सरसफाइमा जोड दिइएको उनी बताउँछन् । थप सुधारका लागि प्रतिष्ठानका निर्देशक तथा उपकुलपतिलाई बेलाबेलामा उनले झक्झक्याउने गरेका छन् । अस्पतालका ल्याब टेक्निसियनल शंकर भण्डारी पनि डा.बरालको कार्यको उच्च प्रशंसा गर्दै उहाँ यदि नभएको भए धेरै बिरामीको ज्यान गइसक्ने थियो, भन्छन् ।
अस्पतालमा डा. बराल सबैका लागि खोजीका पात्र बनेका छन् । भाइरसको दोस्रो लहर फैलिएसँगै स्थिति भयावह हुँदै जाँदा ज्यानको जोखिम राखेर स्वास्थ्यकर्मीहरू दिनरात उपचारमा खटिएकै छन् । कोरोनाका बिरामीको उपचारमा जुट्ने र खट्ने सबै वास्तविक हिरो हुन् ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...