ग्राउन्ड जिरो ४ : एपीएफ अस्पताल आईसीयू नम्बर १– ‘डाक्टरसा'ब, मेरो भगवान तपाईं हो’

सशस्त्र प्रहरी अस्पतालको सिंगल आईसीयू क्याबिन नम्बर १, जहाँ एक महिला कोरोना संक्रमणसँग लडिरहेकी छिन् । उनलाई (सोमवार) भेन्टिलेटरबाट आईसीयूमा सारिएको थियो । 

नाकमा अक्सिजन लगाइएको छ । हार्टबिट १०० र अक्सिजन लेभल ९० छ । नर्सहरूले उनलाई सेकेन्ड-सेकेन्डमा हेरिरहेका छन् ।


Advertisement

त्यही बीचमा सशस्त्र प्रहरी अस्पतालका आईसीयू  डीएसपी डा. सौरभ श्रेष्ठ र  डा. रोशनकुमार झा आईसीयू बेड नम्बर १ मा छिरे ।

डाक्टरहरूलाई देख्नेबित्तिकै बेडमा रहेकी अन्दाजी ५५ वर्षीया महिलाले डा. झा र डा. सौरभको हात समाउँदै भनिन्, ‘मैले हजुरहरूलाई दुःख दिएँ है ।’

 

‘हैन हामीलाई दुःख हुँदैन, तपाईंहरूको सेवामा खटिएका हौं’, डा. द्वयले जवाफ फर्काए ।

‘ती महिलाले थपिन्, मेरो ज्यान बचाइदिनुभयो, तपाईं‌हरू मेरो भगवान् हो ।’

डाक्टरहरू आएको देखेपछि उनको आँखामा शुरूबाटै केही चमक थियो ।

‘म घर जाने, मलाई पठाइदिनुपर्‍यो,’ उनले डाक्टरसँग आग्रह गरिन् ।

त्यहीँ रहेका कुरुवाले उनलाई सम्झाए, ‘आज मंगलवार हो, वार परेको छैन, भोलि जाने ।’ 

डाक्टर सौरभले लोकान्तरसँग भने, ‘उहाँलाई हिजो मात्रै भेन्टिलेटरबाट यहाँ (आईसीयू)मा सारेको हो । यहाँ ल्याउँदा बाँच्ने सम्भावना निकै कम थियो तर हामीले उहाँलाई यो अवस्थामा ल्याउन सफल भयौं,’ उनले थपे, ‘समयमै भेन्टिलेटर पाउँदा बचाउन सकिन्छ भन्ने उदाहरण हो ।’ 
****

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका ७७ वर्षीया कृष्ण बैदारले डा. झा नजिकै आइपुग्दा मुस्कुराएर नमस्कार गरे ।

‘अब त म बाँचे डाक्टर सा’ब, २ मा अक्सिजन लगाएको छु । भोलिसम्ममा त अक्सिजन लगाउन पर्दैन होला है,’ बैदारले आशावादी हुँदै भने ।

उनले थपे, ‘अब त म जाने हो, निको भएँ नि हैन ?’ डा. झाले जवाफ दिए, ‘भोलि डिस्चार्ज गर्छौं ।’

केहीबेर डा. झाले उनलाई खुशी कसरी हुने, अक्सिजन कमी भइहालेमा के गर्ने भन्ने सिकाए । बीचबीचमा दुवै जना खुलेरै हाँसे । 

त्यसरी हाँस्ने बैदारको कथा भने अर्कै छ ।

कोभिड देखिएपछि शुरूमा बनेपाको स्थानीय शिर मेमोरियल अस्पतालमा लगियो । त्यहाँ आईसीयू बेड खाली नभएपछि उपचार पाउन सकेनन् । उपचार नपाएर एकपटक त घर फर्काइएको रहेछ ।

‘आईसीयू बेड पाइएन, उहाँ अचेत हुनुहुन्थ्यो, अब बाँच्नुहुन्न भनेर घर लगेको थिएँ,’ राजनले भने, ‘यहाँ (एपीएफ अस्पताल)बाट फोन आएपछि एम्बुलेन्स खोजेर ल्याएँ, केही मिनेट ढिला भएको भए उहाँको हाँसो मैले देख्ने थिइनँ,’ छोराले भने ।

अस्पतालका डाक्टरहरूको गरेको व्यवहार र समयमा नै गरेको उपचारले बुवा बाँचेको उनले बताए । ‘यहाँका डाक्टरहरूको माया र मेहनतले बुवा बाँच्नुभएको हो,’ राजनले आभार व्यक्त गर्दै भने ।

कोरोना भाइरसको संक्रमण भैसकेपछि समाजले गर्ने व्यवहारका कारण गिर्ने मनोबल र समयमा उपचार नपाउँदा कतिपयले ज्यान गुमाउनु परेको डा. झाले बताए ।

कोरोनाका बिरामीलाई छिटो निको पार्नका लागि परिवारको माया, डाक्टरको व्यवहार र औषधिको एकसाथ आवश्यकता पर्ने डा. झाको बुझाइ छ । 

‘अहिलेको अवस्थामा बिरामीलाई निको पार्नको लागि ३ कुराको आवस्यकता छ । परिवारको माया, डाक्टरको व्यवहार र मेडिसिन,’ डा. झाले लोकान्तरसँग भने, ‘हामी (डाक्टर)ले बिरामीलाई गर्ने व्यवहारले आधा रोग निको हुन्छ ।’

अस्पतालमा सबै अक्सिजन बेड

कोरोना भाइरसको (नयाँ भेरियन्ट) दोस्रो लहर आएसँगै अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले एपीएफ कोरोना अस्पतालमा सबै बेडहरू अक्सिजन बेडमा रुपान्तरण गरिएको अस्पतालका कोभिड फोकल पर्सन डीएसपी डा. प्रवीन नेपालले बताए ।

‘हामीले अहिले नर्मल बेडलाई पनि अक्सिजन बेड बनाएका छौं,’ डा. प्रवीनले लोकान्तरसँग भने, ‘अहिले आउने सबैलाई अक्सिजन लगाउनुपर्ने हुन्छ ।’

उनका अनुसार १४० बेड क्षमता भएको अस्पताललाई पछिल्लो समय देखिएको बेड र अक्सिजन अभावलाई परिपूर्ति गर्न २ सय बेड क्षमतामा विस्तार गरिएको छ । सबै बेडमा अक्सिजन उपलब्ध छ ।

१० जना बचाउँदाको खुशीभन्दा १ जना गुमाउँदाको दुःख ठूलो हुँदोरहेछः   डाक्टर झा 

कोरोना संक्रमण लागेर आएकामध्ये अहिलको अवस्थामा १० जनामा २ जनाको मृत्यु भएको छ । मेडिकलको केही सिमित दायरा हुँदा बचाउन खोज्दा पनि केही बिरामी बचाउन नसक्दा धेरै दुःख लाग्ने डीएसपी डा. रोशनकुमार झाले बताए ।

‘कोरोनाका १० जना बिरामी बचाउँदा जति खुशी मिल्छ त्यो बन्दा बढी दुःख एक जना गुमाउनुपर्दा हुनेरहेछ,’ डा. झाले लोकान्तरसँग भने, ‘कतिपयलाई हामीले १०० प्रतिशत इफोर्ट दिँदा पनि बचाउन सक्दैनौं ।’

कसैको मृत्यु हुँदा किन बचाउन सकिएन भन्ने कुरालाई आफूहरूलाई पिरोलिरहने उनले बताए ।

२४ घण्टा पीपीई लगाएर बस्दा गाह्रो हुन्छ, तर आत्मबल बलियो बनाएका छौंः स्टाफ नर्स

एपीएफ अस्पतालमा २४ घण्टा डाक्टरहरू र स्टार्फ नर्स ड्युटीमा खटिएका हुन्छन् । कोरोना महामारीको समयमा बिरामी धेरै आउने भएकाले उनीहरूको पनि ड्युउटी समय थपिएको छ । 

बिरामीको चाप भएको समयमा दैनिक १२ घण्टासम्म लगातार एउटै पीपीई लगाएर बस्दा निकै गाह्रो हुने स्टाफ नर्स इन्स्पेक्टर जानुका न्यौपानेले बताइन् । 

 

‘अहिले बिरामीको चाप भएको समयमा १२/१२ घण्टा पीपीई लगाएर ड्युटी गर्दा निकै गाह्रो हुन्छ, तर पनि बिरामीको आत्मबल बढाउँदै हाम्रो पनि आत्मबल बढाएर ड्युउटी गरिरहेका छौं,’ इन्स्पेक्टर न्यौपानेले लोकान्तरसँग भनिन्, ‘हामीलाई जति गाह्रो भएपनि बिरामीको उपचार गरिरहेका छौं ।’

समयमा आएका बिरामीलाई भेन्टिलेरबाट पनि बचाएका छौंः डा. सौरभ 

कोरोना भाइरसको संक्रमण भएका गम्भीर प्रकृतिका बिरामीलाई एपीएफ अस्पतालले धेरै नै बचाउन सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. सौरभ श्रेष्ठले बताए ।

‘हामीकहाँ समयमै आएका आईसीयूका बिरामीलाई लगभग बचाएका छौं,’ डा. सौरभले लोकान्तरसँग भने, ‘हामीसँग छुट्टै आइसीयू छ, जसमा लेटेस्ट टेक्नोलाजी प्रयोग भएको छ, त्यसैले धेरैलाई भेन्टिलेटरबाट पनि बचाएका छौं ।’

स्वास्थ्य मापदण्ड पूर्ण पालना

कोरोनाभाइरसको संक्रमण भएका बिरामीलाई उपचार गर्नका लागि सशस्त्र प्रहरी अस्पतालले मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले अपनाउन भनेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेको छ, जसले गर्दा एक वर्षमा कोरोनाका बिरामीलाई उपचार गर्दा पनि २/३ जनाबाहेक अरू डाक्टरहरू संक्रमित नभएको एपीएफ अस्पतालले जनाएको छ । 

‘हामी कहाँ खटिने सिस्टर, पारामेडिक्सलगायत सबै जनाले पीपीई लगायतका स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गनुपर्ने हुन्छ,’ डा. रोशनकुमार झाले लोकान्तरसँग भने, ‘त्यसै कारणले निकै कम स्वास्थ्यकर्मीहरू इन्फेक्टेड भएका छन् ।’

सीसीटीभीको माध्यमबाट निगरानी

अघिल्लो वर्ष मन्त्रिपरिषद्ले कोभिड अस्पताल बनाउने निर्णय गरेसँगै सशस्त्रले शुरूदेखि नै बिरामी राख्ने कक्ष र अन्य ठाउँमा सीसीटीभी जडान गरेको थियो । 

जसले गर्दा बिरामीलाई तेस्रो ठाउँबाट हेर्न सकिन्छ । अन्य बिरामीलाई डाक्टर र नर्सहरूले उपचार गरिरहेको बेलामा अरू कुनै बिरामीलाई अप्ठ्यारो परेको छ कि भन्ने निगरानी हुन्छ । यदि कोही बिरामीलाई अप्ठ्यारो परेमा थप डाक्टर र नर्स तुरुन्त खटिन्छन् ।

३ हजारभन्दा धेरै बिरामीको उपचार

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सशस्त्र प्रहरी अस्पतालले ३ हजार ६९ जना बिरामीको उपचार गरेको छ । यसबीचमा अस्पतालमा उपचारका क्रममा ९७ जनाले ज्यान गुमाएको अस्पतालले जनाएको छ ।

 

 

गगन अर्याल / विश्वास खनाल
गगन अर्याल / विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्