
भारतका योगगुरु बाबा रामदेवले धार्मिक गुरु, नेता र व्यापारीहरू बाहिरबाहिर दुईचारवटा राम्रो काम गर्ने तर पर्दापछाडि अधर्म र भ्रष्टाचार गर्ने गर्छन् भनी आरोप लगाएका छन् ।
त्यस विषयमा कसैले कुरा नगर्ने उनले बताए ।
बुधवार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा बाबा रामदेवले यस्तो टिप्पणी गरेको सुनिन्छ । उनले कटाक्ष गर्दै भने, ‘धर्म र अध्यात्मको कुरा गर्नेहरूलाई सुन्दा राम्रो कुरा गरे यिनीहरूले जस्तो हामीलाई लाग्छ । उनीहरू राम्रो बाटोमा हिँड्न प्रेरित गर्छन् । तर पर्दापछाडि यिनीहरू के के अनाचार र भ्रष्टाचार गर्छन्, त्यो भन्दैनन् । मानिसहरूलाई भिडाइरहेका छौ, रगत बगाइरहेका छौ, त्यो पनि त भन ।’
कर्पोरेट माफिया र बजारवादी शक्तिहरूले गर्दा दुई रुपैयाँ पर्ने वस्तु दुई हजारमा बेचिएको पनि रामदेवले बताए । व्यापारसँगै लुटतन्त्र जोडिएको उनको भनाइ छ ।
उनले योगसाधक र देशवासीहरूलाई यस्ता कुरामा नलागी कर्मयोगी बन्न र आत्मकल्याण गर्न आह्वान गरे । जीवन सार्थक बनाउनका लागि राष्ट्रलाई हित हुने काम गर्न उनले आह्वान गरे ।