'प्रेम आले दाइ इज फ्याट, सो ह्वाट ?'

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

सर्लक्क परेको अग्लो जिउडाल नभएपनि हँसमुख चेहराका धनी वनमन्त्री प्रेम आले मगरलाई धेरैले ह्यान्डसम मन्त्रीका रूपमा हेर्छन् ।

उनी जहाँ–जहाँ पुग्छन्, उनलाई हेर्न के तन्नेरी, के बूढापाका सबैको भीड लाग्छ, मानौं उनी माइकल ज्याक्सन हुन् ।


Advertisement

प्रेम आले वनमन्त्री भएपश्चात महोत्सवहरूमा हात्ती हेर्न भीड लागेजस्तै चितवनमा गैँडा हेर्नेहरूको भीड लागेको थियो।

उनी गैँडाको खाग चोरिनबाट जोगाउन चाहन्थे। आफ्नो देशको गैँडा बाटो बिराएर कतै भारत त पुग्दैनन् भन्ने  चिन्ता उनमा हरदम थियो । 

तर केही प्रतिगामी तत्वहरूले कुरा बुझेनन् र आले दाइको खिस्सी गरे। 

सम्भवत: नेपाली इतिहासमा कुनै मन्त्रीले यसरी गाला फुलाउँदै सिट्ठी फुकेर गैँडा गणना गरेको यो पहिलो घटना  हो।

तर उनले प्राकृतिक सम्पदा संरक्षणका लागि वन जंगलभित्र डुल्ने काम गरेको त वर्षौं भैसक्यो। उनलाई वन जंगलको पहरेदार भन्दा हुन्छ । 

यस्तो वनमन्त्री पाउनु त नेपाली जनताको भाग्यको कुरा हो। 

प्रेम आले वनमन्त्री  हो, त्यही भएर गोठालो जस्तो देखिनुपर्छ भन्ने लागेको होला । तर कर्णाली पारिको मगरको छोरोले पक्कै पनि यार्सागुम्बा गाईको दूधमा मिसाएर खाएको छ, हिम्मत हार्ने कुरै भएन ।

प्रेम आलेलाई नापजाप नमिलेकै कोटपाइन्ट लगाए पनि चट्ट सुहाउँछ ।

घाँटीभन्दा थोरै माथिबाट ब्लेड लगाएर कपाल काट्यो भने उत्तर कोरियाली शासक किम जोङ उनको जुम्ल्याहा दाजुभाइजस्तो देखिन्छ । फरक यत्ति हो- किम प्राणघातक परमाणु बम फुक्छन्, हाम्रा आले दाइ मुखले जीवनदायक अक्सिजन फुक्छन् ।

उनलाई देख्दा मानिसहरू त के जंगलका जीवजन्तुको मुटु पनि लगलग काँप्छ ।

साथीहरू भन्दै थिए, ३ इञ्च छाला सर्ने गरी 'डिस हान्ने' दुर्गा प्रसाईं समेत आले दाइसँग डराउँछन् अरे !

प्रेम आले आफू गल्ती गर्दैनन्, गल्ती गर्नेलाई छाड्दैनन् । ३ इञ्च त के, ७ इञ्च छाला काडेको अनुभव उनीसँग छ अरे, सानो छँदा जंगलमा मृगको छाला… ।

आफ्नो इज्जत माटोमा मिलाइदिने गरी फेक न्यूज फैलाउनेहरूको छाला त्यसैगरी काड्नुपर्ने सुझाव आले दाइलाई आइरहेको मैले सुनेको छु ।

नाम चलेकै अनलाइनमा एउटा समाचारको शीर्षक थियो- 'यो सिलिन्डर कसको आलेको, आलेको फोटो टालेको ।'

सामाजिक सञ्जाल फेसबूकमा केही समयअगाडि एक जनाले स्टाटस लेखेका थिए, 'वन कसको आलेको, भुँडी ठूलो पालेको, गैँडा गन्न थालेको ।'

ट्विटरमा एक जनाले लेखेका थिए- 'यो रुख कसको आलेको, कार्बनडाइअक्साइड फालेको ।'

यो त अति हुन थाल्यो । हाम्रो आले दाइलाई मान्छेले चिनेकै छैनन् ।

काठ तस्करहरूले एक अर्ब कमिसन दिन्छुभन्दा पनि नलिएका तथा इमान्दार छवि भएका दाजूलाई यसरी हेप्ने ? डिस हान्ने ?

लेख्ने नै भए लेख्नु नि– 'सिलिन्डर कसको आलेको, कस्तो राम्रो कदम चालेको !', 'यो वन कसको आलेको, अक्सिजन नै फालेको, खिस्सी गर्ने को हुन् ? दिमाग छैन सालेको ?', 'मान्छे अलिअलि जिरो छ, हाम्रो आले दाइ हिरो छ', 'आले दाइले सिट्ठी फुकेको, शरीर छैन सुकेको, गैँडा किन लुकेको ?'

तपाईं मान्नुस्, नमान्नुस्, प्रेम आलेको ज्यान खानदानी हो ।

घुस खाएर होइन, घिउ खाएर मोटाएको मान्छे हुन् । शारीरिक बनावटलाई लिएर किन कमेन्ट गर्नु ? किन मजाक उडाउनु ?

मोटो भएर के बिग्रियो, कुनै माइकलालको फलामको खाट भाँचिदिएका छैन क्यारे ! फलामको खाट त के प्लास्टिकको कुर्सी पनि भाँचिदिएका छैनन् ।

गाडीको टायरबाट हावा फुस्काइदिएको पनि छैन । कसैले आले दाइलाई काँधमा बोकेर बजार घुम्नु परेको पनि छैन ।

त्यसैले मजाक उडाउनेहरूलाई मेरो प्रश्न छ- प्रेम आले दाइ इज फ्याट, सो ह्वाट ? 

चिन्ता किन गर्नु ? युवा थिए र बिहे गर्न बाँकी थियो भने पनि उनलाई हेर्ने युवतीहरूको कमी हुन्थेन । उनको पछाडि युवतीहरूको लाइन कति छ, कति ।

केही दिनअगाडि यूकेमा बस्ने एक दिदीले भन्दै थिइन्, 'मन्त्री पाएँ भने त म जस्तोसुकै भए पनि बिहे गर्छु । अझ प्रेम आले त मलाई कस्तो मन पर्छ । उनको स्माइल साह्रै राम्रो छ ।'

पूर्वका मुख्यमन्त्री  शेरधन राईको श्रीमती जस्तै एकाएक चर्चित हुने उनको रहर रहेछ । (बालिका खड्का भनेको हैन है) ।

उनको रहर चितवन राष्ट्रिय निकुञ्जमा गएर गैँडासँग सेल्फी खिच्ने पनि रहेछ। यस्तो सपना वनमन्त्रीले मात्रै पूरा गराइदिने उनको बुझाइ मैले पाएँ ।

गैँडाको नाम लिँदा एउटा कुरा याद आयो। 

आले दाइलाई गैँडा गन्नका लागि हात्तीमाथि चढ्नु थियो।

संसारको एकदम विश्वविख्यात खेलाडी पनि जिम्नास्टिक हानेर हात्तीमाथि चढेको कतै देखिएको छैन। 

उनी आफ्ना  केही साथीभाइको सहयोगमा हात्तीमाथि चढे । चढ्नलाई भर्‍याङ प्रयोग गरे । अनि सिट्ठी फुकेरै गैँडा गने ।

गैँडा पनि खुरुखुरु सिट्ठीको तालमा आए । यस्तो डरलाग्दो हिम्मत त राजेन्द्र खड्गीको पनि छैन। 

प्रेम आले दाइ डोटीबाट निर्वाचित  सांसद  हुन्। फलानो नेताको प्रेमिकाजस्तो समानुपातिकमा झुण्डिएका हैनन्। उनको छुट्टै शानमान छ।

आफ्नै पार्टीका नेतालाई वाइडबडी खाएको भनेर प्रमाणसहित छाती पिटेर भन्नसक्ने हिमम्तवाला मान्छे हुन् उनी ।

सिलिन्डरमा फोटो टाँसिएको कुरा आफूलाई  थाहा नभएको भनेर पनि उनले छातीमा हात राखेर भनिसकेका छन् ।

जब कोही मानिसले यसरी छातीमा हात राखेर भन्छ नि, त्यो कुरा विश्वास गर्नु हाम्रो दायित्व हो। 

एकबारको जुनीमा उनले एकपटक चाहिँ गलत बोलेकै हुन्, रुखबाट कार्बनडाइअक्साइड पाउने र हामीले रुखलाई अक्सिजन दिने कुरा …।

दाउराको कमी हुन नदिने कुरा त उनले एकदम खतरा बोलेका हुन् ।  यसमा उनले किन माफी माग्नुपर्ने ?

फेरि अर्कोपटक यस्तो खतरनाक कुरा नबोलिदिए पुग्छ। भनिन्छ नि, कति कुरा नबोलेर नै मीठा हुन्छन्। 

मगरहरू साह्रै इमान्दार हुन्छन् । जे मुखमा आयो त्यही फ्याट्ट भन्ने आदत हुन्छ । 'कड सी' जान्दैनन् । साहित्यिक कुरा गर्दैनन् ।

म तीन करोड नेपाली जनताको मनमा बस्न सफल प्रख्यात स्तम्भकार भएको पनि यस्तै बानीले गर्दा हो ।

जे आउँछ, मज्जाले पचाउँछ भनेजस्तै प्रेम आलोको भुँडी हेरेर तपाईंहरूले जे पायो त्यो नभन्नुहोस्। दिमाग लगाउने पेटले हैन टाउकोले हो।  

उनको भुँडी हेर्दा अलिकति ठूलो हो, तर जे खान्छन्, मज्जाले पचाउँछन्।

आजको मितिसम्म उनलाई कब्जियत भएको छैन।

दौडिन नसक्ने मात्र हो, उनीसँग प्रतिस्पर्धा गर्न मृग पनि डराउँछ ।

महायज्ञमा १ लाख दान दिँदा पूरै परिवारलाई डोली चढाउन हुने, आले दाइले ३० लाख खर्च गरेर आफैं सिलिन्डर बाँड्दा फोटो टाँस्न किन नहुने ?

हेर्दै जानुहोला, अब प्रेम आलेले एकदिन भ्याक्सिन पनि मगाउनेछन् र आफ्नो मतदातालाई  लगाइदिनेछन् । किनकी प्रेम आले धन नभए पनि मन भएको मान्छे हो। मगरको छोरो हो, आँट्यो भने ठोकेरै छाड्छ ।

प्रेम आले दाइले फोक्सोबाट श्वास पूरै फ्याँकेर सिट्ठी फुक्दा गैँडा आफैँ हाजिरी लगाउन आउँछन् । एक कल फोन गरेपछि हेलिकप्टर जता भन्यो उतै उड्न सक्छ । मन्दिरमा घण्टी चढाउँदा घण्टीमा नाम लेखिए जस्तै अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर कुनै पाप गरेका हैनन्, बरु धर्म कमाएका छन् । 

प्रेम आलेलाई आत्मप्रचारको  कुनै भोक छैन, किनकी अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका, नाकाबन्दीको समयमा  भारतीय नेताहरूसँग वार्ता गर्न गएका चर्चित पत्रकार ऋषि धमलालाई ठाउँको ठाउँ अन्तर्वार्ता दिन सक्ने हिम्मत भएका मान्छे हुन्, उनी।

नेपालमा आले मात्रै एक त्यस्ता व्यक्ति हुन्, जसले ऋषि धमलालाई उल्टै प्रश्न सोधेर र्‍याखर्‍याख्ती पार्छन् । यस्ता कडा हुन्छन्, मगरका छोरा ।

एक जनाले कतै लेखेको थियो, 'हात्तीमाथि प्रेम आले चढेको हो कि, हात्ती प्रेम आलेमाथि चढेको हो ।'

त्यसैगरी 'गैँडाले मान्छे गणना गरेको हो कि मान्छेले गैंडा गणना गरेको हो' भन्ने पनि कतै लेखेको थियो। यो त साहित्यको कुरा न भयो।

 तर प्रेम आले कसैले यसरी खिस्सी गर्दैमा दुब्लाउने मनुष्य हैनन् ।​ झनझन् खाइलाग्दो र हृष्ठपुष्ठ हुँदै जानेछन् । झनझन् ह्यान्डसम बन्दै जानेछन्। मगरको छोरा यस्तै ह्यान्डसम हुन्छन् ।

यो लेख पढेपछि पक्कै पनि अब यो सरकारको गियर सिधै ७ नम्बरमा जान्छ । सिधै ७ नम्बरमा गेर हालेपछि तपाईंहरू रोडमा नजानुहोला, सिधै समुद्रमा हाम्फाल्नुहोला ।

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्