नागरिकले चुनेका प्रतिनिधिले नै बिगारेको देश : देश बनाउन कस्तो हुनुपर्छ हाम्रो भूमिका ?

हामी यस्तो देशका नागरिक हौँ, जहाँ पीएचडी डाक्टर, प्रोफेसर, इञ्जिनीयर, अर्थशास्त्री, पत्रकार, बैंकर साथै अन्य पेशामा आबद्ध पढेलेखेका नागरिकहरू एसएलसी फेल भएका र मन्द बुद्धि भएका नेतालाई भोट हालेर सुन्दर भविष्यको कल्पना गर्दछौँ । जसको चेतनामा देशको सर्वाङ्गीण विकास नभएर आफू र आफ्ना भरौटेहरूको पुस्तौँ पुस्ताको मात्र मतलब छ ।

हामीकहाँ भइरहेको घिनलाग्दो राजनीतिले हाम्रा लागि सोच्ने काम बनाइदिएको छ, किनकी सचेत नागरिकका लागि यो व्यवस्था पचाउनु चानचुने कुरा होइन। जसले लामो समयपछि हाम्रो सोच्ने क्षमतालाई कमजोर बनाइदिन्छ। तर त्यो बेला पनि सोचाइमा नै दमन भएका मुठ्ठी भरका केही व्यक्तिले हाम्रा लागि के ठीक छ र के बेठीक छ भन्ने निर्णय लिँदै फाइदा लिनेछन् ।


Advertisement

एकदिन यस्तो आउनेछ कि तिनै खराब पात्रहरूले  राजनीति गर्ने पार्टी  नरहला तर हामी चुप लागेर बसी रह्यौं भने यो नेपाल भन्ने देश नै रहने छैन। तपाईंलाई यदि यो देशको चिन्ता छ भने मिलेर एकजुट भई  क्रान्ति गर्ने बेला आएको छ। एउटा यस्तो क्रान्ति जसको नेतृत्व राजनैतिक पार्टीले होइन सर्वसाधारण जनताले गर्नेछन्। अब एउटा यस्तो  सरकारको जरुरी छ, जहाँ जनताले चुनेका व्यक्तिले होइन जनता आफैँले आफ्नो निर्णय गर्नेछन् र जनप्रतिनिधिलाई त्यो कुरा मञ्जुर हुनेछ।

दैनिक जीवनमा आइपर्ने सामान्य समस्या समाधान गर्न नसकेर जब एउटा घरका ३ भाइ आपसमा लड्दा मात्रै  त घर तहसनहस हुन्छ भने सम्झनुस् त वर्षौँसम्म राजनैतिक पार्टी र तिनका गुट एक आपसमा लड्दा देश तहसनहस नभएर के हुन्छ? तर यसको कसलाई हेक्का? कसलाई ख्याल?यहाँ त राजनीतिका नाममा समाजलाई बिखन्डनकारी मार्गमा धकेलेर सत्तामा लिप्त हुने परम्परा जो चलेको छ ।

अहिलेसम्म नेपाली जनता जुनसुकै तन्त्रका लागि लडे पनि  उनीहरूको लडाईं केबल जनताका दु:खका नारा बेच्ने काम मात्रै भयो। जसले सबै कुराहरूको मतलब नगरे पनि नातावाद र कृपावादको रक्षार्थ भूमिका निर्वाह गर्न कसुर बाँकी राखेन। जनताका दु:खका नारा केबल मुकुण्डो बन्यो नेपाली राजनीतिमा। हामीले चुनेर पठाएका राजनैतिक पार्टीका नेताहरूले राजनीनिका नाममा व्यापार, घुसखोरी र भ्रष्टाचार गरेर आफ्नो चप्पललाई जुत्तामा परिणत मात्रै गरेनन्, बिस्तारै बिर्सिए उही चप्पलले टेकेको जमिन र त्यो‌ हैसियत बनाइदिने नागरिकलाई पनि।

हुन त हामीले चुनेर पठाएका राजनैतिक पार्टीका तिनै छद्मभेषी नेताहरूले हामीलाई नै धोका दिएको कुरा थाहा पाउँदापाउँदै पनि हामीले आफूलाई नसुधारेकै हौँ। त्यसो हुँदैन थियो भने हामीले सही के हो र गलत के हो छुट्याएर सही निर्णय लिन सक्नुपर्थ्यो। त्यहाँनेर हामी चुकेकै हौँ।

पानी परेको बेला घरको छतबाट पानी चुहिएको छ भने झ्याल बन्द गरेर पानी छल्ने दुष्प्रयास गर्नु हुँदैन, छतको मर्मत गर्नुपर्छ। दुर्भाग्य! हामी त्यही झ्याल बन्द गर्दै बसिरह्यौँ वर्षौँसम्म, तर समस्या छतमा थियो। हाम्रो यही दुष्प्रयासले घर लड्नेछ एकदिन। त्यसैले देशलाई बलियो बनाउने हो भने स्थिर र नागरिकमुखी राजनीतिको खाँचो छ ।

पटक-पटक भएका विभिन्न राजनैतिक बहानामा, परिवर्तनका बिगुल भनिने आन्दोलनका नाममा फलानो चोर देश छोड् भनेर जुलुस निकाल्ने जनताहरू नै विदेशिन बाध्य भइरहे। तर जसलाई देश छोड् भनेर नारा लगाइयो तिनै यो देशमा तपाईंलाई विस्थापित गरेर तपाईंले पठाइएको रेमिट्यान्सको पैसाले सुविधासम्पन्न जीवन बिताइरहेका छन् ।

तपाईंले देश मात्र छाड्नु भएन, तपाईं फर्केर आउँदा छाडेर गएका आफन्तहरूले संसार नै छाडेर गए। यति हुँदा पनि हामी व्यवस्था परिवर्तनका लागि खासै जिम्मेवार नागरिक जसरी उत्रिएका छैनौँ।

जुन कुराले उनीहरूको मनोबल उच्च भएको छ। जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा जानेहरूको सङ्ख्या अत्यन्तै न्यून छ। र यो पनि छ कि जो त्यो उद्देश्य लिएर राजनीतिमा जान्छ, उसलाई विभिन्न चाल चलेर पाखा लगाइन्छ। जसको परिणामस्वरूप जनताको सेवा गर्न राजनीतिमा लाग्नेको सट्टा जनताबाट सेवा पाउन राजनीतिमा लाग्नेको हालिमुहाली चलिरहेको छ।

अहिलेको खस्किएको  शैक्षिक स्तरको मुख्य कारण नै अस्थिर  राजनीति हो। हामीसँग भएका संरचनाले जनतालाई सुसूचीत र शिक्षित बनाउन मद्दत गर्दै, किनकी जब जनता शिक्षित र सचेत हुन्छ्न् तब उनीहरूले खराब व्यवस्थाका विरुद्ध प्रश्न गर्ने छन्।

त्यो प्रश्नको जवाफ दिने क्षमता अहिलेका नेताहरूमा छैन।  बौद्धिक दक्ष भइदिएका भए हामीले यो दिन किन देख्नुपर्थ्यो ? त्यसैले उनीहरू जनतालाई प्रश्न सोध्न सक्ने लायक बनाउने शिक्षा प्रणाली लागू गर्न नै चाहँदैनन्। जुन प्रणालीलाई हामी शिक्षा प्रणाली भन्छौँ त्यो परीक्षा प्रणाली मात्र हो। यसले केबल परीक्षामा सामेल भएबापत उतीर्ण र अनुतीर्ण गराउँछ। ज्ञान दिँदैन।

त्यस्तै बिहान-बिहान चिया पसलमा सरकार र पार्टीका मुखपत्र जस्ता पत्रपत्रिका पढेर नेता भनेको हाम्रो पार्टी वा गुटको जस्तो हुनुपर्छ भनेर आफ्नै छिमेकीसँग झगडा गर्नुको साटो हाम्रो भविष्य  कस्तो हुनुपर्छ?  हामीले  रोजेको गन्तव्यमा  कसरी पुग्न सकिन्छ? त्यसका लागि कस्तो नेतृत्व चाहिन्छ ? त्यो नेतृत्व निर्माणमा मेरो भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा छलफल  गर्ने बेला आएको छ, किनकी एक सचेत नागरिकको धर्म भनेको खराब व्यवस्थाका विरुद्ध बुद्धिमानी तरिकाले लड्नु पनि हो।

अधिकांश नेतृत्वमा  भएका असक्षमता केवल नेताको मात्र समस्या  होइन। यो त हाम्रो देशकाे नेतृत्व संस्कृतिको (leadership culture) प्रतिविम्ब मात्रै हो। त्यसकारणले दशकौँदेखि एउटै परिणाम दिने नेताहरूबाट हाम्रो देश ग्रसित छ। जसले देशलाई भित्रभित्रै खोक्रो बनाइरहेका छन्। कहिले सहयोगको नाममा त कहिले ‌केका नाममा, खासमा नेपालीलाई सहयोगको आवश्यकता नै छैन।

हामीलाई  त केवल राम्रो नेतृत्वको आवश्यकता छ। कुनै पनि राष्ट्रको आर्थिक र समाजिक उन्नति राजनीतिसँग जोडिएको हुन्छ। राजनीति नेतासँग जोडिएको हुन्छ। त्यसैले मुलुकको दीर्घकालीन  विकासका लागि असल चरित्र, सत्य र निष्ठाको पक्षधर, कर्मप्रति लगनशील र वचनको पालना गर्ने नेतृत्वको आवश्यकता पर्छ। अहिले हाम्रो मुलुक खासमा त्यही नेतृत्वविहीन स्थितिमा छ।

हामीले मतदान गरेर केन्द्रमा पुर्‍याएकाहरू राज्यका विभिन्न तहसम्म पुग्दा सुन्दरी र सुरामा यसरी भुल्छन् कि आफू चढेको खुड्किलो र नागरिक पूरै बिर्सिन्छन् । जसका औँठाछाप जो चलिरहन्छन्, तिनलाई नेतृत्वमा पुर्‍याउन। चुनावका बेला बाहेक तिनका पाउ परोस् त गाउँमा घाम पश्चिमबाट उदाउनुपर्छ । हाम्रो हक र हितका लागि गरिने भनिएका निर्णय हुन मध्य रात कुर्नुपर्छ।

तपाईं हाम्रा लागि भनेर गरिएका ठूल्ठूला निर्णय र तपाईंहाम्रा हितमा थिएनन्, छैनन् र हुँदैनन् पनि। बन्द कोठामा सम्झौता हुन्छ, समस्याको समाधान हुँदैन ।

सामान्य परिस्थितिमा मध्यरातमा थाहा नदिई त चोरी मात्र हुन्छ। कतै अहिलेसम्म भएका सम्झौता र निर्णयहरूले तपाईं हाम्रा सपना, हकहित र भविष्यको चोरी त भएको छैन? अब आफ्नो हक अधिकार र देशको समुन्नतिका लागि लड्ने कि तपाईंका हक अधिकारलाई एकातिर मिल्काएर आफ्नो स्वार्थ परिपूर्ति गर्दै विदेशीको इशारामा दौडनेको पछाडि लाग्ने? छनौट तपाईं हाम्रो नै हो। तपाईंको छनौटले तपाईं हाम्रो भविष्य निर्धारण गर्नेछ ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्