२६ जेठ २०८३, मंगलबार

सभामुख सापकोटाको पहलमा सिन्धुपाल्चोकका बाढीपीडितलाई खाद्यान्न सहयोग

असार २, २०७८
सभामुख सापकोटाको पहलमा सिन्धुपाल्चोकका बाढीपीडितलाई खाद्यान्न सहयोग

अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका स्थानीयलाई सिल्क ग्रूपले खाद्यान्न सहयोग गरेको छ ।

सिन्धुपाल्चोकका जनप्रतिनिधि एवं प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिल्क ग्रूपले २०० बोरा चामल सहयोग गरेको हो ।

सिल्क ट्रान्सपोर्टमार्फत प्राप्त चामल आज बुधवारै सभामुख सापकोटाले मेलम्ची–इन्द्रावती क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समितिका संयोजक कृष्णगोपाल तामाङलाई हस्तान्तरण गरे ।
 
खाद्यान्न सिल्क ग्रूपले मेलम्चीमा पुर्‍याएर हस्तान्तरण गरेको हो । खाद्यान्न आज बुधवारै प्रभावित क्षेत्रमा पुर्‍याइएको छ । सिल्क ग्रूपले बाढीपहिरो पीडितलाई १०० वटा त्रिपाल र म्याट्रेस पनि सहयोग गर्दै छ ।
 
तातोपानी भन्सारमा रहेको त्रिपाल र म्याट्रेस मेलम्चीका लागि हिँडाइएको सिल्क ग्रूपका अध्यक्ष रमेश तामाङले जानकारी दिए । हिमालय सीमापार व्यापारमा संलग्न सिल्क ग्रूपले यसअघि पनि प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।
 
सिल्क ग्रूप उत्तरी नाका विशेषगरी तातोपानी नाकामार्फत नेपाल–चीन व्यापारमा क्रियाशील रहेको छ । सिल्क ग्रूपले कोरोना भाइरसको दोस्रो लहरका बेला नेपालमा अक्सिजन सिलिन्डरको चर्को अभाव भएका बेला चीनबाट १४ हजार सिलिन्डर आयात गरेको थियो ।
 
३ दिनदेखिको अविरल वर्षापछि मंगलवार साँझ सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । बाढीमा परेर दर्जनौं बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।

सभामुख सापकोटासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ प्रभावित क्षेत्रमा पुगेर उद्धार, व्यवस्थापन तथा राहत वितरणमा जुटेका थिए । बाढीले मेलम्ची बजारका अधिकांश क्षेत्र डुबानमा पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्