दमकका ७ विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था

प्रतिकात्मक तस्वीर

रोटरी क्लब अफ दमकले झापाको दमकका ७ सामुदायिक विद्यालयमा स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ ।

हेप्पी स्कूल कार्यक्रम अन्तर्गत रोटरीले स्वच्छ खानेपानीको सुविधा पुर्‍याउन दमकका विभिन्न ७ विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ । 


Advertisement

दमक रोटरीका पूर्व अध्यक्ष समेत रहेका खानेपानी परियोजनाका संयोजक सन्दिप चापागाईले खानेपानीको धारा नपुगेका ग्रामीण भेगका विद्यालयमा त्यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।

यसैक्रममा दमक–४ स्थित अडियामलमा रहेको विद्योदय आधारभूत विद्यालयमा निर्मित खानेपानी परियोजनाको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् । रोटरीले सो खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण पनि गरिसकेको छ । 

रोटरीले प्रत्येक वर्ष हेप्पी स्कूल कार्यक्रमअन्तर्गत स्थानीय सामुदायिक विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन त्यस्तो परियोजना सञ्चालन गर्दै आएको छ । रोटरी क्लब अफ दमककी अध्यक्ष शान्ता नेपाल ढकालले सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी बर्सेनि परियोजनामार्फत खानेपानीको व्यवस्था गरिँदै आएको बताइन् ।

रोटरीले आन्तरिक स्रोत जुटाएर स्वच्छ पिउने पानीका लागि ट्यांकी लगायतका संरचना निर्माण गरिआएको छ ।

कमेन्ट गर्नुहोस्