पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी कार्यान्वयनमा ल्याएको ६ वर्ष पनि व्यतित हुन नपाउँदै संविधान नेपालमा असफल भयो । यसकारण नयाँ संविधान जारी गर्नुपर्छ भन्ने आवाज यदाकदा सुनिन थालेको छ ।
विक्रम संवत २००४ सालमा जारी भएको नेपालको वैधानिक कानूनदेखि २०७२ सालको नेपालको संविधानसम्म आइपुग्दा हामीले ७ वटा संविधान जारी गरिसकेका छौं । आनुपातिक हिसाबले हेर्दा प्रत्येक १० वर्षको अन्तरालमा एउटा संविधान खारेज गर्दै अर्को नयाँ संविधान जारी गर्ने गरेको देखिन्छ । संविधान मानौं प्रत्येक १० वर्षमा फेरिने भित्तेपात्रो जस्तो भएको छ ।
संविधान परिवर्तन गरिरहँदा सायद विश्वमा प्रचलित अधिकांश राजनीतिक व्यवस्था र अन्तर्राष्ट्रिय कानूनहरू संविधानमार्फत कार्यान्वयनमा ल्याइसकेका छौं । विगत ७ दशकको अवधिमा संविधान परिवर्तन गर्ने सन्दर्भमा नेपाल विश्वको प्रथम राष्ट्र बनेको छ ।
अमेरिकामा सन् १७८९ अर्थात आजभन्दा २३२ वर्षअघि कार्यान्वयनमा आएको संविधान हालसम्म कार्यान्वयनमा रहेको छ । अमेरिकाको संविधान विश्वको सबैभन्दा छोटो संविधान मानिन्छ, जसमा जम्मा ७ वटा धाराहरू र ती धाराहरूभित्र विभिन्न दफाहरू उल्लेख भएको पाइन्छ । विश्वकै छोटो र पुरानो संविधान भएर पनि अमेरिका आज विश्वकै सबैभन्दा शक्तिशाली र समृद्ध मुलुक बनेको छ । अमेरिकाको यो अभ्यासबाट के प्रमाणित हुन्छ भने संविधान कोर्नुभन्दा कार्यान्वयन बढी हितकर हो ।
त्यसैले त एचएलए हार्टले भनेका छन्, ‘कानून लेखन एउटा कुरा हो भने कानूनको कार्यान्वयन अर्को ।’ कानून निर्माणले मात्र पुग्दैन, त्यसको कार्यान्वयन पनि सफा मनले हुुनुपर्यो ।
संविधान आफैंमा परिवर्तनशील तथा गतिशील दस्तावेज हो । संविधानमा नै संविधान संशोधन सम्बन्धी व्यवस्था गरिएको हुन्छ । संविधान संशोधन सम्बन्धी व्यवस्था नेपालको संविधानको धारा २७४ मा व्यवस्था गरिएको छ भने अमेरिकाको संविधानको धारा ५ मा संविधान संशोधन सम्बन्धी व्यवस्था गरिएको छ ।
हामीले ७ वटा संविधान परिवर्तन गर्दाको समयमा अमेरिकाको संविधान ५ पटक मात्र संशोधन भएको छ । २३२ वर्षको समयावधिमा अमेरिकाको संविधान २७ पटक संशोधन गरिएको छ । अचम्मको सन्दर्भ के छ भने अमेरिकामा सन् १९९२ मा सबैभन्दा पछिल्लो पटक संविधान संशोधन भएको थियो र संशोधनको प्रस्ताव सन् १७८९ मा नै गरिएको थियो । संशोधनको प्रस्ताव गरिएको २०३ वर्षपछि मात्र संशोधन भएको देखिन्छ ।
जापानको संविधान १९४७ मा अमेरिकी सेनाका अधिकारीहरूबाट निर्माण गरिएको थियो । दोस्रो विश्वयुद्धमा परमाणु हतियार समेत प्रयोग गरी लाखौं जापानीहरूको ज्यान लिने सेनाका अधिकारी तत्कालीन नेटो सेनाध्यक्ष अमेरिकी नागरिक म्यकअथरबाट संविधान निर्माण भई जारी गरिएको थियो । जारी भएको ७ दशकभन्दा पनि लामो अवधिसम्ममा जापानको संविधानमा कुनै संशोधन गरिएको छैन । आफ्नो शत्रु राष्ट्रको नागरिकबाट तयार गरिएको संविधानमा नागरिकको अपनत्व हुन सक्दैन भनेर हालसम्म जापानी नागरिकबाट आन्दोलन गरिएको छैन तथा संविधानमा भएका प्रावधानहरू परिवर्तन गरिएको समेत छैन । तथापि जापान आज विश्वकै समृद्ध मुलुक सूचीमा रहेको छ । जापानी जनताहरू सुखी र सम्पन्न रहेका छन् ।
संविधान शासन व्यवस्था सञ्चालन गर्ने सरकारको मार्गदर्शन हो र यसले राजनीतिक पद्धतिको स्थापना साथै आर्थिक राजनीतिक तथा सामाजिक अधिकारको प्रत्याभूति गराउँछ । संविधान कानूनको स्रोत, राज्यका अंगको स्थापना तथा सञ्चालन, जनताका अधिकार लगायतका विषयहरू उल्लेख गरिएको हुन्छ र नेपालको संविधानमा उल्लेख गरिएको छ ।
नेपालको वैधानिक कानूनमा ६८ वटा धारा समावेश गरी शुरू गरिएको नेपालको संवैधानिक इतिहासमा हालसम्म आइपुग्दा ३०८ वटा धारा समावेश गरिएको छ । यसले के स्पष्ट गरेको छ भने हामीले संविधानलाई अझ बढी विस्तृत र स्पष्ट पार्दै लगिरहेका छौं । अर्कोतर्फ अमेरिकाको संविधानमा जम्मा ७ वटा धारा मात्र रहेका थिए र हालसम्म पनि ७ वटा धाराहरू नै रहेका छन् ।
संविधान जारी हुँदाका बखत अमेरिकामा रहेका काला जातिका मानिसले व्यक्तिको मान्यता पाएका थिएनन् । १८५७ मा आएर मात्र काला जातिका मानिसहरूले व्यक्तिको मान्यता पाएका थिए । आज विश्वमा सबैभन्दा बढी व्यक्तिगत अधिकारको उपभोग गर्ने व्यक्तिहरू अमेरिकन नागरिक रहेका छन् भन्दा फरक नपर्ला ।
सन् १८६१ देखि १८६५ सम्म चलेको अमेरिकन गृहयुद्धमा ६ लाखभन्दा बढी अमेरिकनहरूले ज्यान गुमाएका थिए । तत्कालिक अमेरिकन राष्ट्रपतिहरू अब्राहम लिंकन, गार फिल्ड, म्यकेन्ली र केनेडीको हत्या गरिएको थियो । रुजवेल्ट रेगन जस्ता लोकप्रिय राष्ट्रपतिमाथि आक्रमण गरिएको थियो । गत वर्ष मात्रै जर्ज फ्लोयड नाम गरेको अस्वेत नागरिकलाई सामान किनेको पैसा नदिएको आरोपमा स्वेत प्रहरीले घाँटी थिचेर मारेको विषयमा ठूलो आन्दोलन भएको थियो । तथापि अमेरिकनहरूले संविधानको विरोध गरेको देखिएन तथा संविधान परिवर्तन गर्नुपर्छ भनी आवाज उठाएको सुनिएको छैन । अमेरिकन नेता तथा जनताको संविधानप्रतिको सम्मान विश्वास र पालनाको कारणले अमेरिकाको संविधान जीवन्त तथा अटल रहेको छ ।
आमनागरिकबाट निर्वाचित भई प्रतिनिधित्व गर्ने निश्चित व्यक्तिहरूले बनाएको संविधान मात्र राम्रो तथा स्थायी हुने भनाई जापानको सन्दर्भमा बिलकुलै मेल खाँदैन ।
पटक–पटकको संविधान परिवर्तनको मूल लक्ष्य नै राजनीतिक व्यवस्थाको स्थायित्व, न्यायपूर्ण समाजको स्थापना, देशको विकास तथा जनतालाई अधिक अधिकारको प्रत्याभूति समेतका लागि हो भनी बताइन्छ । विश्वकै सबैभन्दा उत्कृष्ठ संविधान बनेको भनि आमरूपमा प्रचारप्रसार पनि गरिन्छ । तर पनि नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट उम्किन सकेको छैन । वैदेशिक ऋण बढ्दो छ । निर्यातको तुलनामा आयात दशौं गुणा बढी रहेको छ । आम सर्वसाधारणहरू आधारभूत आवश्यकताको अभावमा जीवन जिउन बाध्य छन् । विकासका पूर्वाधारहरूको अवस्थामा सुधार हुन सकेको छैन । राज्यका प्रमुख अंगहरू नै विवादमा आइरहेका छन् । देशको सार्वभौमिक समानताको अवस्था स्खलित हुँदै गइरहेको छ । राजनीतिक पद्धतिको स्थायित्व हुन सकेको छैन । संविधान परिवर्तनले उल्लेखनीय परिवर्तन ल्यायो त ?
नेपालमा संविधान परिवर्तनका घटनाक्रमलाई विश्लेषण गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने तात्कालिक राजनीतिक शक्तिले आफू अनुकूल शासन व्यवस्था सञ्चालन गर्नका लागि नै पटक–पटक संविधान परिवर्तन गरेको छन् । कुनै राजनीतिक दल वा शक्ति शासन व्यवस्थामा पहुँच पुग्नासाथ संविधान परिवर्तन गरे । चाहे त्यो शक्ति राजसंस्था होस् वा राजनीतिक दल नै किन नहुन्, यस्तो लाग्छ कि नेपालमा संविधान परिवर्तनको उद्योग चलेको छ र समय–समयमा संविधान निर्माण भइराखेको छ ।
कुनै निश्चित संविधान अन्तर्गतको शासकीय प्रणालीको लामो समयसम्म अभ्यास गरेपछि मात्र राजनीतिक संस्कार बन्दछ । राजनीतिक मूल्य मान्यता निर्धारण हुन जान्छन् । त्यसैगरी संवैधानिक नैतिकता पनि तयार हुन्छ । अन्त्यमा राजनीतिक स्थायित्व कायम रहन्छ ।
हामीले कुनै राजनीतिक शासन प्रणालीलाई अभ्यास गर्दै गरेनौं र गर्ने आवश्यकता पनि ठानेनौं । हाम्रा नेतृत्वकर्ताहरूले आफूले गर्न नसकेको दोष संविधानलाई लगाए र आमजनता पनि विश्वास गरेर सडकमा पुगे र निर्वाचनमा तिनैलाई मत दिई आफूलाई शासन गर्न अनुमति दिए ।
२०४७ सालमा विश्वको सबैभन्दा उत्कृष्ठ भनिएको संविधान निर्माण गर्ने ठूला शक्ति वा दलहरूले नै १५ वर्ष नपुग्दै संविधानसँगै राजनीतिक व्यवस्था परिवर्तन गर्न आह्वान गरे र परिवर्तन गराए । २०४७ सालको संविधानलाई आरोपित गरे कि जसका कारण देशमा विकास समृद्धि र शान्ति न्याय व्यवस्था अपहरण भयो । २ दशक पनि कायम रहन नसक्ने संविधान निर्माण गर्नेहरूले निर्माण गरेको हालको संविधान पनि शताब्दीऔंसम्म कायम रहन्छ भनी कसरी विश्वास गर्न सकिएला ।
नयाँ संविधान बन्ने र बनाउने हाम्रो क्षमता वा संस्कारले गर्दा सयौं वर्ष नेपालमा शासन गर्ने राजा पनि आफ्नो दरबारबाट खेदिएर सामान्य जीवन जिइरहेको तथ्य पनि सत्य रहेको छ । पटक–पटक संविधान परिर्वतन गराई राजनीतिक शक्तिमा रही शासन चलाउने तत्कालीन नेताहरू आगामी दिनमा देशको भूगोल वा आफ्नै घरबाट निकाला नहोलान् भन्न सकिँदैन ।
अन्त्यमा भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरले भनेका थिए – संवैधानिक अधिकारीले आफ्नो संवैधानिक अधिकार संवैधानिक नैतिकताको विपरीत हुने गरी काम गर्नु हुँदैन र संवैधानिक नैतिकता सामान्य विचार वा व्यवस्था होइन । यसको सिर्जना गरिनुपर्छ । कुनै पनि राष्ट्रको राजनीतिक व्यवस्थाको स्थायित्वको लागि न त संविधानको आयू लामो हुन आवश्यक छ, न त आफैं बनाएको हुनुपर्छ वा नयाँ नै हुनुपर्छ । संविधानवादमा आधारित भई निर्माण गरिएको संविधान अन्तर्गत नेतृत्वमा रहने व्यक्तिहरूमा संवैधानिक नैतिकता हुन आवश्यक रहन्छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...