गैरदलितलाई एक दलित साथीको चिठ्ठी

गैरदलितलाई एक दलित साथीको चिठ्ठी
  • ओमप्रकाश सुनार

Advertisement

२०७८-३-१३


Advertisement

प्रिय साथी, म तिमीलाई एउटा चिठ्ठी लेख्दैछु, झर्को नमानी पढ्नू ।

आज मलाई फरक चिठ्ठी लेख्न मन लाग्यो । आशा छ, तिमीले पक्कै पढ्नेछौ ।


Advertisement

अहिले जात व्यवस्था र विभेदको चर्चा/परिचर्चा चलिरहेको छ । यो विषय अहिले सामाजिक सञ्जाल कुहिरो मडारिएको छ ।

सिंगो दलित समुदायको भोगाइ, वर्तमानसँगै कानून पक्षको व्यवहार र आरक्षणबारे चिठ्ठी लेख्दैछु ।

अहिले गैरदलितले दलितको मुद्दामा बोल्दा लेख्दा खुशी लाग्छ, तर व्यवहारमा र वास्तविकतामा फरक छ ।

यथार्थको धरातलमा टेकी भोकै कुराहरू गर्दैछु । हामी धेरै टाढा जानु पर्दैन, मैले र मेरै समुदायले सानै उमेरबाट विभेद भोग्दै आइरहेका छौं । तिमी त्यसको रमिते साक्षी भनिरहेका छौं । होइन र?  सोच त  साथी,  तिम्रो समुदायको घरवरिपरि दलितलाई कसरी हेरिन्छ, अनि अपमान, विभेद गरिन्छ । 

शिक्षकले शिक्षा दिँदा लाग्छ, अब विभेद हटिसकेको छ । तर भोलिपल्ट शिक्षकको घरमा जाँदा विभेदको शिकार बन्नुपर्छ ।

त्यस्तो दुर्व्यवहारको शिक्षाले मलाई विद्रोही नबनाएर के बनाउँछ त ? साथी तिमीलाई थाहा छ, दलित र गैरदलितसँगै काम गर्न हुने तर तिम्रो घरमा जाँदा आँगनको डिलमा राखेर खाना/खाजा दिने किन ?

मैले सफा गरेर राखेको वस्तु पनि सुनपानी छर्केर मात्रै भित्र लान्छौ, किन यस्तो व्यवहार?

मलाई बाटोमा देख्दा तिम्रो शुभ साइत वा काम बिग्रन्छ भनेर तर्केर हिँड्छौ । मैले तिम्रो घर, मन्दिर ,त्रिशूल, मूर्ति बनाउँछु। जुत्ता, कपडा सिलाउँछु।  तिमीले बनाएको भए वैज्ञानिकको उपाधि पाउँथ्यौ होला तर मैले आज अपमान र विभेद पाएको छु। आखिर किन?

बाजा बजाएर तिमीलाई नचाउँछु । गीत गाएर तिमीलाई हसाउँछु । त्यही  मन्दिरमा  मलाई प्रवेशको निहुँमा कुटपिट गर्छौ । अनि तिनै भगवानको भक्त होऊ भनेर म कसरी पत्याउनु ?

साथी अब अलिकति तथ्य र कानूनका कुरा गरौं ।

नेपालको संविधानको धारा २४ मा 'छुवाछुत तथा भेदभावविरुद्धको हक' धारा ४० मा 'दलितको हक' भनेर मौलिक हकको रूपमा प्रचलनमा रहेका छन्

त्यस्तै जातीय भेदभाव (कसुर तथा सजाय) ऐन, २०६८ र  मुलुकी अपराधसंहिता २०७४, को "परिच्छेद १०" मा भेदभाव तथा अन्य छुवाछुत व्यवहारसँग सम्बन्धित कसुरको व्यवस्था गरिएको छ, जसमा जातीय विभेद गर्नेलाई तीन वर्ष कैद र ३० हजार जरिवानाको पनि व्यवस्था रहेको छ।

यी कानूनहरूको सहारा लिएर विभेदविरुद्ध कसैले कानूनी कारवाही चलाउँछ भने  मेरो या दलित समुदायको गल्ती हो ? हामीले कारवाही अगाडि बढाउँदा किन तिमी र तिम्रो सिंगो समुदाय डग्मगाउँछ ?

जातीय विभेद र छुवाछुत अन्त्यका लागि प्रतिरोध गर्ने, बुलन्द आवज उठाउने, विभेदका विरुद्ध प्रतिरोध गर्ने, कानूनअनुसार अदालतको कठघरामा उभ्याउने कार्य गरौं साथी, होइन भने यस्ता मानवविहीन र गैरकानूनी विभेदका जगन्य अपराध र अपराधीलाई पालनपोषण गर्ने काम बन्द गरौं ।

तुच्छ र कुरुप मुखौटो लगाएर न्यायको मार्गमा अवरोध गर्ने काम रोकौं ।

२००७ साल, २०४७ हुँदै २०६२/६३ सम्म विभेद मुक्त समाजका लागि लड्यौं, आवाज उठायौं, कलम चलायौं, बहस गर्‍यौं तर पनि दलित समुदायप्रति गरिने  मानवीयताहीन व्यवहारबाट तिमी मुक्त हुन सकेनौ।

मुक्तिको लडाईंका कुरा गर्छौ, बहसका कुरा गर्छौ, बौद्धिकता छाँट्छौ, तर व्यवहार तिमी फेरि उस्तै गर्छौ भने यी सबै कुराको कुनै औचित्य छैन।

शिक्षित भनिने काठमाडौंमा विभेदको यस्तो दयनीय अवस्था छ भने राजधानीभन्दा धेरै टाढाका विकट र दुरदराजमा के होला अवस्था ? आज मैले लेख्दा, बोल्दा तिम्रो मन दुखेको होला । अब सोच त  तिमीले मलाई र मेरो पुस्तालाई सयौं वर्षदेखि चरम विभेदको पीडा दिँदा कस्तो भयो होला ?

तिमी भन्छौ, यो जातीय विद्रोह मच्चाउने काम हो ।

तर म भन्छु, बर्षौंदेखि मेरा हजुरबुवा र बुवाको पुस्ताले चरम विभेद भोगे, वर्तमान स्थितिमा पनि एउटा अन्तरजातीय प्रेमविवाह गर्ने दलित युवालाई अपराधीलाई पनि गर्न नहुने सजाय दिई तड्पाइ तड्पाइ मार्‍यौ ? अझै कति नवराजलाई मार्ने हौ ?

दलित बालिकाको बलात्कार मुद्दा मिलापत्र गराएर पीडितलाई मृत्युको मुखमा पुर्‍याउँछौ । अपराधीलाई प्रश्रय किन दिन्छौ ?  हाम्रो समाजमा बोक्सीको आरोपमा धेरै दलित महिला मार्छौ, बलात्कार गर्छौ, अनि मलाई तिमी विद्रोही र मानवहीनको दर्जा दिन्छौ भने म तिमीलाई  अपराधी  भन्छु । वर्षौंदेखि स्वेच्छाचारी ढङ्गबाट विभेद गर्दै आएको सामन्ती भन्छु ।

प्रिय साथी झर्को नमान्नू । अहिले मेरो आक्रोश र आन्तरिक द्वन्द्वको बहकाव यो तिमीले निर्माण गरेको संरचनाको उपज हो ।

यो उपजबाट उत्पन्न भएको आक्रोश तिमीले स्वीकार्नुपर्छ । आत्मालोचना गरेर, तिमीले निर्माण गरेको उपजको परिणाम तिमीले भोग्नैपर्छ । तिमीले नभोगे कसले भोग्छ त ? उत्तर देऊ ।

अब आरक्षणको विषयमा हेरौं ।

आरक्षण त उत्पीडित समुदायको हकमा लागू हुने एउटा कार्यक्रम हो।

पछाडि पारिएका समुदायलाई माथि ल्याउन सीमित समयसम्मका लागि गरिएको नीतिगत व्यवस्था हो ।

यो आरक्षणको सम्बन्धमा नेपाललाई मात्र नहेर, अन्य देशमा दिइएको आरक्षणलाई पनि नियाल ।

अब तिमी भन्छौ, हामीलाई किन आरक्षण नदिएको भनेर ? त्यसको तथ्यसंगत जवाफ दिन्छु ।

ऋग्वेदमा उल्लेख भए अनुसार निम्न अनुसार वर्गीय व्यवस्थाबाट जात व्यवस्थाको शुरू भयो कामको आधारमा:

१) ब्राह्मण : नीति निर्माण गर्ने, ज्ञान आर्जन गर्ने भनेर तोकियो।

२) क्षेत्री : शासन र प्रशासन चलाउने भनेर तोकियो।

३) वैश्य : सेवामूलक व्यापार, व्यवस्थापन गर्ने भनेर तोकियो।

४) शूद्र : श्रम गर्ने र भौतिक काम गर्ने भनेर तोकियो।

अब इतिहासलाई गहिरो तरिका हेर साथी- ब्राह्मण, क्षेत्रीले आरक्षण पाएका रहेछन्, कि रहेनछन् ?

ब्राह्मण र क्षेत्री कुन तहमा रहेछ्न्, मथिको संरचना हेर त ? अझै भन्छौ, आरक्षण या कोटापीडित भयौं भनेर ?

ब्राह्मणहरूले पुराण पढे, ज्ञान आर्जन गरे, नीति निर्माण गर्ने पहुँचमा पुगे, यो सबै ब्राह्मण भएकै आधारमा हेर त ।

शूद्र (दलित) ले पुराण, वेद पढ्न खोज्दा जिब्रो काटियो। शिक्षाबाट वञ्चित गरियो। सामन्ती शासनको प्रयोग गरी हाम्रो जमिन खोस्यौ । दास बनायौ । शासन प्रशासनमा क्षेत्रीको हालीमुहाली भयो । व्यापार पनि तिनले नै गरे। शूद्र (दलित) समुदायलाई थिचोमिचो गरेर अहिलेको अवस्थामा आएका होइनौ ? इतिहास यति छिट्टै बिर्सन्छौ ? अनि अध्ययन नगरी अरूको आत्मसम्मानमा ठेस पुर्‍याउने यो कस्तो प्रवृत्ति हो साथी ?

अहिले दलित समुदायले जम्मा ९% प्रतिशत आरक्षण कोटा पाउँदा तिमीलाई त्यस्तो ज्यादती हुन्छ । अनि अहिले  कोठालाई लगेर कोटामा जोड्ने ताइ न तुइको कुरा किन गर्ने ? सामान्य सुझबुझ भएको व्यक्तिले त्यति कुरा नबुझ्ने ?

पात्र होइन, प्रणाली बनाउनलाई आरक्षण दिएको हो । इतिहास देखेनौ ? दलितले भन्दा ब्राह्मण क्षेत्रीले सयौं गुणा आरक्षण खाएर दोहन गरी र यो व्यवस्थामा आएका हुन् । आरक्षण किन, कसलाई, कसरी, केका लागि दिने भनेर पहिले नै अध्ययन गर्नुपर्थ्यो, किन यत्तिकै बोल्ने ?

हो, रूपा सुनारले विभेदका विरुद्ध लड्ने साहस गरिन् । रूपा सुनार एक जना व्यक्तिले विभेदकारी व्यवस्थाका पात्रका विरुद्ध आवाज उठाउँदै लड्ने कार्य स्वागतयोग्य छ । उनी प्रेरणाको रूपमा रहनेछिन् ।

आफ्नो हकका लागि लड्दा तिमी किन १० हात उफ्रन्छौ ? अब त कोही पनि विभेद सहेर बस्ने होइन अन्यायका विरुद्ध लड्ने हो । तिमी आलोचनात्मक चेत भएको मानव हौ भने पक्कै एकचोटि तिमीले गरेको विभेद नियाल । आफूलाई प्रश्न गर ।

आऊ, तिमी र म यो विभेद तथा छुवाछुतका विरुद्ध हातेमालो गर्दै आवाज उठाऔं । कलम निरन्तर चलाऔं । बहस गरौं ।

विभेद अन्त्यका लागि आफूबाटै शुरू गरौं । अनि परिवार, समाज र देशमा विभेद र छुवाछुत पक्कै अन्त्य हुनेछ ।

अब पनि मैले छोएको तिमीलाई किन नचल्ने ? तिम्रो चेलीबेटीलाई प्रेम गर्दा, विवाह गर्दा हामी मर्न नपरोस् । तिम्रो चेली हामीले स्वीकार्ने, तिमीले हामीलाई किन नस्वीकार्ने ? आऊ अब मिलेर यो  विभेद अन्त्य गरौं । अन्यायका विरुद्ध लडौं ?

प्रिय साथी, तिमीले यो पढ्यौ होला । आशा छ, तिमीले पक्कै सोचाइ र व्यवहारमा केही परिवर्तन गर्नेछौ ।

मैले लेखेका शब्दमा कतै तिमीलाई नराम्रो लागेको छ भने दु:ख नमान । यो सिंगो दलित समुदायको भोगाइ हो । त्यो तिमी बुझ्छौ। तिमीलाई कहीँ कतै चित्त दुखाएको भए क्षमाप्रार्थी छु ।

उही तिम्रो वर्षौंदेखि विभेद सहेको अनि अब परिवर्तनको मार्गमा हिँडेको दलित समुदायको साथी ।

लेखक सुनार हाल नेपाल ल क्याम्पसमा बीए .एलएल .बीअध्ययनरत विद्यार्थी हुन् ।

कमेन्ट गर्नुहोस्